Logo
Logo

बालेन प्रवृत्तिः नयाँ जोगीको ‘खरानी’ कि रूपान्तरण ?


भुपेन्द्र थापा ‘माधव’

567
Shares


आज विश्व वहुध्रुविकतातर्फ केन्द्रित बन्दै गएको छ । यसले संसारका शक्ति राष्ट्रहरु बिच टकराब चर्किँदो छ । यो अवस्थासम्म आइपुग्दा कमजोर वा साना राष्ट्रका नागरिकहरूले संयतता एवं सचेतता पु¥याउन सकेनन् भने मुलुक शक्ति राष्ट्रहरूको प्रयोगशाला बन्ने छ ।

जसको कारण अफगानिस्तान, सिरिया र लिबिया बन्ने छ । सामाजिक सञ्जाललाई भ्रमको हतियार बनाएर जनताको भावनामा खेल्न सिपालु लोकप्रियतावादी नयाँ जेलेन्स्कीको मुकुट उतार्न सचेत भएर यो सूचना र सञ्चारको युगान्तकारी माध्यमलाई चेतनाको आधार बनाउन सक्नु पर्दछ । नेपाली नागरिकहरू आज त्यति कमजोर मानसिकतामा छैनन् ।

विश्व राजनीतिक कुन दिशातर्फ केन्द्रित छ भन्ने विषयमा चिन्ता, चासो र निष्कर्ष निकाल्न सक्ने भैसकेका छन् । यो सकारात्मक संकेत हो । हिजो संविधान भन्दा माथि राजा थिए, लोकतन्त्रमा विधि भन्दा माथि शासक भए जनताले विधिको शासन र संस्थागत भ्रष्टाचार विरुद्ध आवाज उठाए विद्रोह गरे यी सबै विधि प्रक्रिया नियम कानुन भन्दा माथि आज बालेनलाई चढाउन त खोजिँदै छैन ?

बालेन नामक अफिन खाएर नेपाली नवपुस्ता जसरी एकभक्त भएर लट्ठिएको छ, जुन दिन नशा उत्रिन्छ त्यसदिन उ सिरिया, लिबिया र अफगानिस्तानको चिहानमा खरानीको थुप्रोमाथि पसारिएको हुनेछ । देशले परिवर्तन चाहेको छ परम्परागत नेतृत्वहरू निर्दोष अवस्था छैनन् ।

प्रश्न उठाउने अधिकार नयाँ पुराना दुवै शक्तिलाई पाउनु पर्छ, जबाफदेही सबै बन्नु पर्छ, तर मुलुकलाई असफलता तर्फ धकेल्ने जस्तो विषय कसैलाई कदापि स्वीकार्य हुने छैन । सामाजिक सञ्जाल फेक आइडी र कृत्रिम न्यारोटिभको आडमा निर्माण भएको लोकप्रियतावादी एवं झुटोको महल निर्वाचन पछि जसरी बङ्गलादेशमा भत्कियो, त्यसैगरी नभत्केला भन्न सकिन्न ।

सटटर्म पपुलिज्मको सुरुङ मार्गबाट दीर्घकालीन यात्रा सफल हुँदैन पपुलिज्मले चुनाव देखि सत्ता सम्मको मात्र बाटो देख्छन् तर दूरदर्शी नेतृत्वले विचार सिद्धान्त र विधिमा आधारित विशाल भविष्यको सपना देख्दछ । यो बिचार कार्यदिशा, कार्ययोजना र जबाफदेहितासँग सम्बन्धित निर्घकालिन एवं परिवर्तनशील यात्रा हो ।

“गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन मोही छैन गरिबको चमेली बोल्दिने कोही छैन” भन्ने दुःखी गरिब, शोषित, पीडित वर्ग प्रति लक्षित भावना र वास्तविकतामा आधारित गीत गाएर विगतको स्थानीय निर्वाचनमा सानदार इन्ट्री गरेका बालेन्द्र शाह उर्फ बालेन देशकै मुटु राजधानी, काठमाडौं महानगरमा परम्परागत राजनीतिक दलहरुको एकलौटी सेन्टीकेटमा रहेको स्थानीय सत्ता खोस्न सफल भए ।

विडम्बना जुन वर्ग प्रति लक्षित भएर लोकप्रिय मत बटुले त्यो वर्गलाई नै काठमाडौंबाट उठिबास लगाउन उनी लालायित भए । गरिब दुःखीको ढुङ्ग्रोमा मोही भर्ने आश्वासनका गीत गाएर त्यो ढुङ्ग्रो नै खोस्न उनले आफ्नो निरङ्कुशताको डोजर र डन्डा चलाए । भीड मनोविज्ञान र टे«न्ड राजनीतिले यस्ता खाले प्रक्रिया र प्रवृत्तिलाई अझ झन् तीव्र र निरंकुशवादी बनाउँदै लैजाने गर्दछ । विचार, सिद्धान्त विना नीति निर्माण अमानवीय र अव्यवहारिक हुने गर्दछन् ।

छवि र फुस्रा नारामा सीमित राजनीतिक यात्राले दीर्घकालीन जबाफदेही नेतृत्व निर्माण हुन सक्दैन, क्षणिक लोकप्रियतावादी आकर्षणको प्रभावले दीर्घकालीन उत्तरदायित्व बोध भएको नेतृत्व समाजले विकास गर्न सक्दैन । अन्ततः लोकप्रियतावादी मुकुन्डो समय धड्किएपछि उत्रिँदा सामाजिक, आर्थिक र समृद्धिको आधार बोकेको भकुन्डो तलतिर गुडेर अन्धकार खोँचमा पुगिसकेको हुनेछ ।

भाद्र २३ र २४ को जेन–जी आन्दोलनपछि नेपाली राजनीतिले एउटा नयाँ र परिवर्तनशील मोड लिएको छ । आगामी फागुन २१ मुलुक र जनताको भाग्य र भविष्यको फैसला गर्ने विधाता रोज्ने अवसर आम सचेत मतदाताहरूको विवेकशील एवं चेतनशील हातले निर्धारण गर्दछ ।

यो निर्वाचन २०१५ सालको पहिलो निर्वाचनको निरन्तरता हुने हो वा नयाँ किरण बनेर झुल्कने हो, त्यो निर्वाचन पछि बन्ने सरकारको दुरदृष्टि, कार्ययोजना, सामाजिक, आर्थिक र प्रतिबद्धतामा भर पर्दछ । फेरी पनि नेपाली समाजमा उठेका अनगिन्ती राजनीतिक, आर्थिक, सामाजिक, विभेदका प्रश्नहरूलाई उचित व्यवस्थापन गरी गरिने निर्वाचनको औचित्य कसरी पुष्टि गर्ने ?

नयाँको ब्राण्डिङ्ग गरिरहँदा पुरानै परम्परागत सोच, विचार र संस्कारको ढोल बजाएर नयाँ र आधुनिकतावादी नौटङ्कीको चुनावी रङ्गमञ्चमा नयाँ जोगीहरूलाई अत्यधिक खरानी घसेर उतार्नुको के अर्थ ? पुरानै संविधान, पुरानै राज्य व्यवस्था, पुरानै निर्वाचन प्रणाली र पुरानै शासकीय स्वरूपको डम्फु बजाएर कुनचाहिँ नयाँ ताण्डव मञ्चन गरिँदै छ ? के सबै प्रणाली र व्यवस्थालाई जस्ताको तस्तै राखेर कुन चाहिँ परिवर्तन र नयाँ नेतृत्वको शंख फुकिँदै छ ?

के तीनै अबोध निहत्था ७६ जना बालबालिकाको बलिदानमाथि टेकेर एउटा गोली हान्न आदेश दिने सत्ताधारी शासक र अर्को मर्न र मार्न उक्साउने दुवै अतिवादी प्रवृत्तिलाई पुनरावृत्ति गराउन यो निर्वाचन गरिएको हो ? के उही भ्रष्ट्राचारको जालो, उही बेरोजगारीले भौँतारिएको युवाहरूको आत्महत्या एवं पलायनताको निरन्तरता, उही थप नयाँ–नयाँ राष्ट्रघात जनघातका श्रृखला दोहो¥याउन, उही परम्परागत कुशासनको बदलामा नयाँ, सुधारिएको आधुनिक कुशासनको डन्डा चलाउन, सिंहदरबारमा आगो लगाउन उक्साएको हो ?

के फेरी पनि विगतमा झैँ मिटरब्याज, लघुवित्त, बैङ्किङ शोषण र किर्ते तमसुकबाट शोषित दुःखी गरिब र निमुखाहरूलाई आत्मदाह, आत्महत्या गर्न बाध्य पार्ने शोषक, सामन्तीहरूसँग कुत उठाएर खान नयाँ भनिने लोकप्रियतावादी मुकुन्डोभित्र राज गर्न खोज्ने मालपानीहरुसँग नयाँ सम्बन्ध गाँस्नका लागि संसद् भवनमा आगो लगाउन लगाइएको हो ?

के नेपालका आम शोषित, पीडित, किसान, मजदुर, गरिब, निमुखा, जाति, वर्ग, धर्म, लिङ्ग लगायत बौद्धिक, शिक्षक, कर्मचारी, विद्यार्थी, बेरोजगार, अर्धबेरोजगार, श्रमिक र श्रमजीवी आमसमुदायमाथि निरन्तर आलोपालो सत्ता र शक्ति स्वार्थमा निहित मुट्ठीभर नयाँ जोगी र पुराना अघोरी शासकहरूको अन्याय, अत्याचार र थिचोमिचोलाई निरन्तरता दिन सर्वोच्च अदालतमा आगो झोसेको हो ?

आजसम्म आर्थिक विवादमा नमुछिएका भाट्भाटेनी मालिक मीनबहादुर गुरुङको २२ वटा सुपर मार्केटमा आगो झोसेर विवादास्पद छवि भएका कमल किशोर मालापानी सँग नयाँ सम्बन्ध गाँसेर कर छली गरी ल्याइएको ८ करोड बराबरको ल्यान्ड रोवर डिफेन्डर लक्जरीस गाडी चढ्दा के रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीलाई कुनै स्पष्टीकरण र प्रश्न सोध्ने आँट र हिम्मत पार्टीका नेता र कार्यकर्ताले नसकेकै हो त ?

अब नयाँ राजनीतिक दल भनिने रास्वपाबाट मुलुक र जनताले कस्तो अपेक्षा राख्ने ? कस्ता सुशासनको अपेक्षा राख्ने ? कस्तो भ्रष्ट्राचार शून्यताको आशा गर्ने ? आर्थिक स्वार्थ र सत्ता सञ्जालको प्रवेश सँगै नयाँ दल र नयाँ नेतृत्व भनिने पनि उही पुरानै सौदाबाजीको राजनीतिक चंगोलमा फसेको त होइन ? चन्दा भ्रष्ट मानसिकता, कालोबजारी, तस्करी र देशद्रोहीहरूबाट पाउने उपहार, सम्भ्रान्त घरानीयाहरु सँगको नाजायज सम्बन्ध, वैदेशिक, प्रभाव, पहुँच र संरक्षणले नीति निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।

दलको नाम र नेतृत्वको अनुहार फरक परेता पनि निर्णय गर्ने शक्ति उस्तै हातमा केन्द्रित हुने गर्दछ । यसरी नै परिवर्तन र नयाँको भाषा पुरानै पतनको वैधता हुन्छ । के राज्यले परम्परागत सम्भ्रान्त एवं सामन्ती शासक वर्गको हालिमुहालीमा रहेको दलाल पुँजीपति शासन व्यवस्था कुनै मुख, उही अहङ्कार घमन्ड र सांस्कृतिक प्रवृत्तिको नयाँ आधुनिक जगमा उभिएको लोकप्रियतावादी, निरंकुशतावादी प्रतिरोधात्मक मनोविज्ञानबाट ग्रसित एकाधिकार सिन्डिकेटको रंगले फुलबुट्टा गरिएको नवसम्भ्रान्त एवं आधुनिक सामान्तिको हातमा शासन सत्ता सुम्पिनका लागि मात्र ०८४ मा हुने निर्वाचन ८२ मा गर्न खोजिएको हो ।

७६ जना होनहार नवयुवाहरूको रगतको नदी नवसम्भ्रान्तहरुको सत्ता महत्वकांक्षा पूरा गर्ने बैतर्नी बनाउन खोजेको हो ? ती कलिला नवयुवाहरूको रक्तरञ्जीत भावभूमिमा ढलेका भौतिक शरीरहरू के शासकको अनुहारमा मात्र थियो कि राज्यको विभेदपूर्ण व्यवस्था बदल्न थियो ?

फेरीपनि, चुनावदेखि चुनावसम्मको छलकपटको यात्रामा शासक र शोषक बदल्न जनता विभिन्न पार्टीका नेता र कार्यकर्ताको जालोमा फसेर जिन्दाबाद र मुर्दावादको नारा घन्काउँदै गाउँ,, सहर र टोलहरूमा तीन हात माथि उफ्रेर दौडिन व्यस्त छन् । यो चेतनाले मुलुक र जनतामा निहित शासन व्यवस्था कसरी बदलिएला ?

जनता सोझा छन्, जनता इमानदार छन्, जनतामा विवेक छैन, जनता भेडा हुन्, जता धपायो उतै दौडिन्छन् भन्ने भ्रम नेताहरूमा अझ बढी झाँगिँदै गएको देखिन्छ । आजको एक्काइसौँ शताब्दीको युगमा त्यस्तो भ्रम पालेर विगतको इतिहासलाई त्यसैगरी चोर बाटोबाट दो¥याउँछु भन्ने कुचेष्टा नराख्दा नै राम्रो हुनेछ । किनभने आजको युवा विज्ञान, प्रविधि र सूचनाले सु–सज्जित भैसकेको छ ।

अहंकार र अहंमताको अन्धकारमय सुरुङतर्फ युगलाई धकेलर सत्ताको स्वर्ग बटुल्छु भन्ने दिवा सपना कुनैपनि नयाँ–पुराना शासकहरूले नदेख्दा हुन्छ । एउटा लुटको लङ्का जलाएर अर्को लुटको लङ्का उठाउने प्रतिरोधात्मक अहंकारी र घमन्डी शासक जनतालाई कदापि स्वीकार्य हुने छैन । यसले मुलुकका लागि अस्थिरता, राष्ट्रिय अखण्डतामा हस्तक्षेप सहित अर्को वियोगान्त निम्त्याउने निश्चित छ । भ्रष्ट शासकका कारण लोकतान्त्रिक, गणतन्त्रको उपहार गाउँ–गाउँमा सिंहदरबार भन्ने नाराको आवरणमा गाउँ गाउँमा भ्रष्टाचारको मूल फुटेको छ ।

हजारौँ बेरोजगार युवा, विद्यार्थीहरू विदेश पलायनताका कारण वर्षेनी अर्बौँ डलर बराबरको नेपाली धनराशि विदेश निर्यात हुन पुगेको छ । नेपाली युवाहरूलाई बेरोजगार र अर्धबेरोजगारको उपाधि थमाई दिने दलाल व्यवस्थाले विदेशी ऋणको भारी नेपाली टाउको थाम्न सकेको छैन ।

फेरीपनि गणतन्त्रात्मक व्यवस्थाका असली मालिक दाबी गर्ने लोकतन्त्र र प्रजातन्त्रका भजनमण्डलीहरु देशलाई बेरोजगारको अखडा बनाएर जनतालाई पराधीनताको शिखरमा पु¥याउने दिनप्रति दिन मुलुकलाई कंगाल पारेर सत्ताको स्वर्गमा साम्राज्यवाद र विस्तारवादको बिस्तारामा सर्वाङ्ग दलाली गर्न पछि नपर्ने सत्ता स्वार्थमा राष्ट्रियतामाथि खतरा बढाउन समेत पछि नहट्ने परम्परागत शासक विरुद्ध नवयुवाहरूले नयाँ दल र नयाँ नेतृत्व खोज्नु र रोज्नु सामान्य प्रक्रिया हो ।

परन्तु राजनीतिक व्यवस्था पुरानै रहिरहेसम्म नयाँ नेतृत्व र नयाँ दलका युवा, वृद्ध वा जस्तोसुकै इमानदार कर्मशील, देशभक्त र महत्वकांक्षी भएता पनि सरकारमा पुगेपछि पुरानै गाडीको नयाँ चालक मात्रै हुनेछन् जुनगाडी अगाडी बढ्ने छैन । उ बिस्तारै जनविरोधी, विदेशी एकाधिकार पुँजीपति वर्गको दलाली र कामदारको रूपमा स्थापित हुनेछ ।

देशको विद्यमान यस्तो प्रवृत्ति, संस्कृति र परिस्थिति नबदली गरिने चुनाव विदेशी प्रभुहरूका लागि चुनिने नयाँ दलाल भन्दा अर्को उपलब्धि हुने छैन । वर्तमान दलाल पुँजीवादी राज्य व्यवस्थाको जरैबाट ओखलेर नफालेसम्म विधिको शासन, कानुनी राज्य, समानता समावेशिता र जनताका मौलिक अधिकारहरू संविधानको पानाहरूमा मात्र सीमित हुनेछन् ।

राजनीतिमा विचार बदल्नु खासै मुख्य विषय हुँदै होइन समस्या त त्यो हो, एकै व्यक्तिका समय सापेक्ष बारम्बार बदलिने परम्परा विरोधाभास कथनहरू हुन् । जेन–जी विद्रोहपछि आएको राजनीतिक सुनामीले पुराना राजनीतिक दलहरू विघटन र पुनर्गठनको प्रक्रिया तीव्र गतिमा अगाडी बढे । काँग्रेस पुनर्गठित भएको छ । माओवादी लगायत विभिन्न वामपन्थी कम्युनिस्ट पार्टीहरू ध्रुविकरणामा जुटेर नयाँ बनेको दाबी गर्दैछन् ।

एमाले आफूलाई महाधिवेशनपछि वैकल्पिक शक्ति भन्न छोडेको छैन । त्यसै बिचमा रास्वपा बालेको इन्ट्रीले अझ ऊर्जा थपिएको महसुस गर्दै छ । जनताले नयाँ खोजेका छन् चुनाव नजिकिँदै छ । नेपाली धर्तीमा बालेन प्रवृत्तिको दूषित हावाहुरी चलेको छ । तत्कालीन महानगरको मेयर हुँदा पार्टी र नेतृत्वको उछितो सामाजिक सञ्जाल मार्फत काट्न खप्पिस अरूलाई गाली गरेर आफ्नो परिचय बनाउन चाहने स्वतन्त्रको फाइँफुट्टी लगाउने बालेन तीन वर्ष पनि आफ्नो वचनमा टिक्न सकेनन् ।

रवि लामिछानेसँग नेतृत्व लेनदेनको भागबन्डा र उधारो प्रधानमन्त्री सहमति गरी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा ५ बाट प्रत्यक्षतर्फ उम्मेदवार दिएर रास्वपाको घण्टी बजाउँदै देशभरि दौडाहामा छन् । हामी आफैमा प्रश्न तेर्सिन्छ । के बालेन कुनै चमत्कारिक क्षमता, दक्षता भएका खास व्यक्ति हुन् ? के उनी राजनीतिक, सामाजिक, अर्थनीतिक, कूटनीतिक व्यवस्थापक हुन ? की बालेन कुनै विचार, सिद्धान्त, दर्शनका प्रतिपादक वा व्याख्याता हुन् ? के बालेनका अनुसरण गर्न लायक व्यवहार, अनुशासन, शिष्टाचार, सिर्जनात्मक कला र क्षमता केही छन् ? उनीमा यस्तो व्यक्तित्व कला कुनै आविष्कारक र विद्वान हुन् ?
खासमा उनीसँग त्यस्तो सम्झन लायक, अनुसरण गर्न लायक कुनै गुण र चरित्र देखिन्छ ? आफ्नो श्रीमतीलाई कर्तव्य पालक सुरक्षा कर्मीले ५ मिनेट रोक्दा सिंहदरबारमा आगो लाउन तयार हुने सनक व्यक्तिले मुलुक र जनताको हितमा के कस्तो राजनीतिक, आर्थिक, सामाजिक आधार तयार गर्लान् ? नेपाली राजनीतिमा अनुहार बदल्नु परिवर्तनको प्रमाण कदापि होइन ।

केवल एउटा दृश्यको मात्र परिवर्तन हो । जनता बालेको सत्ता भोगको रोगबाट ग्रसित देखिन्छन् । यसले नयाँ अनुहारको आवरणमा पुरानै पार्टीको राजनीतिक अवस्थालाई जनशास्त्रीय रूपमा अझ बलियो गरी समेट्ने छ । यस्तो प्रवृत्तिले नेतृत्व स्खलनको गति झन् तीव्र पार्नेछ । केवल पात्र फेरिने छ । ओरालोमा ब्रेकफेल भएको बस झैँ दुर्घटनामा परि नयाँ भन्ने दलहरू पनि पुरानै दुर्गतिको खोँचमा पुग्नेछन् । नयाँ राजनीतिक नेतृत्व पनि पुरानै सामाजिक उत्पादन प्रणालीका व्यक्ति हुन् ।

समाजको शक्ति सम्बन्ध, वर्ग सम्बन्ध, सामाजिक अन्तर्विरोध, वर्गसंरचना जस्ता महत्त्वपूर्ण विषय नबुझीकन गरिने राजनीति परम्परागत खच्चडमा चढेर पुरानै संस्कार, पुरानै महत्वकांक्षाको नयाँ भारी बोकेर समृद्धि र सुशासनको शिखरमा होइन आधुनिक पतनको खाल्टोमा जाकिने छ । झापा ५ का जनतामा कतिको चेतना आउँछ त्यो निर्वाचनपछि मूल्याङ्कन हुनेछ ।

सुकुम्वासी र गरिखाने वर्गको उठिबास लगाउने जनतालाई दास र समर्थकलाई रैती झैँ व्यवहार गर्ने परिवर्तनको नाममा सामन्ती शासन व्यवस्थाको पक्षपोषण गर्ने र कम्युनिस्टको नाम जनतालाई झुक्क्याएर लामो शासन सत्ता हडप्न सफल भएका दुवै अतिवादीको अनुहार संसदभवनभित्र जनताले देख्न नपरोस् ।

नयाँ राजनीतिक नेतृत्वको दोष लुकाउने र बचाउने धामी झाँक्रीको कुटी नबनोस् । फागुन २१ को निर्वाचनमा आफ्नो मत जाहेर गर्दै गर्दा भाद्र २३ अघि र २४ वरिपरिको अवस्था र स्वतःस्फूर्त नवयुवाहरूको विद्रोह भुल्नु हुँदैन परम्परागत राजनीति र प्रणालीप्रति उठेको आवाज भुल्नु हुँदैन त्यो विद्रोहमा भएको गम्भीर, अप्रिय र अकल्पनीय घटनालाई सायद कसैले भुल्ने छैन । विद्रोह गर्न प्रेरित गर्ने, विद्रोह भड्काउने र विद्रोह माथि दमन गर्ने अतिवादीहरू सायद कसैले पनि भुल्ने छैनन् ।

यी सबैखाले अतिवादको निष्पक्ष जाँचबुझ अवश्य हुनेछ तर विडम्बनाका साथ भन्नु पर्छ सरकार यो न्यायिक छानबिन निर्वाचन अघि सकाउने पक्षमा छैन । त्यसले के पुष्टि गर्दछ भने भाद्र २३ अघि र भाद्रको २३–२४ को समग्र घटना क्रममा तत्कालीन सत्ता पक्ष र कुनै अमुक मुकुटधारी दोषी देखिने सम्भावना प्रबल छ । चुनाव पछि यो छानबिन नयाँ सरकारले निष्पक्ष गर्ला भन्ने शंका उत्तिकै बढेर गएको देखिन्छ । दुर्घटना रोक्न नसक्नु र जबाफदेहिता हुन नसक्नु दुवै आपराधिक कार्य हुन् । जनताको आँखाले धोका नखाओस् सबैमा शुभकामना !

प्रतिक्रिया दिनुहोस्