
काठमाडौं । विभिन्न ९ बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा. कमल (निकोलस) भुसालले एक महिना प्रधानमन्त्री दिए देश सुधार्ने बताएका छन् ।
देशमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र राजनीतिक प्रणाली सुधार गर्नका लागि आफू ‘वार कि पार’ को लडाइँमा उत्रिएको भन्दै उनले आफूलाई कार्यकारी अधिकारसहितको प्रधानमन्त्री दिए एक महिनाभित्र देशको कायापलट गर्ने दाबी गरे ।
‘यदि म वा हाम्रो टिमबाट प्रधानमन्त्री भयो भने एक महिनाभित्र ९ वटै माग पूरा गर्छौं,’ उनले चुनौती दिँदै भने, ‘यदि गर्न सकिनँ भने मलाई यही माइतीघरमा ल्याएर झुन्ड्याइदिए हुन्छ ।’
साथै सञ्चारकर्मीसँग् बोल्दै उनले तत्काल प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरे ।
उनले ४६ सालयताका सबै नेता, कर्मचारी र उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई जेल कोच्ने र उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने योजना सुनाए ।
देशले संघीयताको आर्थिक भार थेग्न नसक्ने भन्दै प्रदेश सभा र राष्ट्रिय सभा तत्काल खारेज गर्नुपर्ने माग दोहोर्याउँदै डा. भुसालले आफू अनसनमा बसिसकेपछि माग पूरा नभएसम्म वा आफ्नो मृत्यु नभएसम्म अनसन नतोड्ने दृढता व्यक्त गरे ।












