
एजेन्सी । विमान दुर्घटनामा लिबियाका सेनाप्रमुख जनरल मोहम्मद अली अहमद अल हद्दादको निधन भएको छ ।
मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको फाल्कोन ५० विमान दुर्घटनामा पर्दा सेनाप्रमुख अलीसहित पाँच जनाको मृत्यु भएको हो । दुई देशबीचको सैन्य सहकार्यलाई सुदृढ गर्ने विषयमा वार्ताका लागि जनरल अलि टर्की गएका थिए । त्यहाँबाट फर्किने क्रममा विमान दुर्घटना भएको हो ।
टर्कीका गृहमन्त्री अली यर्लिकायाले टेक अफ लिएको ४२ मिनेटपछि विमानको सिग्नल गायब भएको बताएका छन् । सम्पर्क विच्छेद हुनअघि उक्त विमानले आपतकालीन अवतरणको अनुमति मागेको थियो ।
त्यसपछि अंकाराको दक्षिण–पश्चिममा विमानका टुक्राहरु फेला परेको थियो । विमान दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।












