Logo
Logo

७७ वर्षको कम्युनिस्ट आन्दोलन र अबको बाटो


प्रेमलकुमार खनाल

1.5k
Shares

नेपालमा कम्युनिस्ट आन्दोलनको संगठित रूपमा थालनी भएको ७६ वर्ष पूरा भई ७७औँ वर्षमा प्रवेश गरेको छ । कमरेड पुष्पलालको अगुवाइमा वि.सं. २००६ वैशाख १० गते (सन् १९४९ अप्रिल २२), लेनिनको जन्मजयन्तीका दिन भारतको कलकत्ता स्थित श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । पार्टी स्थापना गर्दा महासचिवमा पुष्पलाल तथा सदस्यहरूमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी रहेका थिए ।

पार्टी स्थापनाको दुई दिनपछि, २४ अप्रिलमै नेपाली जनताका नाममा अपिल (पर्चा) प्रकाशित गरियो । उक्त पर्चामा निरंकुश शासनको अन्त्य गर्ने, जनताको पूर्ण नागरिक स्वतन्त्रताको प्रत्याभूति गर्ने, किसान तथा मजदुरको अधिकार सुनिश्चित गर्दै उनीहरूको सरकार गठन गर्ने, र सामन्तवाद तथा साम्राज्यवादविरुद्ध नवजनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले कम्युनिस्ट पार्टी स्थापना गरिएको उल्लेख गरिएको थियो ।

पार्टी स्थापनाको चार महिनापछि वि.सं. २००६ भदौ ३० (१५ सेप्टेम्बर १९४९)मा जारी पहिलो घोषणापत्रमा नेपाली क्रान्तिको भावी दिशा १२ बुँदामा प्रस्तुत गरिएको थियो । जसमा सामन्तवाद तथा साम्राज्यवादविरुद्ध नयाँ जनवादी क्रान्ति, किसान–मजदुर नेतृत्वको निर्वाचित सरकार, संविधानसभाबाट संविधान निर्माण, क्रान्तिकारी भूमिसुधार, श्रमिक तथा किसान अधिकार सुनिश्चितता, स्वाधीन अर्थतन्त्र निर्माण तथा सर्वसुलभ शिक्षाजस्ता आधारभूत विषय समेटिएका थिए ।

कमरेड पुष्पलालले अगाडि सारेको विचारअनुसार वि.सं. २००६ देखि सुरु भएको सामन्तवादविरोधी आन्दोलन २०६२÷०६३ मा आइपुग्दा शान्तिपूर्ण जनआन्दोलनको सफलतासँगै सामन्तवाद ढल्यो । अर्थात् सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्र घोषणा भयो। संविधानसभा गठन भयो र सात वर्षपछि वि.सं. २०७२ मा संविधान जारी भयो । उक्त संविधानले मुलुकलाई समाजवादको आधार निर्माणतर्फ अग्रसर गराउने दिशा दिएको छ । यस अर्थमा पुष्पलालले अघि सारेका गणतन्त्र र संविधानसभामार्फत संविधान निर्माणका नारा सफल भएका छन् ।

पुष्पलालले पार्टी स्थापनाकै क्रममा जनवादी गणतन्त्र र वैज्ञानिक समाजवादलाई कम्युनिस्ट पार्टीको लक्ष्यका रूपमा उल्लेख गरेका थिए । २०६२÷०६३ को जनआन्दोलन र २०७२ को संविधानले समाजवादतर्फ उन्मुख हुने आधार तयार गरेको छ । अब संविधानले निर्देशित मार्गअनुसार समाजवादी क्रान्ति सम्पन्न गरी समाजवाद स्थापना गर्ने ऐतिहासिक जिम्मेवारी वामपन्थी शक्तिहरूको काँधमा आएको छ ।

पुष्पलालद्वारा स्थापित नेपाल कम्युनिस्ट पार्टी दोस्रो महाधिवेशनपछि विभाजन हुँदै अघि बढ्यो । २०३० को दशकमा विभिन्न धारमा पार्टीहरू गठन र पुनर्गठन भए । को के, माले, माक्र्सवादी, एमाले, न्युक्लियस, चौथो महाधिवेशन, मशाल हुँदै माओवादी केन्द्रसम्म विभिन्न धारहरू विकसित भए । तर २०८० को दशकमा आइपुग्दा पनि कम्युनिस्ट आन्दोलन पूर्ण रूपमा एकीकृत हुन सकेको छैन ।

विभाजित अवस्थामा रहे पनि नेपालका कम्युनिस्ट पार्टीहरूले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध राष्ट्रियता, जनवाद र जनजीविकाका मुद्दामा महत्वपूर्ण भूमिका निर्वाह गरे । २०४६ को जनआन्दोलन र २०६२÷०६३ को आन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेले ।

संविधानसभामा वामपन्थीहरूको महत्वपूर्ण उपस्थिति रहँदै समाजवाद उन्मुख संविधान निर्माणमा योगदान पुगेको छ । एक समय झण्डै ६० प्रतिशत जनमत वामपन्थीहरूको पक्षमा थियो र सरकार पनि गठन भयो । तर सरकारमा पुगेपछि वामपन्थी एजेन्डा कार्यान्वयन नगर्दा आन्दोलन कमजोर भएको छ । हाल प्रतिनिधित्व घटेर करिब २२ प्रतिशतमा सीमित भएको छ ।

वामपन्थीहरू संसदीय र गैर–संसदीय दुवै क्षेत्रमा सक्रिय भए पनि उनीहरूको प्रभाव किन घट्यो भन्ने प्रश्न गम्भीर छ । यसको प्रमुख कारण वामपन्थी एजेन्डा लागू नगरी नवउदारवादी नीतिहरू अपनाउनु हो । फलस्वरूप शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता आधारभूत क्षेत्रमा अपेक्षित सुधार हुन सकेन । संगठनात्मक कमजोरी, वर्गीय दृष्टिकोणको ह्रास, र गठबन्धन–केन्द्रित राजनीतिले पनि जनमत घटाएको छ ।

दलाल पुँजीवादको नियन्त्रण, राष्ट्रिय पुँजी निर्माण, औद्योगिकीकरण, आत्मनिर्भर अर्थतन्त्र, वैज्ञानिक भूमिसुधार, कृषि आधुनिकीकरण, राष्ट्रिय उद्योग विकास, तथा सार्वजनिक स्रोतको संरक्षण र सदुपयोग अहिलेका प्रमुख कार्यभार हुन् । साथै, सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय स्वाधीनताको रक्षा र समान सन्धिहरूको पुनरावलोकन आवश्यक छ ।

माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने सबै कम्युनिस्ट शक्तिहरूबीच विभाजनको औचित्य छैन। साझा नीति, सिद्धान्त र कार्यक्रमका आधारमा एकता सम्भव छ । तर नेतृत्व विवाद, डग्माटिज्म र उग्र वामपन्थी सोचले एकतामा बाधा पु¥याएको छ ।

नीति, सिद्धान्त र कार्यक्रमको आधारमा एकता सम्भव छ । नेतृत्वको प्रश्न समाधान गर्न पहिलो पुस्ताले मार्गदर्शक भूमिका लिने र दोस्रो–तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिने मोडेल उपयुक्त हुन सक्छ । यसले आन्दोलनमा नयाँ ऊर्जा ल्याउनेछ ।

नेतृत्व हस्तान्तरणमा हिचकिचाहटले समस्या सिर्जना गरेको छ। नयाँ पुस्ताले पहल लिएर नेतृत्व क्षमता देखाउन सके कम्युनिस्ट आन्दोलनमा एकता र पुनर्जीवन सम्भव छ।

७७औँ स्थापना दिवसको अवसरमा नेपाली कम्युनिस्ट शक्तिहरूले एकता, सहकार्य र समाजवादी कार्यक्रम निर्माणमा ध्यान दिन आवश्यक छ । एकताबिना वामपन्थी शक्ति कमजोर भई बुर्जुवा शक्तिहरू बलियो बन्नेछन् । त्यसैले एकीकृत कम्युनिस्ट आन्दोलनमार्फत चुनावी सफलता हासिल गर्दै समाजवादी रूपान्तरणको दिशामा अघि बढ्नु आजको आवश्यकता हो ।

नेपालको कम्युनिस्ट आन्दोलनले सामन्तवादको अन्त्य गर्ने ऐतिहासिक कार्यभार पूरा गरे पनि समाजवादको स्थापना गर्ने लक्ष्यमा पुग्न ठूलो वैचारिक र संगठनात्मक पुनर्संरचना आवश्यक छ । अब, गुमेको जनविश्वास फर्काउन सत्ताको राजनीतिभन्दा माथि उठेर जनताका आधारभूत मुद्दा र वृहत्तर एकतामा केन्द्रित हुनैपर्छ ।

लेखक नेपाली कम्युनिष्ट पार्टीका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्