काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले बिहीबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । झरीमा रुझ्दै महानगरको कार्यालय पुगेका उनीहरूले मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका छन् ।

भृकुटीमण्डपबाट सुरु भएको र्याली कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय पुगेको थियो । प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका थिए । सर्वोच्च अदालतको आदेशविपरीत मेयर बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले सर्वोच्चको आदेश पालना गर्न र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने माग राखेका छन् ।प्रदर्शनकारीहरूले ‘सर्वोच्च अदालतको आदेश पालना गर,’ ‘कवाड व्यवसायीमाथिको अत्याचार बन्द गर,’ ‘बालेनको गुण्डागर्दी र तोडफोड बन्द गर,’ र ‘बालेन, तिम्रो शैलीले सबैले दुख पाए’ जस्ता नारा लगाएका छन्।उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।














