Logo
Logo

वाम एकता होइन, व्यवहारमै रूपान्तरण जरुरी


शरद् रिजाल

1.1k
Shares

पछिल्लो समय नेपाली राजनीतिमा वाम एकताको बहस फेरि सुरु भएको छ । गत फागुन २१ को निर्वाचनमा कम्युनिष्ट पार्टीहरूको अनपेक्षित मत परिणाम आएपछि वाम एकताको बहस सतहमा आएर यसबारे अनेकौँ प्रयत्न सुरु भएको चर्चा चुलिएको छ ।

मुलुकको वाम आन्दोलन यतिबेला रक्षात्मक अवस्थामा पुगेको छ । पञ्चायतकालीन अवस्थामा भन्दा कठिन परिस्थितिमा पुगेको वाम आन्दोलनमा व्याप्त अहिलेको संकट पार्टी एकताले मात्रै किमार्थ हल गर्न सक्दैन । यतिबेला वाम आन्दोलन कमजोर बन्नुको मुख्य कारण जनताप्रतिको विश्वसनीयता गुमाएर हो । एजेन्डा र त्यसको कार्यान्वयनबीचको विरोधाभाषले जनमानसमा सिर्जित अविश्वासकै उपज वाम जनमत कमजोर बन्दै गएको हो ।

पटक पटक सत्तामा जाने तर जनताका मुद्दाबाट विमुख हुने प्रवृत्तिकै उपज वाम आन्दोलनप्रति जनताको अविश्वास बढेको हो । विगतदेखिकै जनताको जनमतमाथि गरिएको धोकाधडीपूर्ण व्यवहारले यस पटक तिनै जनताले कम्युनिष्ट पार्टीलाई मतमार्फत दण्डित गरेका हुन् । अब विशुद्ध एकताले मात्रै जनमानसमा गुमेको त्यो विश्वास आर्जन गर्न सकिँदैन ।

पार्टी एकताले मात्रै जनमत आकर्षित हुने भए साबिक माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दुई दर्जन जति कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपाले किन आशातीत मत प्राप्त गर्न सकेन ? अहिले वाम एकताको हौवा फैलाउनेमाथि तेर्सिने मुख्य प्रश्न यही हो ।

विगत ०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपालाई करिब दुई तिहाइ मत प्राप्त भएकै थियो । त्यतिबेला उक्त जनमतको सदुपयोग गरेर जनपक्षीय काम गरेको भए अहिले यो हविगत हुने थिएन । तर, सत्ताको उन्मादमा सहकर्मीमाथि निषेध गर्दै एकाधिकार लाद्ने केपी ओली प्रवृत्तिकै उपज त्यस्तो स्वर्णिम अवसर गुम्न पुग्यो । त्यसकै परिणतिस्वरुप जेनजी विद्रोह, निर्वाचन हुँदै वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

आज जनताले त्यतिबेला दिएको जनमतको अवमूल्यन गर्ने ओली प्रवृत्तिमाथि प्रश्न गर्न थालेका छन् । जनताले यसपटक विगतमा जनमतमाथि गरिएको उपहासकै उपज दण्डित गरेका हुन् । दुई दुई पटक संसद् विघटन गरेर जनमतको उपहास गर्ने ओली कृत्यको मूल्य समग्र वाम आन्दोलनले चुकाउनुपरेको छ । ओलीकै अहंकार र दम्भले आफूसँगै समग्र वाम आन्दोलनकै यो दुरावस्था निम्तिएको हो ।

नेपालको वाम आन्दोलनको अधोगतिको आरम्भ त्यही ओलीले गरेको दुई पटकको संसद् विघटन नै हो । त्यसकै उपज सिर्जित अविश्वासले नै जनताले मत बदलेर यसपाली चरम लोकप्रियतावादी शक्ति रास्वपालाई त्यस्तै अवसर दिएका छन् । यसको गम्भीर समीक्षा नगरी नेपालको वाम आन्दोलन पुनः बौरिने कुनै सम्भावना छैन ।

समस्या जहाँबाट सुरु भएको हो, समाधान पनि त्यहीबाट खोज्नुपर्छ । विगतको एकता असफल हुनुको कारण नखोजी अबको एकता पनि दिगो हुन सक्दैन । त्यसले लाभ भन्दा अर्को हानी निम्त्याउँछ । विगतमा आन्तरिक किचलोले परिणाम हासिल गर्नुको साटो झनै क्षतिप्रद भएको विषयलाई हेक्का राख्नुपर्छ । दुई पाइलटको उपमा दिएर पार्टी एकता गरेका ओली प्रचण्डले अन्ततः वाम आन्दोलन अवतरण गराउनुको साटो झनै दुर्घटनाग्रस्त बनाउन पुगे । अब यसबाट पार लगाउने हो भने यी दुवै नेतालाई बिदा गर्दै नेतृत्वमा पुस्तान्तरण जरुरी छ ।

पहिलो र दोस्रो पुस्ताले नेतृत्वदायी भूमिकाबाट सम्मानजनक बिदा लिँदै तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण नगरी वाम आन्दोलनले पुनर्जीवन लिन सक्दैन । नयाँ पुस्तालाई जोड्ने आधुनिक प्रविधिमैत्री कार्यक्रम ल्याउन नसक्ने हो भने युवा पिढीबाट वाम आन्दोलन टाढिँदै जाने छ । हालको जनमत जोगाउँदै नयाँ पुस्तालाई वाम आन्दोलनमा समाहित नगरे मुलुकको वाम आन्दोलनको भविष्य कुहिरोको काग जस्तै हुनेवाला छ ।

अर्कोतिर, विगतदेखिका क्रियाकलापले जनतामा पैदा भएको अविश्वास हटाउन ठोस एवं मूर्त कार्यक्रम ल्याउन जरुरी छ । जनतामा व्याप्त अविश्वास हटाउने प्रतिबद्धता नै वाम आन्दोलन पुनर्जागृत गराउने एकमात्रै उपाय हो । त्यसबाहेक अरू प्रयत्नले सार्थक परिणाम दिन सक्दैन। किनभने, जनता पटक पटकको अविश्वासबाट आजित भएर कम्युनिष्ट पार्टीका नेताहरूका आश्वासनलाई झुठको पुलिन्दा ठान्नको गर्छन् । तसर्थ व्यवहारतः परिणाम नदिए जनतालाई विश्वासमा लिन मुस्किल छ ।

संघर्षको चरणमा इमानदार रहेका कम्युनिष्ट पार्टीका नेताहरू सत्तामा पुगेपछि बिचौलिया र दलालहरूसँगको उठबसपछि वर्गोत्थान हुने गरेको छ । त्यसलाई आम जनताले नजिकबाट नियालिरहेका छन् । जसको परिणाम जनस्तरमा कम्युनिष्ट पार्टीका नेताहरूलाई भन्ने एउटा र अर्कै गर्ने अविश्वसनीय चरित्रको संज्ञा दिइएको छ । सत्तामा नजाँदासम्म जनजीविकाको मुद्दा उठाउने तर सत्तारोहणपछि जनताका समस्यालाई नजरअन्दाज गर्ने गैर जिम्मेवार प्रवृत्तिको गम्भीर तवरले आत्मालोचना गर्नुपर्छ ।

यसरी अहिले नेपालको कम्युनिष्ट आन्दोलनमा निम्तिएको मूल संकट जनताको अविश्वासले उत्पन्न गराएको हो । जन्मजात सामन्तवाद विरोधी शक्तिका रूपमा परिचित वामपन्थी दलभित्र नेतृत्वमा पैदा भएको सामन्ती शैलीको अन्त्य गरिनुपर्छ ।

जनतामा व्याप्त अविश्वासकै परिणतिस्वरुप आजको दुर्दशापूर्ण अवस्था निम्तिएकोले त्यसको सुधारको लागि आफैँले व्यवहारबाटै परिणाम दिन जरुरी छ । मुलुकको कम्युनिष्ट आन्दोलनमा त्यत्रो सशस्त्र संघर्षबाट उदय भएको माओवादीको अहिले नामोनिशान हराएको छ । एउटै माओवादी आन्दोलनमा लागेका नेताहरूमा कोहीको वर्गोत्थान भएर नवधनाड्य बनेका छन् भने केहीलाई दैनिक जीवनयापन गर्न कठिन छ । समानताको मुद्दा बोकेर आन्दोलनमा लागेका नेताहरूकै बीचमा रहेको यस प्रकारको विभेदको अन्त्य नगरी वाम आन्दोलनप्रतिको अविश्वास कदापि मेटिनेवाला छैन ।

नेताहरूको बिचमा रहेको विभेद अन्त्य गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम नल्याएर फगत एकताको राग अलापेर मात्रै अब कदापि शक्ति आर्जन हुँदैन । जनताले अब अमूर्त गफ भन्दा पनि परिणाम खोजेका छन् ।

ठूला ठूला भाषणले मात्रै केही नहुने अहिलेको निर्वाचनले देखाइसकेको छ । चुनावी आमसभामा दुई मिनेट पनि नबोली रास्वपाका बालेन्द्र शाह(बालेन)मुलुकको प्रधानमन्त्री बनेर नयाँ कीर्तिमानी कायम गरेका छन् ।

त्यस कारण समाजवाद र साम्यवादका अमूर्त बुद्धिविलास भन्दा पनि जनताका तत्कालीन समस्या समाधानतर्फ लक्षित कार्यक्रम ल्याउँदै सच्चिएको आभाष व्यवहारबाटै नदिलाए वाम आन्दोलन पुनर्जिवीत हुन कठिन छ । जनताको समस्या सम्बोधन गर्ने मूर्त प्रतिबद्धता व्यक्त गर्दै आन्तरिक रूपान्तरसहित आत्मालोचना गरेमा विगतमा गुमेको विश्वास पुनः आर्जन गर्न सकिन्छ ।

अन्यथा, आन्तरिक समस्या समाधान गर्ने बाह्य प्रयत्नस्वरुप पार्टी एकताबाट मात्रै शक्ति आर्जन गर्ने ध्येय हो भने त्यो फगत दिवास्वप्न मात्रै हुनेछ । त्यसले टाउको दुखेको ओखती नाइटोमा दलेजस्तै समस्या एकातिर, त्यसको समाधान नगरी परिणाम अर्कै अपेक्षा गर्ने मूर्खता शिवाय अरू केही हुँदैन ।

प्रतिक्रिया दिनुहोस्