Logo
Logo
सम्पादकीय

कुशासनको चक्रव्यूह र नयाँ अनुहारको खोजी


378
Shares

राजनीतिमा चासो राख्नेहरूले सोचे,–जेनजी आन्दोलनले दलहरूमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण प्रक्रियालाई सहज बनाउनेछ । ३० वर्ष अघिदेखि एउटै पार्टी, एउटै नेतृत्व र नेताहरूको वरिपरि घुमिरहेको राजनीतिक गतिविधिमा फेरबदल आउनेछ, दलको नेतृत्व वृत्त केही न केही चिन्तन, आत्मसमीक्षा र महसुस गर्न बाध्य हुनेछ ।

बदलिँदो परिस्थितिअनुसार पार्टीहरूले पुर्नसंचरनाकृत गर्नेछन् । युवा पुस्ताको सोचअनुरूप दलहरूको नेतृत्व प्रणाली पुनर्गठन हुनेछ । तर, व्यवहारमा यो अपेक्षा केबल ‘बीरबल र अबकर’ कथाको पात्र जस्तै देखिएको छ । व्यवहारमा लागू हुने अवस्था पटक्कै छैन ।

गत आम निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेको नेकपा (एमाले)ले यसपटक त्यही मत कायम गर्ने अवस्था देखिँदैन । जेनजी आन्दोलनपछि सबैभन्दा बढी एमालेको नेतृत्वमाथि प्रहार भैरहेको छ ।

एमालेको ११औँ महाधिवेशनले जेनजी पुस्ताको भावनालाई कदर गर्न सकेन । पुरानै नेतृत्वलाई अनुमोदन ग¥यो । साथै, नेपाली कांग्रेस र तत्कालीन माओवादीले समानुपातिकमा धेरै मत ल्याए । कांग्रेसभित्र नेतृत्वको रस्साकस्सीकै कारण महाधिवेशनको मिति तोकेर पनि हुने अवस्था छैन । माओवादीले पार्टीको नाम परिवर्तन त ग¥यो तर, नेतृत्वमा नयाँ व्यक्तिलाई उभ्याउन सकेन ।

जेनजी आन्दोलनले सबैभन्दा ठूलो झट्का लागेको एमालेलाई नै हो । जेनजी आन्दोलन हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली दुई ठूला दलको गठबन्धन सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री पदमा थिए । सामाजिक सञ्जाल बन्द गरेर आन्दोलनलाई उकासेको आरोप उनीमाथि छ । तर, एमालेपंक्तिमा यसबारे कुनै महसुस देखिएन, महाधिवेशनले पनि यो छनक देखाएन । दुःखको कुरा यही हो । जेनजी आन्दोलनमा त्यत्रो विद्यार्थी मारिए, तर नेतृत्वलाई कुनै पश्चात्ताप छैन ।

नेपाली कांग्रेसमा पनि यसको असर खासै देखिएन । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिए । महाधिवेशनको कार्यतालिका ल्याए तर महाधिवेशन हुनसक्ने परिस्थिति बनेन । कम्तीमा देउवाले कार्यवाहक दिएर सहज बर्हिगमनको बाटो रोजको भए, त्यहाँ रहेका नेता कार्यकर्ताहरूले ‘फेस सेभिङ’ हुने थियो ।

फागुनको निर्वाचनमा यो अवसरबाट कांग्रेस वञ्चित हुँदै छ । सतहमा हेर्दा यी सवाल सामान्य, प्राविधिक र समय तालिकासँग मात्र जोडिएजस्ता देखिएपनि यसको असर सबैतिर पर्ने निश्चित छ । लोकतान्त्रिक भनिएको पार्टीको नेतृत्व परिवर्तनको ‘संक्रमणकालीन संघर्ष’ सोचेजस्तो सहज नहुने संकेत दिँदैछ । नेतृत्व पुस्तान्तरण, हस्तान्तरण र रूपान्तरण सहजै हुन नदिने गरी काँग्रेसभित्रका पात्रहरू अघि बढेको देखिन्छ । पार्टी विधानअनुरूप ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दासमेत हुन नदिएर कांग्रेसले आफ्नो लोकतान्त्रिक छवि कमजोर बनाएको मात्र छैन, बिस्तारै व्यक्तिकेन्द्रित बनाउँदै लगेको देखिन्छ ।

‘नेपाली कांग्रेसको लोकतान्त्रिक निष्ठा र संस्कार कम्युनिस्टहरूको भन्दा बलियो हुन्छ’ भनिन्थ्यो । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको संक्रमणकालीन जटिलता हेर्दा खासै भिन्नता देखिन्न । देउवाको दोस्रो कार्यकाल सभापतित्व यस वर्षको मंसिर महिनामै समाप्त भयो ।

कांग्रेसको १४औं महाधिवेशन २०७८ साल मंसिरमा भएको थियो । पार्टी विधानअनुसार कांग्रेस सभापतिको नियमित कार्यकाल ४ वर्षको हुन्छ । नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको आम अपेक्षालाई दृष्टिगत गरी मंसिरभित्र नियमित महाधिवेशन गरेको भए सायद देउवाको छवि ओली र अन्य समकालीन नेताहरूको भन्दा फरक र बढी लोकतान्त्रिक देखिन्थ्यो । तर, उनले उल्टो बाटो रोजे । तोकिएको कार्यतालिकामा महाधिवेशन हुन नसक्ने जटिल अवस्थामा पु¥याएर देउवा चुनावमा जान खोजिरहेका छन् ।

पार्टीको संस्थागत निर्णयबिनै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको साँगगाँठमा विघठित प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा पार्टीलाई उभ्याए । यसरी देउवा उल्टो ‘उग्र र आक्रामक’ कदम चाल्न थाले । फागुन २१ को निर्वाचनलाई लक्षित गरी उम्मेदवार सिफारिस गर्ने काम भइरहेको छ । यसबाट प्रस्ट हुन्छ कि देउवा आगामी निर्वाचनमा टिकट बाँड्ने र भावी संसदीय दलमा वर्चस्व कायम गर्ने मनस्थितिमा छन् ।

३५ वर्षदेखि यही मनस्थितिबाट देउवा पाँचपटक प्रधानमन्त्री त बने तर अन्ततः जेनजी विद्रोहीको कुटाई खाएर बालबाल बचे । बिपी कोइरालाका उत्तराधिकारी देउवा नेपालको राजनीति इतिहासमै नालायक साबित भए । आफ्नो श्रीमतीलाई नक्कली भुटानी शरणार्थीको कारबाहीबाट जोगाउन उनले ओलीसँग गठबन्धन गरे । जुन कुरा अनैतिक थियो ।

पाँचपटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई नैतिकता, अनैतिकता भन्ने कुरा थाहै छैन भने त्यस्ता व्यक्ति संसद् पुनःस्थापना भयो भने प्रधानमन्त्री बन्लान् भनेर कसले पत्याउने ? तै पनि ओलीको उक्साहटमा देउवा सर्वोच्च अदालत पुगेका छन् । फागुन २१ गते निर्वाचनको मिति घोषणा भइसकेको छ । तै पनि ओली र देउवाले देशलाई अनिर्णयको बन्दी बनाइरहेका छन् । यस घटनाबाटै कांग्रेस–एमाले पूर्णतः असफल भएको प्रमाणित हुन्छ । यी दुई पार्टीको कुशासनकै कारण मुलुकले नयाँ जनादेश र नयाँ अनुहार खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्