Logo
Logo

माधवको चेतावनीः नेतृत्वको बदख्वाइँ गर्नेलाई छाडिन्न


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवादका कुरा शब्दमै सीमित भएर हुँदैन भन्दै त्यसलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी स्थापना दिवसको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टी र आन्दोलनलाई कसरी अघि बढाएर लक्ष्यमा पुर्‍याउन सकिन्छ भन्ने बुझ्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘ज्ञानिक समाजवाद भन्ने कुरा केवल शब्दले मात्र पुग्दैन, यसको अध्ययन र अभ्यास दुवै महत्त्वपूर्ण हुन्छ ।’

अध्यक्ष नेपालले सर्वहारा वर्गीय चरित्रलाई विशेष महत्व दिँदै आफ्नो पार्टीको पहिलो राजनीतिक प्रस्तावमा समावेश विषयलाई गहिरो अध्ययन गर्नुपर्ने बताए ।

उनले एकीकृत समाजवादी पार्टीको राजनीति र कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै, पार्टीलाई सशक्त नबनाएसम्म त्यो भूमिका निर्वाह गर्न नसकिने उल्लेख गरे ।

नेपालले पार्टीभित्र अनुशासन कायम गर्न जोड दिँदै भने, ‘अनुशासनहिनतालाई कुनै हालतमा छुट दिन सकिँदैन । पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन ।’

त्यस्तै, पार्टीमाथि आँच पुर्‍याउने वा नेतृत्वलाई बदनाम गर्ने प्रवृत्तिलाई सहन नहुने भन्दै उनले चेतावनी दिएका छन् । प्रचार विभाग, अनुशासन आयोग, संगठन विभाग र सबै तहका नेता–कार्यकर्तालाई सतर्क रहन पनि उनले आग्रह गरे ।

नेपालले अहिले नेपालका सबै राजनीतिक दल संकटमा रहेको टिप्पणी गर्दै आफ्नो पार्टीलाई कतिपयले सानो भनेर हेप्न खोज्ने गरेको बताए । उनले कार्यकर्तालाई नकारात्मक सोच र हीनभावनाबाट ग्रसित नहुन आग्रह गर्दै भने, ‘यस्ता प्रवृत्तिले पार लाउँदैनन्, अन्ततः पलायन भएर जान्छन् । कुनै विषय भए पार्टीभित्र बसेर छलफल गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्