Logo
Logo

जेनजी हत्या आरोपित नारायणदत्त पौडेल सशस्त्र प्रमुख बन्ने खेलमा


0
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदै छन् । अर्याल अवकाशमा गएसँगै वैशाख १८ गतेसम्ममा सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउने छ ।

आइजीपी अर्याल आइजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाश जान लागेसँगै जेनजी हत्या जस्तो गम्भीर आरोप लागेका एआइजी नारायणदत्त पौडेल आइजीपी बन्ने खेलमा जुटेका छन् ।

The current image has no alternative text. The file name is: Paudel_HTBkNc0jul.jpg

त्यसो त, आइजीपी बन्ने प्रतिस्पर्धामा पौडेल मात्र छैनन् । हाल उनीसँगै एआइजीका रूपमा कार्यरत वंशी दाहाल र गणेश ठाडा मगर पनि आइजीपी बन्ने दौडमा छन् । 

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ५३ अनुसार ज्येष्ठता र कार्यकुशलता दुवै आधारमा नेपाल सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त गर्न सक्छ । यस आधारमा हालका तीनै जना अतिरिक्त महानिरीक्षकहरू महानिरीक्षक पदका लागि प्रतिस्पर्धी हुन् ।

सशस्त्र प्रहरी प्रमुख बन्नका लागि तीनै जना प्रतिस्पर्धीले पहल थालेका छन् । तर, तीनमध्ये पौडेल भने सबै खाले अस्त्र प्रयोग गरेर सशस्त्र प्रमुख बन्ने खेलमा लागेका हुन् । सशस्त्र प्रमुख बन्न अनेकौँ प्रयास गरिरहेका पौडेले भने उल्टै खोरमा जाक्नुपर्ने व्यक्ति हुन् । जसलाई ‘जेनजी हत्यारा’ जस्तो गम्भीर आरोप लागेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको समयमा पौडेल सशस्त्र प्रहरी प्रधान कार्यालयको कार्य विभाग प्रमुख थिए । अर्थात् उनले अपरेसन कमाण्ड सम्हालेका थिए । उनको फितलो कमाण्डका कारण जेनजी विद्रोहका क्रममा ठूलो संख्यामा जनधनको क्षति भएको ठहर गर्दै जेनजी विद्रोहबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पौडेललाई कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरेको थियो । पौडेलसहित सुरेशकुमार श्रेष्ठ र जीवन केसीलाई पनि कारबाही सिफारिस गरिएको छ ।

आयोगको प्रतिवेदनको ‘सशस्त्र प्रहरीमाथि कारबाही सिफारिस’ खण्डमा लेखिएको छ– ‘भदौ २३ र २४ गतेको घटनाको विश्लेषण र विवेचनाको आधारमा निजहरू उपर सशस्त्र प्रहरी ऐन २०५८ र सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११२ बमोजिम कारबाही गर्न गराउनका लागि सिफारिस गरिएको छ ।’

यस आधारमा हाल एआइजी रहेर आइजीपी बन्ने खेलमा रहेका पौडेल एआइजी नभएर जेनजी हत्या आरोपमा कारबाही भोग्नुपर्ने व्यक्ति हुन् । कार्की आयोगको प्रतिवेदनको सिफारिसकै आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख लगायतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको छ । उनीहरू हाल हिरासतमुक्त रहेता पनि उनीहरूमाथि लागेको आरोपको छिनोफानो भएको छैन ।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनकै क्रममा रहेको अवस्थामा सरकारले भदौ २३ र २४ गतेको घटनामा संलग्न सुरक्षाकर्मीमाथि थप अनुसन्धान गर्न अर्को समिति पनि गठन गरेको छ । पूर्व न्यायाधीश प्रेमराज कार्कीको अध्यक्षतामा गठित समितिको छानबिन राडारको सबैभन्दा नजिक रहेका पौडेल नै अनेक शक्तिकेन्द्रको आडामा आइजीपी बन्ने खेलमा रहेका छन् ।

लेखा समूहका अधिकृतमार्फत स्वार्थ समूहबाट लबिङ
जेनजी विद्रोह दमनको कारण कारबाही सिफारिस भएका पौडेल सशस्त्र प्रहरी भित्रका लेखा समूहका अधिकृतहरूमार्फत स्वार्थ समूह र शक्ति केन्द्रहरूमा पुग्ने गरेको समेत आरोप लाग्ने गरेको छ । प्रहरी संगठनहरुमा लेखा समूहका अधिकृतहरू शक्तिशाली मानिन्छन् ।

एआइजी पौडेलले लेखा समूहको अधिकृतहरूमार्फत विभिन्न शक्तिशाली ठेकेदार र केही सांसदहरूमार्फत बलिङ गरिरहेको स्रोतको दाबी छ । र, स्वार्थ समूह समेत रास्वपा नेता र सांसदसम्म पुगिसकेका छन् । उनीहरूले खुलेरै पौडेललाई आइजीपी बनाउनुपर्ने भनिरहेका छन् ।

पौडेलले सशस्त्र प्रहरीका विभिन्न निकायका लेखापालहरूलाई समेत ‘म आइजी हुँदै छु, अहिले खर्च नगर्नु–पेमेन्ट नदिनु, म आएपछि सबै गरौँला, आफूखुसी गरे राम्रो हुँदैन’ भन्दै धम्की दिने गरेको समेत सशस्त्र मुख्यालय हलचोकमा चर्चा हुने गरेको छ ।

सुधन गुरुङ पनि पौडेलको प्रभावमा
पौडेलले विभिन्न स्वार्थ समूहको बलमा गृहमन्त्री पदबाट हालै राजीनामा दिएका सुधन गुरुङलाई समेत प्रभावमा पारेको बुझिएको छ । प्रभावकै आधारमा गुरुङ पनि पौडेललाई सशस्त्र प्रहरी प्रमुख बनाउन इच्छुक देखिएका थिए ।

स्रोतहरूका अनुसार सशस्त्र प्रहरी प्रमुख बन्ने खेलमा लागेका पौडेलले हालै गृहमन्त्रीबाट पदमुक्त भएका सुरुङसँग रकम समेत कबोल गरेको बुझिएको छ । सुधन र नारायणदत्तबिचको यो खेलमा आफूलाई गृहमन्त्रीको स्वकीय सचिवको रूपमा चिनाउने अनिल बानियाँले मध्यस्थताको भूमिका खेलेको स्रोतको भनाइ छ । 

यसैबिच, सुधन गृहमन्त्रीबाट हटिसकेका छन् । शक्तिकेन्द्रका गिरोह दीपक भट्टसँगको नेक्ससका कारण गृहमन्त्रीबाट हात धुनु परेका सुधन पनि अझै पौडेललाई नै सशस्त्र प्रहरी प्रमुख बनाउने पक्षमा रहेको र सोही अनुसार लबिङ गरिरहेको बुझिएको छ ।

बारम्बार कारबाही भोग्दै आएका पौडेल
आइजीपी बन्न कम्मर कसेर लागेका पौडेको विगत झनै नराम्रो छ । उनले संगठनभित्र बारम्बार कारबाही भोग्दै आएका छन् ।

एआइजी भएपछि मात्रै पनि उनीले स्पष्टीकरण भोगेका छन् । आफू एआइजी भए लगत्तै खाली रहेको डीआइजीमा बढुवा गरिदिने भन्दै प्रतिस्पर्धामा रहेका अधिकृतहरूको पक्षमा बलिङ गरेको र सोही अनुसार विभिन्न समूहमार्फत गृह मन्त्रालयमा दबाब दिएका थिए । यसै विषयमा हालका आइजीपी राजु अर्यालले स्पष्टीकरण सोधेका थिए ।

पौडेलको विगत पनि राम्रो छैन । पौडेल निलबाराही गण बलम्बुमा गणपति हुँदा एक सिपाहीको मृत्यु भएको थियो । सिपाहीको मृत्युको कारण तत्कालीन गणपति पौडेल कारण रहेको सशस्त्र प्रहरीको ठहर थियो ।

बलम्बुमा गणपति हुँदा पौडेलले एक सिपाहीलाई गैर कानुनी रूपमा सामुदायिक वनमा दाउरा काट्न पठाएका थिए । त्यस क्रममा रुखले किचेर सिपाहीको मृत्यु भएको थियो । यसै घटनालाई लिएर तत्कालीन एआइजी ठाकुर मोहन श्रेष्ठले पौडेललाई कारबाही गरेका थिए । 

त्यति मात्र होइन, कोषराज वन्त सशस्त्र प्रहरी प्रमुख हुँदा समेत पौडेलमाथि कारबाही भएको थियो । अनुशासनहीन कार्य गरेको ठहर गर्दै तत्कालीन डीआइजी पुष्पराज केसीले कारबाही गरेको रेकर्ड सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा अझै सुरक्षित छ ।

जसको सरकारमा उसैसँग लपक्कै
सेवा प्रवेशदेखि आइजीपीको दाबेदार हुँदासम्म संगठनभित्र पौडेलको राम्रो रेकर्ड छैन । विगतदेखि नै सरकारवादी नेता र मन्त्रीसँग लपक्कै हुने उनको विशेष गुण मानिन्छ ।

सशस्त्र प्रहरी भित्रका जानकारहरूका अनुसार उनी एमाले शक्तिशाली हुँदा र एमालेभित्र पावर चल्दा आफूलाई भीम रावलको मान्छे भनेर चिनाउने गर्थे । त्यसै गरी, माओवादी सत्तामा हुँदा जनार्दन शर्मा र शक्ति बस्नेतका मान्छे भनेर चिनाउने गर्दथे ।

एमाले र माओवादीको बलमा पदोन्नति हुँदै आएका पौडेल एआइजी हुने बेलामा भने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निकटका रूपमा प्रस्तुत भएका थिए ।

स्रोतहरूका अनुसार डिआइजीबाट एआइजीमा बढुवा हुने बेलामा पौडेलले उपसभापति खड्कालाई मोटो रकम बुझाएका थिए । पौडेलले खड्कालाई रकम बुझाएको सन्दर्भलाई उनी एआइजी बढुवा भएको प्रक्रियाले पनि पुष्टि गर्छ ।

पौडेलले खड्कामार्फत सेटिङ मिलाएर आफ्ना प्रतिस्पर्धी चन्द्र प्रकाश गौतमलाई २ हप्ता पछि मात्र बढुवा हुने गरी व्यवस्था मिलाएका थिए । त्यस बेला कांग्रेस–एमालेको सरकार थियो ।

यसरी, सत्तामा रहेका पार्टीका नेताहरूसँग सम्बन्ध बनाउँदै फाइदा लिँदै आएका पौडेल पछिल्लो समय आफू रास्वपा पक्षधर रहेको भन्ने गरेको हलचोक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्