Logo
Logo

घुस ‘डिल’सार्वजनिक भएपछि मन्त्रीको प्रतिक्रिया: उहिलेका कुरा खुइले…


2k
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालै सार्वजनिक भएको अडियोमा पहिलेका कुरालाई ल्याएर आफ्नो बदनाम गर्न खोजेको बताएका छन् ।

The current image has no alternative text. The file name is: balram.gif


मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गत पुसमै मालपोत अधिकृतको सरुवा भएको र उक्त अडियोसँग संलग्न व्यक्तिहरू आफूसँग र मन्त्रालयसँग सरोकार राख्ने व्यक्ति नभएको दाबी गरे । 

उनले भने, ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सरोकारवाला छैनन् । त्यहाँ मेरो शब्द छ कि छैन ? त्यहाँ मेरो भनाइ छ कि छैन ? मैले कुनै कुरा गरेको छ कि छैन ? भन्ने कुराहरू अडियोबाट प्रस्ट हुन्छ ।’ 

मन्त्री अधिकारीले अडियोमा आएका व्यक्तिहरू आफूसँग सरोकार नराख्ने दाबी गरेपनि सार्वजनिक उक्त अडियोमा  जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ । 

मन्त्री अधिकारीले उक्त प्रकरणमा आफ्ना छोरा मनोज अधिकारीको नाम जोडेको प्रति पनि असन्तुष्ट व्यक्त गरेका छन् । उनले भने, ‘के कुराको प्रसङ्ग जोडिएको छ भन्नेदेखि मन्त्रीले भ्रष्टाचार गर्‍यो, लौ खायो भनेका छन् ।  त्यो अडियोमा विभिन्न कुराहरू तपइँहरूले सुन्नुभएको छ । मेरो छोरालाई पनि जोड्ने काम भएको रहेको छ । जाँड खाएको मान्छेलाई त भन कि भन भनेर मैले यस्तो पठाएको छु भन्ने कुराहरू पनि गरिएको छ । यो चाहिँ शुद्ध चरित्र हत्या गर्ने प्रयास हो ।’

स्वार्थ समूह आफँकहाँ आएको स्विकार्दै त्यस्ता व्यक्तिलाई फिर्ता गराएको उनको भनाइ छ । ‘आफ्नो अभीष्ट पूरा खोज्ने व्यक्तिहरूले आफ्नो अभीष्ट पूरा भएन भनेर मालपोत अधिकृतलाई फिर्ता गराउने हिसाबले आएका थिए, मैले हुन्न भने ।’ 

मालपोत कार्यालयका अधिकृतको सरुवा पनि पूसमा नै भएको र त्यसमा आफ्नो कुनै हात नभएको मन्त्री अधिकारीको दाबी छ । उनी भन्छन्– ‘मालपोत अधिकृतको सरुवा पुसअघि नै भएको छ । अडियो अहिले आउँछ । यसले थाहा हुन्छ कुन नियतबाट अडियो ल्याइयो भन्ने ।’

पहिलेको कुरा अहिले ल्याएर आफ्नो अभीष्ट पूरा गर्ने अभ्यास भएको मन्त्री अधिकारीको दाबी छ । उनले भने, ‘गत पुसको भएको उहिलेको कुरा भनेजस्तै अहिले आएर जोडेर मेरो नामसमेत मुछेर, मेरो परिवारसमेत मुछेर हाम्रो चरित्र हत्या गर्ने र आफ्नो अभीष्ट पूरा गर्ने अभ्यास गरिएको छ ।’

यस प्रकरणमा आफू दोषी ठहरिए जस्तोसुकै कारबाही भोग्न तयार भएको पनि मन्त्री अधिकारी बताए । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्