काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा अभियुक्त ज्योतिबहादुर भण्डारी र सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् । अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत ललितपुरका प्रवक्ता टीकाध्वज कार्कीका अनुसार, अधिकारीले बिहीबार धरौटी रकम बुझाएपछि रिहा भएका हुन् । जिल्ला न्यायाधीश निर्मला योङयाको इजलासले सोमबार नै आदेश दिएको भए पनि धरौटी नबुझाउँदा उनी थुनामै थिए । महालक्ष्मीस्थानस्थित मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अभियुक्तविरुद्ध ठगी, लिखत कीर्ते, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।
मुख्य योजनाकार ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको मुख्य भूमिका देखिएको छ । गुरुङ हाल फरार छिन् भने भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरिएको हो । कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको रकम अपचलन गरी भण्डारीलाई पठाउने र उनले कम्बोडियाबाट ठगी सञ्चालन गरेको खुलासा भएको छ ।
फरार अभियुक्तमा ज्योति गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राई, प्रदीप भन्ने प्रितम अधिकारी र अर्जुन अराम छन् । उनीहरूले सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ अपचलन गरेको र कम्बोडियाबाट ३३ करोड ११ लाख पार्सल रकमको बहानामा थप ३ करोड ४२ लाख ८२ हजार ४२० ठगी गरेको आरोप छ ।
कुल १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ ९२ पैसा बिगो कायम भएको छ । सुवास खत्री र अर्जुन आरममाथि हुण्डीको कसुरमा ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँको कारोबार गरेको र खत्रीमाथि २ हजार १४९ अमेरिकी डलरको क्रिप्टो कारोबारको आरोप छ । सबै प्रतिवादीविरुद्ध छुट्टाछुट्टै बिगो कायम गरिएको छ ।














