Logo
Logo

तर्कको अन्त्य र ‘गाली ग्याङ’को उदय


उमेश बन्जाडे

0
Shares


आजको हाम्रो समाजमा एउटा खतरनाक मनोविज्ञान विकास हुँदै गएको छ, जसले हाम्रो भविष्यमाथि नै गम्भीर चिन्ता उत्पन्न गरेको छ । जोकोहीलाई पनि गाली गर्नु साहसजस्तै र सभ्य भाषा प्रयोग गर्नु कमजोर भएजस्तै मानसिकताको विकासले साँच्चिकै हामी कतातिर जान खोज्दै छौँ ? भन्ने विडम्बनापूर्ण स्थित देखापरेको छ । एकातिर सामाजिक सञ्जालमा भाइरल हुनकै लागि सुन्नै नसकिने अपशब्दहरू आवश्यकजस्तै बनाइएको छ भने अर्कोतिर सभ्य र संयमित अभिव्यक्ति ओझेलमा परिरहेको छ । यस्तो प्रवृत्तिले युवापुस्ताको सोचलाई नै विकृत बनाइरहेको छ ।

सम्मानजनक असहमति कुनै मूल्यवान कुरा होइन भन्ने भ्रमले उनीहरूको मस्तिष्कमा घर बनाइरहेको छ । अरूका कुरा छाडौँ, कुनै सामान्य नारी वा पुरुषले सामाजिक सञ्जालमा राज्यसत्ता अथवा कुनै प्रभावशाली व्यक्ति विशेषमाथि सामान्य आलोचना गरे भने, उनीहरू क्षणभरमै अपराधीजस्तो व्यवहार भोग्न बाध्य हुन्छन् । अझ नारीहरूमाथि यस्तो घृणित व्यवहार बढी केन्द्रित देखिन्छ । विचारको सार बुझ्ने प्रयास नगरी, तर्कको जवाफ तर्कले दिने संस्कार विकास नगरी, सिँधै उनीहरूको चरित्रमाथि प्रहार गर्ने प्रवृत्तिले हाम्रो सामाजिक संरचनाको कुरूप अनुहार बनेको छ ।

यो केवल शब्दको पतन होइन, यो हाम्रो सामूहिक चेतनाको खस्किँदो स्तरको भयावह संकेत हो । जहाँ कुनै समय विचारहरूको टकरावबाट सत्य खोजिन्थ्यो, त्यही ठाउँमा आज अपशब्दको धुवाँले तर्कलाई निलिरहेको छ र असहमति व्यक्त गर्ने संस्कारलाई भीडको क्रोधले च्यातिरहेको छ । राजनीति, जसलाई समाजको बौद्धिक मेरुदण्ड मानिन्थ्यो, आज गालीको अखडाजस्तो बन्दै गएको छ, जहाँ जित्ने आधार न विचार हुन्छ, न तर्क, बरु कसले कति तल झरेर प्रहार गर्न सक्छ भन्ने मान्यतालाई नै उत्कृष्ट जस्तो ठान्ने प्रवृत्ति बढ्दै गएको छ ।

यो प्रवृत्ति कुनै एक व्यक्तिमा सीमित छैन । आज पत्रकार, लेखक, विश्लेषक, यहाँसम्मकि सामान्य नागरिक पनि यसको सिकार भइरहेका छन् । विशेषगरी नयाँ राजनीतिक शक्तिका समर्थकहरूमा देखिएको असहिष्णुता झनै चिन्ताजनक छ । परिवर्तनको नारा बोकेर सत्तामा आएका ती शक्तिहरूका केही समर्थकहरू व्यवहारमा भने अझै उग्र, अशिष्ट र असहिष्णु देखिन्छन् । उनीहरू आलोचनालाई सुझावको रूपमा लिन तयार छैनन्, बरु तुरुन्तै ‘शत्रु’को रूपमा व्याख्या गर्छन् । यस्तो व्यवहारले पतन निम्त्याउँछ भन्ने कुरा उनीहरूले हेक्का राखेका छैनन् ।

यो केवल आलोचनाको प्रतिक्रिया होइन, यो सङ्गठित रूपमा सञ्चालन हुने ‘चरित्र हत्या’ अभियान हो । सामाजिक सञ्जालमा सक्रिय केही समूहहरू, जसलाई सामान्य भाषामा ‘गाली ग्याङ’ भन्न सकिन्छ, उनीहरूले कुनै महिलाले आफ्नो धारणा राख्नेबित्तिकै, उनको विगत खोतल्न थाल्छन्, निजी तस्बिरहरू खोज्छन्, परिवारका सदस्यहरूको पहिचान सार्वजनिक गर्छन् र अन्ततः एउटा व्यक्ति होइन, एउटा परिवार नै सामाजिक रूपमा अपमानित हुने अवस्था सिर्जना गरिदिन्छन् ।

अझ गम्भीर कुरा के हो भने, यो भाषिक हिंसा बिस्तारै सामान्य बन्दै गएको छ । मानिसहरू यसलाई ठिकै हो भनेर स्वीकार गर्न थालेका छन् । यद्यपि यो जुन कुनै समाजका लागि अत्यन्त खतरनाक संकेत हो । जब गलत कुरा सामान्य बन्छ, तब त्यसलाई सुधार्ने चेतना नै हराउँछ । आज सामाजिक सञ्जालमा देखिने यो आक्रामक भाषा भोलिको वास्तविक हिंसाको आधार बन्न सक्छ, किनकि शब्दले नै व्यवहारको दिशा तय गर्छ ।

राजनीतिक दलहरू पनि यसबाट पूर्णतः अछुतो छैनन् । कतिपयले त अनौपचारिक रूपमा आफ्ना ट्रोल समूह नै तयार गरेका छन्, जसको काम आलोचकलाई गाली गरेर चुप लगाउनु हो । यस्तो प्रवृत्तिले स्वस्थ बहसलाई समाप्त गर्छ, सत्यलाई दबाउँछ र अन्ततः लोकतन्त्रलाई खोक्रो बनाउँछ । लोकतन्त्रमा असहमति केवल अधिकार होइन, आवश्यक तत्व हो ।

आलोचनाबाटै सुधार सम्भव हुन्छ । तर जब आलोचनालाई गालीले प्रतिस्थापन गर्छ, तब गलत निर्णयहरूबिना चुनौती अघि बढ्छन् र त्यसको मूल्य जनताले चुकाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ । आज समाज ‘कि त हामी– कि त तिमी’को ध्रुवीकरणमा फस्दै गएको छ, जहाँ बीचको कुनै ठाउँ छैन । या त तिमी हाम्रो पक्षमा छौँ, या तिमी शत्रु हौ भन्ने सोचले समाजलाई टुक्र्याउँछ, सम्बन्धहरू बिगार्छ र दीर्घकालीन रूपमा राष्ट्रिय एकतालाई कमजोर बनाउँछ ।

नेपालमा भएका धेरै उदाहरणहरूले देखाउँछन् कि पत्रकार, अधिकारकर्मी वा सामाजिक अभियन्ताहरूले जब भ्रष्टाचार, सत्ता दुरुपयोग वा लैङ्गिक विभेदजस्ता संवेदनशील विषयमा आवाज उठाएका छन्, उनीहरूले व्यक्तिगत आक्षेप, यौनजन्य गाली तथा सामाजिक बहिष्कारको धम्की सामना गर्नुपरेको छ । कतिपय अवस्थामा त उनीहरूको परिवारसम्मलाई लक्षित गरी धम्की दिने, कार्यस्थलमा दबाब सिर्जना गर्नेजस्ता दुःखद घटनाहरू पनि सार्वजनिक भएका छन् ।

यस परिस्थितिमा सबैभन्दा जरुरी कुरा भनेको आत्मसमीक्षाको हो । हामीले आफैँलाई सोध्नुपर्छ, के हामीले विचारभन्दा गाली शक्तिशाली हुने समाज निर्माण गर्न खोजेका हौँ ? यदि होइन भने परिवर्तनको सुरुवात पनि व्यक्तिगत तहबाटै गर्नुपर्छ । असहमत हुँदा पनि सभ्य रहनु, आलोचना गर्दा पनि मर्यादा नछोड्नु र अरूलाई पनि त्यही संस्कारतर्फ प्रेरित गर्नु साँचो राजनीतिक चेतना हो । लोकतन्त्र केवल निर्वाचनको प्रक्रिया होइन, यो व्यवहारको संस्कृति हो ।

यदि हामीले संवादको सभ्यता जोगाउन सकेनौँ भने लोकतन्त्रको खोलमात्र बाँकी रहनेछ, आत्मा हराउनेछ । त्यसैले आजको सबैभन्दा ठूलो संघर्ष सत्ता प्राप्तिको होइन, सभ्यताको पुनस्र्थापनाको हुनुपर्छ । जहाँ गाली होइन, तर्क बोल्छ, जहाँ घृणा होइन, सम्मान बाँच्दछ र जहाँ असहमति पनि एउटा सुन्दर सम्भावनाको रूपमा स्वीकार गरिन्छ ।

गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन होइन, यो सोच र व्यवहारको पनि परिवर्तन हो, जहाँ हरेक आवाजलाई स्थान हुन्छ, जहाँ बहस हुन्छ, प्रतिवाद हुन्छ, तर सम्मानको सीमा कहिल्यै नाघिँदैन । परन्तु आजको यथार्थ उल्टो छ, यहाँ सामाजिक सञ्जालको भीड मानसिकताले मानिसलाई जिम्मेवारीविहीन बनाएको छ ।

गुमनाम पहिचानको आडमा जोकोहीलाई जे पनि भन्न पाइने जस्तो वातावरण बनेको छ । कुनै पनि विषयमा फरकमत राख्नेबित्तिकै व्यक्ति ‘टार्गेट’ बन्छ, र त्यसपछि सुरु हुन्छ गालीको बाढी । न त तथ्यको खोजी, न त तर्कको आदानप्रदान, केवल चरित्रहत्या ।

सामाजिक सञ्जालका एल्गोरिदमहरूले पनि विवाद र नकारात्मकतालाई छिटो फैलाउने भएकाले यस्ता गाली–गलौजका सामग्रीहरू तीव्रगतिमा प्रसारित हुन्छन् । यसले गर्दा एउटा सानो अभिव्यक्ति पनि विशाल विवादमा रूपान्तरित हुन्छ र भीड मनोविज्ञानले व्यक्तिको अस्तित्वमाथि नै हमला गर्न थाल्छ ।

समग्रमा एउटा ट्वीट, एउटा स्टाटस वा एउटा भिडियोका आधारमा कसैको सम्पूर्ण जीवनलाई नाप्ने र त्यसैका आधारमा चरित्रको फैसला सुनाउने प्रवृत्ति आज अत्यन्त खतरनाक बन्दै गएको छ ।

कसैको विचारसँग असहमत हुनु स्वाभाविक हो, तर त्यसको जवाफ तथ्य र तर्कले दिनुपर्छ, व्यक्तिगत गाली र चरित्र हत्या गरेर होइन । विशेषतः युवापुस्तामा डिजिटल साक्षरता र सामाजिक नैतिकताको शिक्षा आवश्यक छ । कानुनी रूपमा पनि यस्ता साइबर दुव्र्यवहारलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने आवश्यकता छ, ताकि पीडितले न्यायको अनुभूति गर्न सकुन् ।
एउटा सभ्य समाजको पहिचान भनेको त्यहाँ कमजोरलाई कति संरक्षण मिल्छ र असहमतिलाई कति सम्मान गरिन्छ भन्ने व्यबहारबाटै थाहा लाग्छ । यदि एउटा नेपाली नागरिकले बोलेको एउटा वाक्यकै कारण उसको सम्पूर्ण अस्तित्वमाथि हमला हुन्छ भने, त्यो केवल उसको समस्या होइन, त्यो हाम्रो सामूहिक असफलताको परिणाम हो ।

लमही दाङ, हाल ः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्