Logo
Logo

सूर्यविनायक-धुलिखेल सडक विस्तारलाई तीव्रता दिन मन्त्री घिसिङको निर्देशन


0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारलाई तिव्रता दिन निर्देशन दिएका छन् ।

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको अनुगमन गर्दै मन्त्री घिसिङले अहिले काम गर्ने उपयुक्त मौसम रहेको भन्दै निर्माणलाई तीव्रता दिन भनेका हुन् ।

आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न उनले आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनको भनाई थियो ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।

यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्