काठमाडौं । कृषि विकास बैंकले आफ्नो मोबाइल बैङ्किङमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडीबीएल थप गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरी विभिन्न सेवाहरु बैंकको एडीबीएल स्मार्ट प्लस मोबाइल बैङ्किङ एप मार्फत प्रदान गर्दै आइरहेको छ । यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्ससंगको सहकार्यमा फन्ड ट्रान्स्फर तथा वालेट लोड सुविधा सञ्चालनमा ल्याएको छ ।
बैंकको मोबाइल बैङ्किङ एप एडीबीएल स्मार्ट प्लस मार्फत ग्राहकले रकम ट्रान्स्फर गर्न सक्नेछन् । जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्बन्धित बैंकको खाता नम्बर र खातावालाको नाम सहित रकम प्रविष्ट गरेर ट्रान्सफर गर्न सकिन्छ ।
यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिने बैंकको विश्वास छ । रकम ट्रान्सफरका लागि दुई तरिकाबाट भुक्तानी गर्न सकिने सुविधा रहेकोमा पहिलोमा प्राप्तकर्ताको बैंक खातासँग जडान भएको मोबाइल नम्बर प्रयोग गरी सजिलै रकम भुक्तानी गर्न मिल्ने र दोस्रो तरिकामा रकम प्राप्तकर्ताको बैंकको नाम र खाता विवरण प्रविष्ट गरेर समेत बैंक खाताहरू बीच सजिलै रकम ट्रान्सफर गर्न मिल्छ । यसै गरी ग्राहकले कुनै शुल्क बिना विभिन्न वालेटहरूमा समेत रकम जम्मा गर्ने सुविधा समेत यस सेवामा रहेको छ ।











