काठमाडौं । ‘प्रतिस्पर्धाभन्दा पनि जनताको मुद्धा उठाउन हिँडेको हुँ । त्यसैले प्रतिस्पर्धाको महसुश छैन,’ भारतबाट ज्योतिषशास्त्रमा विद्यावारिधि गरेर फर्किएका डा. उद्धबकुमार राई अहिले जनताको घरदैलोमा छन् । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार बनेका उनी आफ्नै ठाउँबाट क्रान्तिको थालनी गर्नुपर्नेमा जोड दिन्छन् । र, उनी अरु होइन पहिले आफू परिवर्तन हुनुपर्नेमा सचेत छन् । श्रम संस्कारको मुद्धा बोकेर चुनावी मैदानमा उत्रिएका डा. राईले पूराना दल नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसँग निर्वाचन सामना गर्दैछन् । जित हार के होला ? त्यो चुनावपछिको परिणामले देखाउनेछ।

पार्टीबाट टिकट पाएपछि अहिले जिल्लामा रहेर जनताको समस्या बुझिरहेका उद्धवले बुधबारदेखि चुनावी घरदैलो कार्यक्रमलाई अझ रफ्तारमा अघि बढाएका छन् । पहिलोपटक निर्वाचनको अनुभव बटुल्दै गरेका उनी चुनावभन्दा पनि आमजनताको समस्या बुझ्न र सुन्न हिँडेको सुनाउँछन् । ओखलढुंगाको मोली (नेपाने)मा जन्मेका उद्धव बुधबार मोली (फस्कु)को घरदैलो कार्यक्रममा व्यस्त थिए । श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. राईलाई दृष्टिका लोकराज रुम्दालीले पाँच प्रश्न गरेका छन् ।
निर्वाचनको माहोल कस्तो छ ?
निर्वाचनको माहोल एकदमै राम्रो छ । जनतामाझ जाने समस्या बुझ्ने र आफ्ना भनाइहरु राख्ने कामहरु भइरहेका छन् । विगतदेखि राजनीतिको दलदलमा फसेका नागरिकहरु अहिले हाम्रालाई होइन राम्रालाई भोट दिने भन्ने नै पाएको छु । अहिले जनता एकदमै चेतनशील छन् । आफैँबाट परिवर्तन गर्नुपर्छ भन्ने नै सबैको एक स्वर छ ।
पूरानो दल कांग्रेसको गढ र कम्युनिष्टले पनि पटक पटक निर्वाचन जितेको क्षेत्रमा प्रतिस्पर्धा कति सजिलो देख्नुभएको छ ?
मलाई त्यस्तो लाग्दैन । जनताले मलाई बुझ्नुभएको छ र मैले जनतालाई बुझेको छु । ठूल्ठूला सपना देखाउने होइन । बरु सानै काम होस् त्यसले सपना देखाउनुभन्दा कयौँ गुणा जित्छ । प्रतिस्पर्धाभन्दा पनि जनताको मुद्धा उठाउन हिँडेको हुँ । त्यसैले प्रतिस्पर्धा ‘फिल’ भएजस्तो लाग्दैन । अब आफू र आफ्नो गाउँ आफैले परिवर्तन गर्नैपर्छ । म आफैँ ज्योतिष भएकोले जनताको भविष्य कस्तो छ ? त्यो मैले राम्रोसँग देखेको छुँ ।
ज्योतिषी भएरै घरदैलोमा हिँडिरहँदा जनताको भविष्यचाहिँ कस्तो देख्नुभएको छ ?
गाउँको पहिलो समस्या भनेको आर्थिक पाटो नै देखेको छु । कृषकले जति दुःख गरे पनि जग्गा बाजो राखेर आखिर गाउँ छाड्नैपर्ने विगतदेखिको परिपाटी छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ भनेर उल्लास मनाउनेहरु गाउँमा चुनावमा छिर्ने अरुबेला हराउँछन् । जनताको जीवन सुधार्न बाचा खाएको नेता चुनाव जितेपछि राजधानीमै रमाउने चलन छ । र, यो संस्कार विगतदेखि वर्तमानसम्म निरन्तर छ । आखिर यो परिपाटी कहिलेसम्म ? प्रश्न गम्भीर छ । आर्थिकसँग जोडिएको अभिन्न पाटो हो, रोजगार । रोजगार पाउनका लागि पहिले गाउँमै त्यस्ता औधोगिक क्षेत्र स्थापना हुनुपर्छ । तर, ग्रामिण भेग भनेर वर्षाैदेखि औधोगिक क्षेत्रलाई उपेक्षा गरिएको छ । तसर्थ, सर्वप्रथम यी दुई विषयको सम्बोधन गर्न सके गाउँले मुहार फेर्ने थियो, सहरले पनि नयाँ सास फेर्ने थियो ।

तपाईहरुको घोषणापत्र त आउन बाँकी छ । तर, मान्छे प्रविधिमा फड्को मारेर अन्तरिक्षमा बास बसिसक्दा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले बेल्चा र गैँती उचालेर क्रान्तिको बिगुल फुक्ने हो भन्दै आउनुभएको छ । रोबोट विकास गर्नु साट्टो बेल्चा र गैँती उचालेर जनताको जीवनमा फड्को मार्न सम्भव होला ?
हामीमा सबैभन्दा समस्या नै यहिँ छ । समय परिवर्तनशील छ । सबैलाई थाहा छ । अझ भनौँ सबैले प्रविधिलाई बुझ्ने भइसके । तर, प्रविधिमा दख्खल छ भनिँदै गर्दा हामीले दैनिक जीवन निर्वाह गर्न चाहिने हेलमेट बनाउ सक्दैनौँ । लाखौँको
मोटरसाइकल चढेछौँ, करोडौँको कार चढ्छौँ । तर, हामीसँग सवारी बनाउने कारखाना त के सामान्य पाटपूर्जाका सामान उत्पादन गर्ने कारखाना छैनन् । परनिर्भर रहनुपर्ने स्थिति छ । र, अब कहिलेसम्म त्यो परनिर्भरतामा बाँच्ने ? प्रविधिमा फड्को मार्दै, महंगो हेलमेट लगाउन सक्ने तर बनाउन नसक्ने हामीले पहिले बेल्चाको अर्थ बुझ्न जरुरी छ । बेल्चा भनेको क्रान्तिको प्रतिक हो, एकता पनि हो । अर्थात्, सामान्य श्रम नगरी ठूला सपना पूरा हुँदैनन् । सपना पूरा गर्न सानोदेखि आरम्भ गर्नुपर्छ ।
श्रम संस्कृति पार्टीको जनतामाझ जाने अन्य एजेन्डाचाहिँ छैनन् ?
हामीलाई थाहै छ, वर्षैदेखि राजनीतिको मुहान फोहोर भएर बगिरहेको छ । अब सफा र शुद्ध बनाउनुपर्छ । पहिलो कुरा त जमिनबिना कसैको जीवन कल्पनै गर्न सकिन्न । जति पानीको महत्व छ । बिहान उठेदेखि बेलुकी सुतेसम्मका तमाम् काम जमिनसँगै हुन्छ । चाहे त्यो कृषि, व्यापार व्यवसाय वा अन्य सबै । मुख्य तः कृषि । कृषिविनाको जीवन कल्पना गर्न सकिन्न । जमिन हामीले चिन्न सकेका छैनौँ । जमिन धरतीमात्र होइन सबथोक हो । जमिनको सदुपयोग गरे जनताको जीवनस्तर सजिलै उकासिन्छ । नत्र सँधै यहिँ राजनीतिको खेलमात्र चलिरहन्छ । केवल जित र हार । तर, जनताचाहिँ केवल हारिरहन्छन् । त्यसैले श्रम संस्कृति पार्टी जनताको समग्र जीवन उकास्न आएको छ । र, हाम्रो मुख्य एजेन्डा– एक पालिका, एक उद्योग । एक गाउँ, एक उद्यम । एक युवा, एक सीप हो ।











