
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोग घरमै आए बयान दिन तयार भएका छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री, राष्ट्रपतिसँगको छलफलका क्रममा ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने तर जाँचबुझ आयोगको कार्यालय भने नजाने बताएका हुन् ।
‘यो कार्की आयोगको काम छैन, किन बनाएको ? मसँग कुरा गर्नुछ भने गुन्डुको मेरो घरमै पठाइदिनुस्, म जे–जे भन्नु छ, त्यहीँ भनौँला,’ ओलीको भनाई उदृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
ओलीले यसअघि पनि बयान दिन जाँचबुझ आयोगको कार्यालय सिंहदरबार भने नजाने बताउँदै आएका थिए । मंगलबार ओलीले सो कुरा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक प्रचण्डको सामुन्ने पुनः त्यही कुरा दोहो¥याएका हुन् ।
केही दिनअघि हिमालयन टेलिभिजनमा अन्तर्वार्ता दिँदा पनि उनले यस्तै जिद्दी गरेका थिए । ओलीले भनेका थिए, ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ नि, यत्रो कसुर गर्ने, बयान दिन नमान्ने ! नतिजा आइसक्यो जाँच दिन्नँ भन्ने ! यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली । उहाँहरूसँग छ नि त बन्दुक । के सानातिना कुरा गरिराख्या भएन भने आजीवन थुन्दिने नि बयान नगरेबापत ।’
तर सुरुमा यति कठोर रूपमा प्रस्तुत भएका उनले घरमै आए भने बयान दिने संकेत पनि गरेका थिए । घरमै आए चिया खुवाएर पठाउने, कुराकानी गर्ने, बोलचाल नै बन्द नगर्ने बताएका थिए । तर बयान भने व्यक्तिको स्वेच्छाको कुरा भएको उनले दाबी गरेका थिए ।
जाँचबुझ आयोगले केही दिनमै बयानका लागि ओलीलाई पत्राचार गर्ने तयारी गरेको छ । मंगलबार ओली सरकारकै गृहमन्त्री रमेश लेखकलाई बोलाउँदै पत्रचार गरेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री थिए । तर, जेनजीहरु आन्दोलन नियन्त्रणबाहिर जाँदा ओली सत्ता छाडेर सेनाको हेलिकोप्टरमार्फत भागेका थिए ।












