Logo
Logo

राष्ट्रवादी छवि र छिमेकीसँगको कूटनीतिक अग्निपरीक्षा


डा. दीपेश केसी

945
Shares

बालेन्द्र साह प्रधानमन्त्री भएकोमा निर्वासित तिब्बती सरकारका प्रधानमन्त्री सिकयोङ पेन्पा छिरिङबाट बधाई आयो । नेपालका प्रधानमन्त्रीहरुमध्ये तिब्बती प्रधानमन्त्रीबाट बधाई पाउने पहिलो बनिन् सुशीला कार्की र दोस्रो बालेन ।

तिब्बती धार्मिक नेता दलाई लामाको विश्वासपात्र हुन् छिरिङ । चीनको दबाबका कारण सन् १९७४ मा खम्पा विद्रोह दबाएको कारण दलाई लामा नेपालप्रति सकारात्मक छैनन् । आफ्ना प्रबचनहरुमा बुद्ध भारतमा जन्मिएको भन्छन् । दलाई लामाले बुद्धलाई महान् भारतीय गुरु भनेका थिए । लामाले बुद्धको जन्मस्थानबारे भ्रम फैलाएको भनी धर्मोदय सभाले सन् २०१७ मा विज्ञप्ति जारी गरी खण्डनै गरेको थियो ।

अर्को रोचक तथ्य, बालेन जुन दलबाट चुनाव लडेर प्रधानमन्त्री बने त्यो दलका सभापति रवि लामिछाने ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ शीर्षकको टेलिभिजन शो लगातार ६२ घण्टा १२ मिनेट चलाएर गिनिज बुकमा नाम लेखाउन मात्र सफल भएनन् चर्चाको शिखरमा पुगे ।

टेलिभिजन शोमार्फत् लोकप्रिय बनेर राजनीतिमा होमिएका रविले राष्ट्रिय स्वतन्त्र पार्टी गठनको ६ महिनामै संसद्मा चौथो दल बनाए । जेनजी विद्रोहको अघोषित नेतृत्व लिएर केपी शर्मा ओलीको सत्ता मात्र ढालेनन् गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपालाई दुई तिहाईको नजिक पु¥याए ।

एकातर्फ रविले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने टेलिभिजन शोमार्फत् उचाईको भ¥याङ बनाउन सके । अर्कोतर्फ, उनकै दलबाट प्रधानमन्त्री बनेका बालेनले बुद्ध भारतमा जन्मिएको भन्ने दलाई लामाका प्रधानमन्त्री छिरिङबाट बधाई समेत पाए । यो घटनाले पक्कै पनि छिमेकी चीनलाई झस्काएको हुनुपर्छ । त्यसमाथि जेनजी विद्रोहमा तिब्बती ओरिजिनल ब्लड (टीओबी) लेखिएको पोशाकमा उत्रिएकाको सहभागिता चासोमा परेको छ । विपक्षी एमालेलगायतले टीओबीको भूमिकाबारे खुलेरै प्रश्न उठाइसकेका छन् ।

कालो चश्मा कहिले नछाड्ने बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको मेयर हुँदा छिमेकी भारत र चीन दुवैप्रति कठोर नीति देखाएका थिए । सन् २०२३ मा भारतको नयाँ संसद भवनमा ‘अखण्ड भारत’ भनिएको सांस्कृतिक नक्शा अर्थात् भारतवर्षको नक्शा राखिंदा उनले आफ्नो कार्यकक्षको पछाडि ग्रेटर नेपालको नक्शा राखे । त्यो नक्शालाई फणिन्द्र नेपालले मुद्दा नै बनाएर अभियान चलाउने गरेका छन् र भारतको विरोधलाई आफ्नो मुख्य उद्देश्य बनाएका छन् ।

ग्रेटर नेपालको नक्शाले बालेन्द्रलाई चुच्चे नक्शा ल्याउने केपी शर्मा ओलीभन्दा कैंयन गुणा बढी राष्ट्रवादी देखाइदियो । भारतको विरोध गर्नुलाई राष्ट्रवादी मान्नेहरुमाझ बालेन झन् लोकप्रिय बने । २०७९ सालमा रिलिज भएको हिन्दी चलचित्र अदिपुरुषमा सीतालाई ‘भारतीय चेली’ भनिएकोमा बालेनले सबै हिन्दी चलचित्रलाई काठमाडौ महानगरपालिकाभरी नै प्रतिबन्ध लगाइदिएका थिए ।

उनको यो कदमलाई पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरी फुकुवा गर्न लगाएपनि चुनौती नै दिएका थिए । एउटा हिन्दी चलचित्रले गरेको गल्तीको भारी उनले सबै हिन्दी फिल्म इन्ड्रस्ट्रिजलाई नै बोकाएका थिए । यो विषयलाई भारतको मूलधारका मिडियाले उनी प्रधानमन्त्री हुनै लाग्दा प्राथमिकताका साथ उठाएका थिए ।

चिनियाँ राजदूतावासले २०८१ सालमा ठमेलमा एक महिना लामो चिनियाँ नयाँ वर्ष मनाउन विविध कार्यक्रम अनुमति माग्दा तत्कालीन मेयर बालेन साहबाट स्वीकृति दिइएन । काठमाडौं महानगरपालिकाले पर्यटकको केन्द्रमा ट्राफिक समस्या र बन्दोबस्तीको चुनौती हुने कारण देखाइदियो । संयुक्त कार्यक्रम गर्ने चीनको प्रस्तावलाई बालेनले अस्वीकार गरिदिए । मेयर बनेकै वर्ष २०७९ सालमा बालेनलाई चीनले भ्रमणको निम्तो दियो । तय भइसकेको भ्रमण रद्द गरेर बालेनले कारण देखाए, नेपालको चुच्चे नक्शालाई चीनले मान्यता नदिनु ।

उनले सामाजिक सञ्जालमै लेखेर चीनले नेपालको भूभागलाई भारतको भनी देखाएकाले पाँच दिने भ्रमण नैतिकताका आधारमा अस्वीकार गरेको बताइदिए । उनले मेयर हुँदा नै भारत र चीनको नामै किटेर अपशब्द प्रयोग गरी गाली गरेका थिए जुन केही मिनेटमै मेटाइदिएका थिए । यसबाट पनि बालेन दुवै छिमेकीप्रति सकारात्मक थिएनन् भन्ने बुझ्न सकिन्छ ।

प्रधानमन्त्री भएपछि उनको सोच र नीतिमा के कति परिवर्तन आयो व्यवहारबाट देखिने नै छ । विगतमा चुच्चे नक्शाको कारण देखाएर छिमेकी चीन भ्रमण नै नगरेका बालेनले त्यही नक्शाभित्र बनेको लिपुलेक पास मार्गबाट भारत र चीनबीच २०८३ जेठ १ बाट व्यापार सुरु हुने घोषणा भइसकेको विषयमा चुपचाप छन् । यसबाट छिमेक विरोधी राष्ट्रवादको टाँगा चढेर सत्तामा उक्लने विगतका कतिपय प्रधानमन्त्रीहरुको रणनीतिको लगाम उनले पनि समाएका हुन् कि भन्ने आशंका गर्ने ठाउँ छ । ‘भारतसँग सुरुङ युद्ध’ गर्छु भन्ने प्रचण्ड हुन् या अयोध्या नेपालमा पर्छ र राम नेपालमा जन्मिएका हुन् भन्ने ओली राष्ट्रवादी दर्ज भई सत्तामा पुग्ने मत बढाउन सफल भएकै थिए ।

छिमेक सम्बन्ध के होला ?
नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले देशलाई दुई ढुङ्गाबीचको तरुल भन्दै भूराजनीतिक संवेदनशीलता र चुनौतीलाई स्पष्ट पारिदिएका थिए । योगी नरहरिनाथले हिन्दुत्व विचारको दृष्टिकोणबाट नेपालको छिमेकसँगको सम्बन्ध कस्तो हुनुपर्छ भनी प्रष्ट पारेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले के नेपाल सानो छ निबन्धमार्फत् नेपालको भूराजनीतिक महत्वलाई उजागर गरेका छन् ।

इतिहासकार बाबुराम आचार्यले नेपालको राजनीतिक घटनाक्रममा छिमेकसँगको सम्बन्धले पारेको प्रत्यक्ष अप्रत्यक्ष असरलाई गहिरो अध्ययनबाट खुलस्त पारिदिएका छन् । दक्षिणको बेलायती साम्राज्य र उत्तरको चिनियाँ साम्राज्यको चासो र नेपालमा प्रभाव बनाउने प्रतिस्पर्धाले सत्ता उलटपुलटका धेरै घटनाहरू इतिहासमा उल्लेखित छन् । जतिबेला उत्तरको चीन आजभन्दा निकै कमजोर थियो । दक्षिणको भारत त बेलायतको उपनिवेश थियो जसको कहिले सूर्यास्त नहुने साम्राज्य खडा थियो ।

अहिले २१औँ शताब्दीमा वर्तमानमा चीन विश्वकै दोस्रो धनी देश बनिसकेको छ । उसको सैन्य खर्च अमेरिकापछि दोस्रो स्थानमा छ । भारत विश्वकै चौथो धनी देश बनिसकेको छ । उसको सैन्य खर्च पाँचौँ ठूलो छ । विश्वकै ठूलो जनसंख्या भएका भारत र चीनको उत्पादक मात्र होइनन् शक्तिशाली देशहरूका बजार पनि हुन् । उनीहरू एक अर्काका प्रतिस्पर्धी हुँदै हुन् अन्य शक्तिशाली देशहरूका दुवै प्रतिस्पर्धी पनि हुन् । यस कारण चीन र भारतका छिमेकी देशहरूमा प्रतिस्पर्धी देशहरूले चासो बढाइरहेका छन् । नेपालमा विना स्वार्थ तेस्रो देशहरूबाट लगानी आइरहेको छैन, अनुदानका ओइरोको निहित स्वार्थ छर्लङ्ग छ । त्यस्ता लगानीमा भारत र चीनको चासो बढ्दै गएको छ ।

यहाँको सत्ताले लिने सुरक्षा सम्बन्धी बाह्य देशहरूसँगको सम्झौता, समझदारी या गतिविधिप्रति चासो लिने गरेको पाइन्छ । चीनले तिब्बती शरणार्थीसँग जोडिएर हुने तेस्रो देशबाट हुने भ्रमणबारे चासो लिने गरेको देखिन्छ । भारतले सीमा क्षेत्रमा हुने विभिन्न देशको लगानी र गतिविधिमा सतर्कता अपनाउने गरेको छ । यो संवेदनशीलतालाई बेवास्ता गरिनु छिमेकको अहित त छँदै छ नेपाललाई नै सुरक्षा चुनौती बढ्ने घटनाक्रम विकास हुने खतरा रहन्छ । यस कारण अपरिपक्व र लहडका भरमा चालिने कदम क्षणभरका लागि लोकप्रिय बन्न सक्छ तर देशको दूरगामी हितमा हुँदैन ।

सम्बन्धको साख
खाडी युद्ध भइरहँदा एसियाका सबैजसो देश ऊर्जा संकटले पिरोलिएका छन् । अधिकांश देशहरूमा यातायात सेवा नै लगभग बन्द भइसकेको छ । इन्धनको मूल्य आकासिएर चार गुणा नाघिसकेको छ । तर, नेपाल अझैसम्म ठूलो समस्यामा परिसकेको छैन । यसको कारण हो भारत । नेपालले भारतबाट इन्धन आयात गर्दछ ।

नरेन्द्र मोदीको चार्तुयपूर्ण कूटनीतिले इरानले स्ट्रेट अफ हर्मुज भारतका लागि खुल्ला गरिदिएको छ । रुसले पनि सहुलियत मूल्यमा भारतलाई तेल बेच्दै आएको छ । यसको लाभ नेपालले लिन सकेको छ । चीन र भारतका उत्पादनहरू विश्वमै सस्ता र लोकप्रिय मानिन्छन् । त्यसको लाभ पनि नेपालले लिइरहेको छ । जनस्तरमा नेपालीहरूको भारतीयहरूसँग नजिकको सम्बन्ध छ । चीनसँगको पहुँच नेपालका व्यापारीहरूलाई राम्रो छ । जसका कारण आर्थिक कारोबारहरू मौलाएको छ । यो सम्बन्धको साखलाई बचाइराख्ने चुनौती बालेन सरकारलाई छ ।

नेपालले छिमेक विरोधी गतिविधि नेपाली भूमिबाट हुन नदिने प्रतिविद्धतालाई कार्यान्वयन गर्दै आएको छ । तैपनि, नेपाली भूमिबाट छद्म तरिकाले दुई छिमेकीलाई चुनौती दिने गतिविधि गर्ने समूहहरू सक्रिय हुने गरेका छन् । नेपालमा घोषित या अघोषित सैन्य गतिविधि चलाएर भारत र चीन दुवैलाई चुनौती बढाएर निहित स्वार्थ पूरा गर्न खोज्ने शक्तिहरूको रणनीति उत्तिकै खतरनाक छन् । चिकेन नेक भनिने सिलगुढी कोरिडोर क्षेत्र होस् या मधेशका कतिपय क्षेत्रमा सक्रियता बढाएर भारतलाई सुरक्षा चुनौती बढाउने गतिविधि हुने गरेको तथ्यहरू उजागर भएका छन् ।

चीनलाई चुनौती दिने गरी हुने गरेका स्वतन्त्र तिब्बतका गतिविधि नेपालका लागि पनि सुरक्षा चुनौती हुन् । यी गतिविधिले प्रोत्साहन पाउनु नेपालको हितमा छैन । दुवै छिमेकप्रति कठोर नीति लिएर पपुलर बनेका बालेनले प्रधानमन्त्री बनेपछि यसको प्रत्याभूति व्यवहारमा दिन सक्नुपर्छ । अन्यथा, उनीमाथि लाग्नेगरेको जेलेन्स्कीको आरोपले बल पाउनेछ । जुन नेपालका लागि घातक हुन्छ । इतिहास साक्षी छ कि दार्जिलिङ सिक्किमको हिस्सा हो भनी सन् १९६७ मा चर्चित लेख लेख्ने अमेरिकामा जन्मिएकी सिक्किमकी रानी होप कुकका कारण उसको स्वतन्त्रता नै समाप्त भयो ।

प्रतिक्रिया दिनुहोस्