काठमाडौं । जापानी आक्रमणविरुद्धको विजय र विश्व फासिवादविरोधी युद्धको ८०औँ वार्षिकोत्सव मनाउन चीनको बेइजिङमा सेप्टेम्बर ३ मा आयोजना हुने भिक्ट्री परेडमा नेपालसहित २६ देशका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा यो भव्य समारोह आयोजना हुँदैछ, जसमा सैन्य परेडसहित विभिन्न कार्यक्रम समावेश हुनेछन् ।

चिनियाँ सहायक विदेशमन्त्री होङ लेईका अनुसार यो समारोहले चीनको जनयुद्ध र विश्व फासिवादविरोधी युद्धमा प्राप्त ऐतिहासिक विजयको स्मरण गर्नेछ । परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, क्याम्बोडियाका राजा नोरोडोम सिहामोनी, भियतनामी राष्ट्रपति लुयोन कुओङ, लाओसका राष्ट्रपति थोंगलुन सिसौलिथ, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तो, मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिम, मंगोलियाली राष्ट्रपति उखना खुरेलसुख, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् ।
यसैगरी, माल्दिभ्स, काजाकस्तान, उजबेकिस्तान, ताजिकिस्तान, किर्गिजस्तान, तुर्कमेनिस्तान, बेलारुस, अजरबैजान, आर्मेनिया, इरान, कङ्गो, जिम्बावे, सर्बिया, स्लोभाकिया, क्युबा र म्यानमारका राष्ट्रपति वा सरकार प्रमुखहरू पनि उपस्थित हुनेछन् ।
साथै, विभिन्न देशका संसद् प्रमुख, उपप्रधानमन्त्री, उच्च तहका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख र पूर्व राजनीतिज्ञहरूलाई समेत चीनले निमन्त्रणा गरेको छ । यो समारोहले अन्तर्राष्ट्रिय एकता र ऐतिहासिक विजयको महत्वलाई उजागर गर्नेछ ।
नेपालका प्रधानमन्त्री ओलीको सहभागिताले नेपाल९चीन सम्बन्धको सुदृढीकरणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । यो परेडले विश्व शान्ति र सहकार्यको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।











