Logo
Logo

किन भयो एजेण्डामाथि ‘अनुहार’ हाबी ?


756
Shares

काठमाडौं । एक स्थापित मान्यता छ– राजनीति भनेको विचार र एजेन्डाहरूको स्वस्थ प्रतिस्पर्धा हो । एजेन्डाले नै राष्ट्रको कार्यभार र भविष्यको मार्गचित्र कोर्ने गर्दछ । खासगरी निर्वाचनलाई त एजेन्डाहरू बीचको टक्कर र श्रेष्ठता छनोट गर्ने एउटा लोकतान्त्रिक विधिका रूपमा लिइन्छ ।

निर्वाचनको मैदानमा होमिँदा हरेक दल र उम्मेदवारले आफ्ना भिजन र प्रतिबद्धताहरू घोषणापत्रमार्फत सार्वजनिक गर्छन् । मतदाताले पनि आफूलाई मन पर्ने विचार र एजेन्डालाई अनुमोदन गर्छन् । र जसले जनविश्वास जित्छ, उसैका नीतिहरू लागू हुने अपेक्षा गरिन्छ । तर, बिस्तारै यो परम्परागत बुझाइ र विश्वासको घेरा खुम्चिँदै गएको छ ।

पछिल्लो समय मानिसहरु विचार वा एजेन्डामा भन्दा पनि ‘लोकप्रिय अनुहार’ मा बढी भरोसा गर्न थालेका छन् । समाजका अन्य क्षेत्रमा ख्याति र सफलता कमाएका व्यक्तित्वहरू राजनीतिक नेतृत्वका लागि बढी योग्य देखिन थाल्नुले एउटा नयाँ संकेत गरिरहेको छ ।

आजको बहस ‘देश कस्तो बन्नुपर्छ’ भन्नेमा भन्दा पनि ‘देश कसले चलाउनुपर्छ’ भन्ने व्यक्तिकेन्द्रित प्रश्नमा अल्झिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई हेर्दा ‘चर्चित अनुहारको युग’ सुरु भएको र एजेन्डाको ओज घट्दै गएको दृश्य प्रस्टै देखिन्छ ।

वर्तमान राजनीतिको माहोललाई नियाल्दा चुनावपछिको प्रधानमन्त्री को होला ? भन्ने चर्चा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, गगन थापा वा बालेन्द्र शाहकै वरिपरि घुमिरहेको छ । हर्क साम्पाङ र कुलमान घिसिङजस्ता नामहरू पनि दाबेदारका रूपमा मैदानमै छन् । तर, राजनीति यसरी विचारबाट व्यक्तितर्फ किन ‘सिफ्ट’ हुँदैछ ? भन्ने कारणहरूमाथि घोत्लिनु जरुरी छ । अनुभवजन्य यथार्थले नै मानिसलाई नयाँ प्रवृत्तिको खोजी गर्न बाध्य पार्छ । एजेन्डाभन्दा अनुहारको मूल्य बढ्नुका पछाडि केही गहिरा कारणहरू छन्-

१. संस्थागत विश्वसनीयताको अभाव
राजनीतिक दलहरूमा ‘संस्थागत विश्वसनीयता’ को चरम अभाव देखिएको छ । अघिल्लो दशकसम्म दलका सिद्धान्त र योजनाप्रति जनताको ठूलो रुचि हुन्थ्यो, तर व्यवहारमा चुनावी घोषणापत्र केवल एउटा औपचारिकता मात्र सिद्ध भयो । दलको चरित्र उसको आदर्श वा इतिहासले होइन, बरु शीर्ष नेताको व्यक्तिगत इच्छाले चल्न थाल्यो । ‘ओली नै एमाले, प्रचण्ड नै माओवादी र देउवा नै कांग्रेस’ भन्ने बुझाइ स्थापित भयो । र जसले जिते पनि सरकारको कार्यशैली उस्तै हुने हो भने एजेन्डामा अल्झिनुको के अर्थ ? एजेन्डा सफल हुन त त्यसमा निष्ठा र इमानदारी जोडिनुपर्छ, जुन अहिले हराउँदै गएको छ ।

२. विचारका नाममा बासी अनुहार
‘विचार’ शब्दलाई नै असफल र बासी अनुहारहरूले आफ्नो रक्षा कवच (ब्रान्ड) बनाए । पुराना पार्टीहरू विचारवान् र नयाँ शक्तिहरू विचारहीन हुने भन्ने एउटा खोक्रो वर्गीकरण सिर्जना गरियो । तर प्रश्न उठ्छ, यदि ती दलहरूसँग साँच्चै ठोस विचार थियो भने देशले किन प्रगति गरेन ? पात्र र प्रवृत्तिहरू नाङ्गिसकेपछि केवल एजेन्डाको गफले मात्रै जनतालाई तान्न सक्दैन ।

३. असामयिक विचारप्रतिको भक्ति
राजनीतिक विचारमा ‘असामयिक भक्ति’ देखिन्छ । समाज विज्ञानमा विचारहरू समयअनुसार परिमार्जन हुनुपर्छ, तर यहाँ शताब्दिऔं पुराना ‘वाद’ हरूको रटान अझै जारी छ । समाजवादको कुरा सबैले गर्छन्, तर त्यो कसरी आउँछ र त्यसले आम मान्छेको जीवनमा के परिवर्तन ल्याउँछ भन्ने ठोस खाका कसैसँग छैन । विचारलाई नयाँ भाष्य र मूर्त रूप दिन नसक्दा ती केवल शब्दजालमा सीमित भए ।

४. कल्पनाशीलताको उपयोगिता ह्रास
नेताहरूले कल्पनाशीलतालाई नै ‘उपयोगिता ह्रास’ को सिकार बनाए । गत निर्वाचनमा स्मार्ट सिटी, पानीजहाज र रेलका यति धैरे सपना बाँडिए कि अब सपना देख्ने प्रक्रियाप्रति नै जनताको भरोसा टुट्यो । देशको स्रोत र साधनसँग नमिल्ने उडन्ते कुराहरूले एजेन्डाको गम्भीरतालाई नै समाप्त पारिदिए ।

५. सामूहिक अधैर्यता र डिजिटल प्रभाव
हामी ‘सामूहिक अधैर्यता’ को डिजिटल युगमा छौँ । सामाजिक सञ्जालले मानिसलाई ‘सर्ट–कट’ नतिजा खोज्ने बनाइदिएको छ । हिजोका जस्ता लामा आलेख र दर्शन पढ्ने धैर्यता अब छैन । टिकटक र ट्विटरको युगमा विचारको गहिराइभन्दा छोटो र छिटो प्रभाव पार्ने पात्रहरू नै हाबी हुनु स्वाभाविक देखिएको छ । यो हतारोको मूल्य राष्ट्रले चुकाउनुपर्ने भए पनि वर्तमानको बहाव यस्तै छ ।

६. भावनाप्रधान मनोविज्ञान
नेपाली समाज ज्ञान, विज्ञान र विवेकभन्दा बढी भावना प्रधान रहँदै आएको छ। शक्ति संरचनाले सधैँ भावनाको दोहन गरेर भोट बटुल्ने सजिलो बाटो रोज्यो। भावना प्रधान समाजको मुक्ति मार्ग ज्ञान र कर्म नभएर भक्ति हो। समाजमा भावनाप्रदान सोचको जरा जति गहिरो गाडिएको हुन्छ, राजनीतिकर्मी त्यति नै भाइरल छवि र नाटकीय अभिनयतिर आकर्षित हुन स्वाभाविक हुन्छ । यस्तो मनोविज्ञानलाई विवेकसम्मत मार्गमा ल्याउनु निकै चुनौतीपूर्ण छ ।

यो ‘प्रियतावाद’ र ‘हिरोइज्म’ को हुरी नेपालमा मात्र होइन, विश्वव्यापी लोकतन्त्रकै एउटा चरण हो । युरोपदेखि अमेरिकासम्म अहिले विचारभन्दा नायकत्वको खोजी भइरहेको छ । यो लोकतान्त्रिक विकासको एउटा अध्याय हो, जुन निश्चित समयपछि आफैँ फेरिन सक्छ । हालका लागि एजेन्डामाथि अनुहारको यो दबाब एउटा कठोर यथार्थ हो, जसलाई सहजतापूर्वक स्वीकार्नु र अर्को सचेत समयको प्रतीक्षा गर्नुको विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्