Logo
Logo

एमालेमा तानाशाहको जन्म


1.3k
Shares

काठमाडौं । कम्युनिष्टको आवरणमा नेकपा (एमाले)मा तानाशाहको जन्म भएको छ । जब, पार्टीमा विवेक मौन हुन्छ र प्रश्न गर्ने साहस हराउँछ, त्यो बेला नेताको देवत्वकरण र चेतनाको पतन हुन्छ । त्यहीबाट तानाशाहको जन्म हुन्छ । तानाशाहले जे भन्छ, त्यही नियम, कानुन हुन्छ ।

सत्यलाई शत्रुमा रूपान्तरण गर्छ र असहमतिलाई अपराध बनाउँछ । तानाशाहीको इच्छा विपरीत काम गरेमा त्यसलाई स्वतः अस्वीकार गरेर सजाय दिइन्छ । मौनतालाई सद्गुण ठानिन्छ र डरलाई विवेक मानिन्छ । एमालेमा अहिले यस्तै भइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौमा विधान महाधिवेशनमार्फत करोडौँ खर्च गरेर बनाइएको विधान रातारात उल्टाइदिएका छन् । शुक्रवार साँझ मात्रै सचिवालय बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा दिएर विधानलाई नचलाउने निर्णय गरेको थियो । महाधिवेशनको दोस्रो दिन सिधै बन्दसत्रमा प्रवेश गर्ने कार्यसूची भए पनि अध्यक्ष ओलीले विधान संशोधन गर्ने उद्देश्यले केन्द्रीय कमिटी बैठक बोलाए ।

बैठकमा ओलीको निर्देशनमा खिमलाल भट्टराईले विधान संशोधनसम्बन्धी प्रस्ताव अघि सारे । बहुमतले गरेको यो निर्णयमाथि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने आपत्ति जनायो । तर, त्यसको सुनुवाइ भएन । वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले विधान संशोधन गर्न नहुने धारणा राख्दाराख्दै ओलीले त्यसलाई सिधै अनुमोदन गरिदिए । हेर्दाहेर्दै केन्द्रीय कमिटीको यो निर्णयलाई महाधिवेशनको बन्दसत्रले पारित गरिदियो ।

एमालेले २०–२२ भदौमा भएको विधान महाधिवेशनले पारित गरेको विधानलाई नै उल्ट्याएर पदाधिकारी संख्या बढाए । आफू अनुकूलका प्रतिनिधिहरू मनोनीत गरे । फरक मत राखिरहेका ईश्वर पोखरेलसँग सल्लाह नै नगरी १०८ जना प्रतिनिधि मनोनयन गरेर हलमा छिराए ।

एमालेको जारी ११औँ महाधिवेशन हलभित्र फरक मतलाई पूर्णतः अस्वीकार गरिएको छ । आफूलाई चुनौती दिनेहरूलाई तह लगाउन ओलीले बन्दसत्र आफैँ चलाएका छन् । सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणको मागलाई ओलीले यही बन्दसत्रबाट अस्वीकार गरिदिएका छन् ।

महाधिवेशनको नाममा देशभरबाट पार्टी कार्यकर्ता बोलाएर बहुमतको नाममा जेनजी आन्दोलनलाई अस्वीकार गरिदिएका छन् । जेनजीहरूले उठाएको मागलाई सम्बोधन गर्नुको साटो आन्दोलनमा दमन गरेर भागेको दृष्टान्तलाई ओलीले स्वीकार गरेनन् । भृकुटीमण्डपमा जारी महाधिवेशनको हलमा यस्ता विषयलाई विषयान्तर गरिएको छ ।

भ्रष्टाचार, कुशासन र नागरिक असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको विषय महाधिवेशनमा उठेन । बरु हलमा महिला कति, पुरुष कति, मधेशी कति, जनजाती कति भनेर असन्तुष्टिलाई विषान्तर गरियो । मुलुक जलेको बेला आन्दोलनलाई ‘खरानी’ भनेर होच्याउने र गिज्याउने काम महाधिवेशनमा अध्यक्ष ओलीबाट भयो ।

ओली तानाशाह हुन्, त्यसैले उनले जे चाह्यो एमालेमा त्यही हुन्छ । उनले विधान महाधिवेशनमा पदाधिकारी संख्या घटाउन चाहे, १९ बाट १५ मा झ¥यो । अहिले बढाउन चाहे १५ बाट १९ भयो । ओलीलाई लाग्यो–पदाधिकारी नबढाउँदा चुनाव हारिन्छ । त्यसैले ईश्वर पोखरेल पक्षको असहमतिका बाबजुद ओलीले विधान तोडे । तर, कार्यकर्ताले विधान मिच्नु हुँदैन भनेर बोल्ने आँट गरेनन् । थपडी बजाएर ओलीको आदेशलाई स्वीकार गरे । विरोध गर्नेहरू ओलीको ‘नोटिस’मा परेका छन् ।

ओलीविरुद्ध पोखरेल
संस्थापन इतरबाट वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीविरुद्ध अध्यक्षमा भिड्दै छन् भने महासचिवमा सुरेन्द्र पाण्डे अघि सरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संस्थापनइतर पक्षलाई समर्थन गरेकी छन् ।

पार्टीभित्र लोकतान्त्रिक अभ्यास, आन्तरिक प्रतिस्पर्धा र परिणाम स्विकार्ने संस्कृतिलाई ओलीले ल्याइदिएका छन् । उनले विधि पु¥याउन मात्रै निर्वाचनको प्रक्रिया सुरु गरेका छन् । जेनजी आन्दोलनमा भएको घटनाको प्रसङ्ग उल्लेख गर्दा ओली मुन्टो बर्टाछन् । त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार प्रमुखका नाताले अध्यक्ष ओलीले लिनुपर्ने जिकिर गर्दा ओली पनि त्यसको प्रतिवादमा उत्रेर पोखरेलले अहिलेको सुशीला कार्की नेतृत्वको सरकारसँग मिलेमतो गरेको आरोप लगाएका छन् ।

ओलीले २३ र २४ भदौमा भएका घटनाको जाँचबुझ गर्न बनेको आयोग नै अवैध भनिरहेका बेला वरिष्ठ उपाध्यक्ष पोखरेलले आयोगमा बयान दिन अध्यक्ष ओली जानुपर्ने बताउँदा ओलीले सरकारसँग मिलेको आरोप लगाएका थिए ।

एमालेको बन्दसत्र भयरहित वातावरणमा आफूलाई लागेका कुरा प्रस्टसँग राख्ने अवस्था बन्न सकेन । कमिटीहरूमा राजनीतिक, वैचारिक बहसको वातावरण कमजोर बनाएर प्रतिनिधिहरू ल्याइयो । सिंगो पार्टी राजनीतिक, वैचारिक रूपमा होइन, प्राविधिक रूपमा, गैरसरकारी संस्थाको ढाँचाबाट चल्ने गरी रूपान्तरित भएको छ । पछिल्लो पटक प्रतिनिधि सभा पुनस्र्थापनाको मागमा विधिको शासनको वकालत गर्ने ओलीको भाषणले महाधिवेशनको बन्दसत्रमा तुहाएको छ । उनी झन् निरङ्कुश शैलीमा अगाडि बढ्ने आफ्नो स्पष्ट रोडम्यापमा छन् ।

ओली प्रवृत्ति हाबी भइरहँदा एमाले मात्र होइन मुलुक थप बरबादीतिर धकेलिन सक्ने खतरा व्याप्त छ । ओलीको रवैयाप्रति एमालेका प्रतिबद्ध कार्यकर्ताहरू रमिते बनिदिँदा मुलुकको राजनीतिक भविष्य अनिश्चित बन्दै जाने खतरा बढेको छ ।

दोहोरियो हिटलर प्रवृत्ति
तानाशाह हिटलर पनि ओली जसरी नै ‘खोक्रो राष्ट्रवादी’ नारा दिएर आएका थिए । हिटलरले जस्तै ओलीले पनि संसद् भंग गरेका थिए । देशप्रेमको भावना बोकेर ‘नाजी’ नामक पार्टीमा सहभागी हुन आग्रह गर्दै हिटलरले गरेको भाषण र बोलीबाट धेरै प्रभावित भए । कयौँ जर्मन नागरिक उनको पार्टीमा सहभागी भएपछि उनी जर्मनीमा प्रभावशाली नेता बने ।

विडम्बना सन् १९३३ मा हिटलर जर्मन चान्सलर बनेलगत्तै संसद् भंग गरिदिए । कम्युनिस्ट पार्टीलाई गैरकानूनी घोषित गरे । आफ्नो विरोध गर्ने व्यक्तिहरूलाई सिधै जेलमा पठाए । नियम, कानून बनाउने सम्पूर्ण अधिकार हिटलरले आफ्नै हातमा लिए । त्यतिमात्रै होइन, सन् १९३४ मा हिटलरले आफूलाई सर्वोच्च न्यायाधीश पनि स्वघोषित गरे । हिटलरको बोली नै कानुन भयो । पुरै जर्मनी हिटलरबाट आतंकित बन्यो ।

सन् १९३३ देखि १९३८ सम्ममा हिटलरले लाखौँ यहुदीहरूको हत्या गरे । सन् १९३३ मा नै हिटलरले राष्ट्रसंघको सदस्यता त्यागे र जर्मनीका सबै नागरिकलाई अनिवार्य रूपमा सैन्य प्रशिक्षण दिए । यहुदीको हत्या र देशव्यापी आतंकले हिटलर विश्वकै तानाशाह शासनका रूपमा चिनिए ।

हिटलरकै कारण सन् १९३९ देखि दोस्रो विश्वयुद्ध सुरु भयो । सुरुमा जर्मनी कडा रूपमा प्रस्तुत भयो । तर, बिस्तारै हिटलरको शासन कमजोर हुँदै गयो । जर्मनीले धेरै ठाउँमा पराजय भोग्यो । हिटलर आफूलाई जोगाउन बंकरमा लुकेर बसे । बिहे पनि बंकरभित्रै गरे । हिटलर अरुको हातबाट मर्न चाहँदैनथे, त्यसैले सन् १९४५ मा हिटलरले आफैलाई गोली हानेर आत्महत्या गरे ।

ईश्वरको बोली, ओलीको हाँसो
बन्दसत्रमा ईश्वर पोखरेलले ओलीलाई दाजुले त अब अभिभावक हुनुप¥यो भन्दै गर्दा ओलीले हास्दै तपाईँ पनि ५० उमेरकै हाराहारी हो नि भन्दै हाँसेका थिए । ‘तपाईँले छाड्दा मेरो नाममा सहमति हुन्छ, तपाईँ अभिभावक हुनुस्, म पार्टी चलाउँछु अरूलाई समान रूपले समेट्छु’, पोखरेलले भनेका थिए ‘महाधिवेशनले एकताको सन्देश दिनुपर्छ, म चाहन्छु यसलाई साँच्चिकै एकताको महाधिवेशन बनाऔँ भन्ने हो भने नेतृत्व परिर्वतन नै चाहन्छु ।’

खासगरी पाँचौँ महाधिवेशन, त्यो अधिवेशनमा जवाफ प्रस्ताव भएको थियो । त्यो महाधिवेशनले फरक मतको संरक्षण गर्ने कुराको ग्यारेन्टी गरेको थियो, जुन ऐतिहासिक भएको पोखरेको भनाइ थियो । पाँचौँ महाधिवेशनले फरक मतलाई स्विकार्ने कुरा कति महत्त्वपूर्ण रहेछ आज पनि उत्तिकै महत्त्वपूर्ण रहेछ भन्ने कुरा बुझ्नुपर्छ भन्दै ओलीलाई सम्झाएका थिए ।

‘पार्टी सञ्चालनका बारेमा हामीले पुनर्विचार गर्नुपर्ने, बाह्य षड्यन्त्रलाई जिम्मा लगायौँ हाम्रो कार्यभार सकियो, पाँचौँ अधिवेशनपछि किन पार्टी फुट्यो छलफल भएन । २०७१ मा केपी ओली निर्वाचित हुनुभयो, हामी कुन सन्दर्भमा थियौँ भने ओली बिरामी हुनुहुन्थ्यो । हामी आन्दोलनबाट आएको ओली अध्यक्ष हुनुपर्छ ठान्थ्यौँ, उहाँले पार्टी जीवनको लोकतान्त्रीकरण र जवाफ भनेर एउटा किताब लेख्नुभएको छ, त्यसमा किन उमेर हद ? किन २ कार्यकाल उल्लेख छ ? त्यसमा भ्रष्टाचारलगायतका विषयमा गहन कुराहरू छन् । जुन कमरेडहरूले एकपटक पढ्नुस् भन्न चाहन्छु’, ओलीको अनुहार हेर्दै पोखरेलले भनेका थिए ।

पोखरेलले गत भदौ २२ गते हामी जुन निष्कर्षमा पुगेका थियौँ, त्यो ठाउँमा रहेनछौँ । सबै ध्वस्त भयो, बाह्य कारण प्रमुख हो कि आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकरण गर्नैपर्छ भन्दा ओली निलो अनुहार लगाएर बसेका थिए ।

‘हामीले सबै राम्रैराम्रो ग¥यौँ तर असफल भयौँ ? किन ? हामीसँग राज्य संयन्त्र थियो, के राज्य संयन्त्र निकम्मा हो ? वा हामीबाट कमजोरी भयो ? कमजोरी भयो भन्नेतिर ध्यान दिनैपर्छ । हामीमा पर्याप्त कमजोरी थिए, हाम्रो नीति र विधिमा समस्या छैन ? हाम्रो नीति र व्यवहारमा समस्या रह्यो भन्ने कुरा स्विकार्नै पर्छ । हाम्रो पार्टी थुप्रै ऐतिहासिक आन्दोलनहरूको नेतृत्व गरेको पार्टी हो । यसलाई अविच्छिन्न क्रान्तिकारी बाटोतर्फ लैजान आजको कार्यशैलीले व्यवधान खडा गर्छ, हामी नीति र विधानअनुसार हिँड्नुपर्छ’, पोखरेलले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्