
विश्वकै बढी जनघनत्व भएको देशमध्येको बंगलादेश हिंसा, अराजकता र अस्थिरताको दलदलमा जाकिएको छ । हिन्दूसहित अल्पसंख्यक मारिने घटनाले बंगलादेश अशान्त छ । एक जना २७ वर्षीय हिन्दू युवा दीपु चन्द्र दासको हत्याले उग्ररुप लिएको छ ।
प्रहरीको सुरक्षा घेरामा रहेका उनलाई थुतेर उग्रपन्थीको भीडले कुटीकुटी हत्या गरेको घटनाले बंगलादेश अशान्तिको भुमरीमा फसेको छ । यो घटना नोबल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको सरकार प्रमुख भएको बखत घटेको छ । युनुसको शासकनकालमा हिन्दूहरुले सबैभन्दा असुरक्षित महसुस गर्न थालेका छन् ।
बंगलादेशमा सन् २०२४ को जुलाई मा भएको युवा विद्रोहका क्रममा उदाएका एकजना नेता सरिफ होसमान हदीमाथि गोली प्रहार भएको थियो । उनको गत हप्ता उपचारका क्रममा सिंगापुरमा निधन भयो । हदीको हत्याको विरोधमा भड्किएको हिंसाले धेरै जनधनको क्षति भइसकेको छ ।
सन् २०२४ मा हसिनाको सरकारविरुद्ध हिंसात्मक विद्रोहबाट जुन क्षति भयो, त्यस्तै क्षति अहिले पनि भएको छ । त्यतिबेला पनि हिन्दू अल्पसंख्यकहरु तारोमा परेका थिए । अहिले पनि त्यही घटना दोहोरियो । हदीको दल नेसनल सिटिजन पार्टीका कतिपय नेता भारतलाई टुक्रा टुक्रा पार्ने धम्की दिन्थे ।
भारतविरोधी भावनालाई बढावा दिदै आएका थिए । बंगलादेशको युवा विद्रोहपछि बनेको नेसनल सिटिजन पार्टीका हसनत अब्दुल्लाले भारत विभाजन गरिदिने धम्की नै दिए । उनले पूर्वोत्तर भारतका राज्यहरु विभाजित हुनेसम्मको चेतावनी दिए ।
यस घटनापछि भारतले बंगलादेशका दिल्लीस्थित उच्चायुक्तलाई बोलाएर ध्यानाकर्षण नै गराएको थियो । दुवै देशबीच सम्बन्ध फेरि चिसियो । हदी समर्थकहरुले हत्याको आरोप भारतलाई लगाएका छन् । बंगलादेशको स्वतन्त्रतामा भूमिका खेल्ने भारतलाई नै चुनौती पुग्ने गरी बढ्दो अस्थिरताको कारक उसैलाई देखाउने छद्म योजनाहरु चलिरहेका छन् । पर्दा पछाडिका शक्तिशाली खेलाडीहरु भारतका छिमेकमा अस्थिरता मच्चाएर उसलाई समेत अप्ठ्यारोमा पार्न खोजिरहेका छन् ।
पूर्वोत्तर भारतका राज्यहरु मूल भूमिसँग जाडिने ‘चिनेक नेक’ वरिपरिका नेपाल र बंगलादेशमा त्यो खेल बढी चलिरहेकै छ । त्यो उग्र चरणमा पुग्दा बंगलादेशमा अर्को दुर्घटनाको अवस्था नआउला भन्न सकिन्न । त्यसले सिंगो दक्षिण एशियाको शान्ति खलबलाउन सक्छ ।
बंगलादेशमा सन् २०२६ को फेब्रुअरीमा चुनाव तय भएको छ । बंगलादेशको स्वतन्त्रतामा सहयोगी भूमिका खेलेको भारतले शेख हसिनालाई शरण दिँदै आएको छ । युनुस सरकार उनलाई अदालतको आदेशबमोजिम मृत्युदण्ड दिन चाहन्छ । तर, भारत सुपुर्दुगी गर्न तयार छैन । छिमेकमा भारतविरोधी भावना बढिरहँदा र चुनौतीहरु थपिँदै जाँदा भारतले पूर्वप्रधानमन्त्री बेगम खालिदा जियासँग सम्बन्ध सुमधुर बनाउन थालेको छ । उनको दल बंगलादेश नेसनलिष्ट पार्टीसँग भारतको सम्पर्क बढिरहेको छ ।
बिरामी परेकी ८० वर्षीया खालिदा जियाको स्वास्थ्यलाभको कामना स्वयं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । ट्वीट गर्दै यस्तो कामना गरेका मोदीलाई नेसनलिष्ट पार्टीले धन्यवाद पनि ट्वीटबाटै दियो । आगामी चुनावमा सबैभन्दा ठूलो शक्तिका रुपमा खालिदा जियाको दल नेसनलिष्ट पार्टी हुने प्रक्षेपणहरु आइरहेका छन् ।
चुनाव नजिकिँदै गर्दा युवा विद्रोहका नेता हदीको रहस्यमयी हत्या भयो । यसका पछाडि बंगलादेशमा चुनाव हुन नदिने, अस्थिरता बनाइराख्ने र सत्तामा चरमपन्थी मुसलमानहरुकै प्रभाव हुने रणनीति देखिदैछ । बंगलादेश मुस्लिम बाहुल्य भएपनि उदारवादी मानिन्थ्यो ।
त्यहाँको राष्ट्रिय गानका रचनाकार रवीन्द्रनाथ टैगोर गैरमुस्लिम, गैर भारतीय बँगाली मूलका हुनुले पनि यसलाई पुष्टि गर्छ । तर, पछिल्ला वर्षहरुमा त्यहाँ चरमपन्थी मुसलमान समूह हावी हुँदै गएको छ । उनीहरुले तसलिमा नसरिनको टाउकाको मूल्य तोकेका छन् ।
शेख हसिनालाई लखेटेपछि सत्तामा आएका मोहम्मद युनुसले जमाते इस्लामी र त्यसको भातृ संगठन इस्लामी छात्र शिविर जस्ता चरमपन्थी मुसलमान समूहको प्रतिबन्ध खुला गरिदिएका छन् । यो समूह पाकिस्तानबाट अलग्गिएको बंगलादेशको स्वतन्त्रताको विरोधी थियो । यी घटनाहरुबाट अतिवादी मुसलमान समूह झन् बलियो बन्दै गएका छन् । यसका पछाडि बाह्य शक्तिको भूमिका पनि देखिएको छ ।
बाह्य हस्तक्षेप र आन्तरिक द्वन्द्व चुलिंदै जाँदा बंगलादेश दुर्घटनाको डिलमा पुगिसकेको छ । त्यसका लागि अरबौं विदेशी डलरको खोलो बगाइएको तथ्यहरु बाहिरिएका छन् । अस्थिरता र अराजकताको भूमरीमा परेसँगै दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न थालिसकेको उक्त देशको आर्थिक वृद्धि ह्वात्तै घटेको छ । बेरोजगारी बढेको छ ।
लोडसेडिङले मानिसहरु घन्टौंसम्म अन्धकारमा बस्न वाध्य छन् । हिन्दूसहित अल्पसंख्यकमाथि आक्रमण बढिरहेको छ । उनीहरु पलायनको बाटो खोजिरहेछन् । कुनै पनि बेला हिंसा भड्किने भयले मानिसहरु आत्तिन थालेका छन् । यो परिस्थिति आउनुमा शक्तिराष्ट्रको अस्वस्थ प्रतिष्पर्धाले पनि मुख्य भूमिका खेलिरहेको विश्लेषण गरिएको छ ।
डेढ वर्षअघिसम्म भारत र चीनका लगानीहरु बंगलादेशमा आक्रामक ढंगले बढिरहेको थियो । भारतले ऊर्जा क्षेत्रमा ठूलै लगानी खन्याइरहेको थियो । ऊर्जा, रेल्वे, टेक्सटाइल, अटोबोमाइलका क्षेत्रमा अरबौं लगानी भएको थियो । अरबौं डलरको रिलाइन्स पावर, अडानी पावर जस्ता ऊर्जासम्बन्धी लगानी भइसकेको थियो ।
नेपालबाट समेत बंगलादेशसम्म विद्युत निर्यातको ट्रान्समिसन लाइनसम्बन्धी सम्झौता भएको थियो । चीनको सहयोगमा पद्मा पुल निर्माण भई ढाकाबाट खुलनासम्मको यात्रा १३ घन्टाबाट घटेर ३ घन्टामा झर्दा बंगलादेशको अर्थतन्त्रमा ठूलै असर परिसकेको थियो । तर, लोकतन्त्रको प्रवद्र्धन, युवालगायतको विषयमा विदेशी आइएनजीओबाट ओइरिएको पैसाले बंगलादेशमा क्षणिक परिवर्तन त गरायो त्यसले चरमपन्थीहहरुलाई मजबुत पारेको छ ।
बंगलादेश स्थापना गर्ने शेख मुजिबहर रहमानको शालिक युवा विद्रोहका बेलामा तोडिएको थियो । पछिल्लो हिंसाका क्रममा उनको घर फेरि जलाइएको छ । पछिल्लो समय बंगलादेशमा पाकिस्तान पक्षधर चरमपन्थीहरु हावी हुँदै गएका छन् । उनीहरु भारतलाई टुक्रा टुक्रा बनाइदिने धम्की दिन थालेका छन् । बंगलादेशको छिमेकी भारत र म्यानमार दुवैसँग सम्बन्ध चिसिएको छ ।
बंगलादेशकै शैलीमा नेपालमा पनि जेनजी विद्रोह भएको अध्ययनहरुले देखाएको छ । लामो समय शासनसत्तामा बसेका नेताहरुको भ्रष्टाचार र अत्याचारको विरुद्ध भएको विद्रोहले देशलाई अर्को दुर्घटनामा त धकेल्दैन ? यसमा समयमै गम्भीर हुनुपर्ने बेला आइसकेको छ ।
चुनाव फागुन २१ मा गर्ने भनिएको छ । तर, चुनाव हुनेमा प्रमुख दलहरु नै आशंका व्यक्त गर्न थालेका छन् । अर्कोतर्फ, चुनाव जादूको छडी होइन जसले सबै समस्याको समाधान निकालिहाल्छ । जतिजति चुनाव नजिकिँदै छ उतिउति चरमपन्थी समूहहरु विभिन्न आवरणमा सक्रिय भइरहेका छन् ।
नेपालको राष्ट्रिय सुरक्षाको सबैभन्दा सशक्त ढाल नेपाली सेनालाई बदनाम गराउन खोजिदैछ । सामाजिक संरचनाहरु खलबलाउन खोजिदैछ । जात जाति, समुदाय, क्षेत्र, भाषाभाषीबीच द्वन्द्व मच्चाउन खोजिदैछ । धार्मिक हिंसाको आगो सल्काउन खोज्नेहरु अध्यारो कोठाबाट खेलिरहेका छन् । त्यसैले बंगलादेशमा भएको पछिल्लो राजनीतिक हत्याबाट नेपालीले समयमै शिक्षा लिनुपर्छ ।
नेपालमा भएको जेनजी विद्रोह र त्यस क्रममा भएका आगजनी र हिंसाबारे सुरक्षा निकाय पूरै खुलेन । सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरी सेनाले यसबारे क्रमैसँगै खुल्दै जाने मात्र भनेको थियो । सायद, सुरक्षा संवेदनशीलताका गम्भीर विषय भएर होला सेना पूरै बोलेको छैन । बंगलादेशमा जसरी नेताहरु देश छाड्न वाध्य भए, कतिपय आक्रमणबाट मारिए, सेनाले नेपालमा त्यो हुन दिएन । बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइयो ।
कतिपय नेता देखि प्रधान न्यायाधीशसम्म जेल हालिए । जुन नेपालमा भएन । तर, नयाँ सरकारबाट छिमेकको सुरक्षामा असर पर्ने खालका गतिविधि नजानिँदो तरिकाले भएको देखिदै गएको छ । भारतसँगको सीमामा घुसपैठीको गतिविधि होस् या स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधिले छिमेकी सशंकित भएको अवस्था छ ।
नेपालको राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो मार नेपाली आफैलाई हो । त्यसपछिको असर भारत र चीनलाई हो । छिमेकले आफूभन्दा धनी र शक्तिशाली बन्न नदेला तर अस्थिरता र अराजकता फैलाउँदैन जस्को असर उसलाई पनि पर्न सक्छ ।
भारत र चीनसँग सीमा जोडिएको नेपालमा राजनीतिक अस्थिरताको सिधा असर दुवै देशलाई हुनसक्छ । विशेषगरी भारत बढी प्रभावित हुनजान्छ । बंगलादेशकै शैलीमा नेपालमा सम्भावित हिंसाका घटनाका योजना बढाइने र नयाँ खालका राजनीतिक अस्थिरतालाई बढावा दिने षड्यन्त्रबारे भारत र चीन दुवै सतर्क नै होलान् ।
अहिलेसम्म घटित घटनाहरुको अध्ययन गर्दा दक्षिण एशियामा अस्थिरता मच्चाउने ठूलै समूह लागेको छर्लंग छ । त्यो शक्ति भारत र त्यसपछि चीनलाई नै चुनौती दिने गरी आएको छ । नेपालले भविष्यमा ठूला चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । यसका लागि सुरक्षा सतर्कता र आन्तरिक तयारी बेलैमा आवश्यक छ ।











