Logo
Logo

रास्वपाका ‘रत्न’हरूको हर्कतः हेडमास्टरलाई होच्याउने, एसपीलाई ‘घिसार्ने’ र छाताको सान देखाउने !


1.3k
Shares

काठमाडौं । जनताका प्रतिनिधि शासक कि सेवक ? लोकतन्त्रमा यो प्रश्न सधैँ केन्द्रीय रहन्छ । तर पछिल्ला घटनाक्रमहरूले निर्वाचित सांसदहरूमा  देखिएको उन्माद र दम्भले विधिको शासन र संसदीय मर्यादामाथि नै ठाडो चुनौती खडा गरेको छ ।

‘नयाँ संस्कार’ र ‘सुसंस्कृत राजनीति’को नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसदहरू एकपछि अर्को विवादमा तानिनु संयोग मात्र होइन, प्रवृत्तिको संकेत जस्तो देखिन्छ ।

वर्दीको दम्भ
नेपाल प्रहरीका पूर्व एआईजी भएर राजनीतिमा प्रवेश गरेका ओखलढुंगाका सांसद विश्वराज पोखरेलले हालै एक विद्यालयका प्रधानाध्यापकमाथि गरेको दुर्व्यवहारले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ ।

खिजिदेम्बास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई ‘आफू आउँदा स्वागत गर्न किन नआएको’ भन्दै उनले प्रयोग गरेको भाषा कुनै जनप्रतिनिधिको होइन, बरु हुकुमी शासकको जस्तो देखिन्थ्यो ।

आफूलाई स्वागत गर्न माला लिएर नबसेको भन्दै मगरलाई पोखरेलले गालीगलौज गरेको भिडियो बाहिरिएपछि सांसद पोखरेलको सर्वत्र आलोचना भइरहेको छ । ‘म ठूलो मान्छे हुँ, म माननीय हुँ, ५० हजार पेन्सन खान्छु’ भन्दै प्रधानाध्यापकलाई होच्याउँदै भनेका छन्, ‘तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ? मसँग काम गर्नेहरू भर्खर सचिव हुँदै छन् । म पुलिस फोर्सको विशिष्ट श्रेणीको मान्छे हुँ। आईजी भएर झन्डै झन्डै चलाएको मान्छे हुँ ।’

पोखरेलले आफू जिल्लाको एक नम्बर सांसद भएको भन्दै आफूलाई अपमान गरेको बताएका छन् । उनले भनेका छन्– ‘माननीय बाहिर बसिरा’छ तपाईँ ननिस्कने? माननीय आएपछि तपाईँहरू रिसिभ गर्न आउनपर्छ । म जिल्लाको अहिलेको एक नम्बरको माननीय हुँ, माननीयलाई अपमान गर्ने ? म जनताको मतबाट जितेको मान्छे हुँ। तपाईँजस्तो हेडमास्टर त मैले देशभर चलाएको हुँ ।’

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सांसद पोखरेलको आलोचना भइरहेको छ। शिक्षक जगत् उनीविरुद्ध सामाजिक सञ्जालमा मात्रै खनिएका छैनन्, नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर ध्यानाकर्षण गराएको छ। 

महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हरेक पदाधिकारीको आफ्नै जिम्मेवारी र क्षेत्राधिकार हुन्छ। यस तथ्यलाई बेवास्ता गर्दै गरिएको यस्तो अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको छ।’

कतिपयले त उनलाई कारबाही गर्नुपर्ने, सांसद पदबाट फिर्ता गर्नुपर्ने सम्मका अभिव्यक्ति दिएका छन्। तीव्र आलोचना भएपछि सांसद पोखरेलले विज्ञप्ति जारी गर्दै माफी मागेका छन्। उनले ‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काँटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको’ दाबी गरेका छन्। यसैगरी उनले तथ्य र सन्दर्भ अपूर्ण भएको भन्दै खेद प्रकट गरे। आफू राजनीतिमा सेवकका रूपमा आएको जिकिर उनको छ।

उनले भनेका छन्– ‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु, म जनताको सेवाका लागि राजनीतिमा आएको व्यक्ति हुँ  । म पहिले पनि जनताको सेवक थिएँ, आज पनि जनताको सेवक हुँ र भविष्यमा पनि जनताको सेवक भएरै काम गर्नेछु। सार्वजनिक पद, राजनीतिक जिम्मेवारी र जनविश्वाससँगै आउने मर्यादा, संयम र उत्तरदायित्वलाई म गहिरोसँग आत्मसात् गर्दछु।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य गणेश कार्कीले भने यस्तो प्रवृत्तिमाथि विरोध जनाएका छन् । उनले एक भोटका लागि हजार पटक नमस्ते गरेको र अमूल्य मत दिने मतदातामाथि यस्ता व्यवहार गर्दा थप क्षति हुनेतर्फ सचेत गराएका छन्। कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ’ म माननीय भनेको राम्रो सुनिन्छ र ? सुनिँदैन त । आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरु । यही सांसद पद पनि बढीमा ५ वर्ष हो । के बानी पार्नु ? अनि ’हजुर एक भोट दिनुस् न’ भन्दै हजारौँ नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु ! भुईँ नछोडौँ न है ।’

सडकमा ‘घिसार्ने’ धम्की 
विवादको अर्को पात्र बनेका छन्, रास्वपाकै सांसद खगेन्द्र सुनार । सिन्धुलीको हिरासतमा एक युवकको मृत्यु भएको घटनालाई लिएर दबाब दिने क्रममा उनले जिल्लाका सुरक्षा प्रमुख (एसपी)लाई ‘सडकमा घिसार्ने’ भन्दै सार्वजनिक धम्की दिए ।

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र २२ वर्षीय श्रीकृष्ण विकको रहस्यमय मृत्यु हुनु आफैँमा एक गम्भीर र निष्पक्ष छानबिनको विषय हो । राज्यको संरक्षणमा रहनुपर्ने व्यक्तिको मृत्यु हुनुले प्रहरी प्रशासनको कार्यक्षमता र सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ । तर, यही घटनालाई लिएर न्यायको वकालत गर्न पुगेका जनप्रतिनिधिको व्यवहारले झनै अर्को गम्भीर प्रश्न उब्जाएको छ- के न्यायको बाटो कानुनको पालना हो कि कानुन हातमा लिने धम्की ?

बलात्कारको आरोपमा पक्राउ परेका विकको मृत्युलाई प्रहरीले ’सर्टको पासो लगाएर गरिएको आत्महत्या’ भनेको छ । यद्यपि, परिवारले प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै आन्दोलन गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । 

न्यायका लागि आवाज उठाउनु सांसदको धर्म हो, तर राज्यको सुरक्षा संयन्त्रमाथि सडकबाटै धावा बोल्नु र कानुन हातमा लिने शैलीमा प्रस्तुत हुनुले अराजकतालाई प्रश्रय दिन्छ । सत्तापक्षीय सांसदले नै विधिको शासनको धज्जी उडाउनु विडम्बनापूर्ण छ ।

छाता राजनीति
वैशाख १२ गते गोरखाको बारपाकस्थित सुलिकोट गाउँपालिकामा आयोजित ११ औँ भूकम्प स्मृति दिवसको कार्यक्रममा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई एक व्यक्तिले छाता ओढाइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । मञ्चमा अन्य सहभागीहरू बसिरहँदा बुर्लाकोटीलाई मात्रै विशेष रूपमा छाता ओढाइएको देखिएपछि उनी विवादमा तानिएका छन् ।

यस विषयमा स्पष्टीकरण दिँदै बुर्लाकोटीले कार्यक्रमको व्यस्तताका कारण आफूले उक्त कुरा तत्कालै ख्याल नगरेको बताएका छन् । उनले भनेका छन्, “मेरो पछाडि बस्नुभएका एक वृद्धले छाता ओढ्दै मसँग केहीबेर कुरा गर्नुभएको थियो। पछि छाताको पानी मेरो शरीरमा पर्न थालेपछि उहाँले मलाई पनि ओढाउन खोज्नुभएछ। मैले थाहा पाउनेबित्तिकै उहाँलाई अगाडि बोलाएर सँगै छाता ओढ्यौँ। त्यो करिब एक मिनेटको दृश्य मात्रै थियो ।”

राजनीतिमा ’सेवक’ बन्न आएकाहरू ’शासक’ बन्न खोज्नु नै वर्तमान राजनीतिको मुख्य विडम्बना हो । अहिलेका यी घटनाक्रमहरूले के स्पष्ट पार्छन् भने, राजनीतिमा पात्र फेरिएर मात्र पुग्दैन, प्रवृत्ति र चिन्तन फेरिनु अनिवार्य छ। यदि नयाँ भनिएकाहरूले पनि सत्ताको उन्मादमा ’भुईँ’ छोड्ने हो भने, उनीहरू र पुराना दलहरूबिच कुनै तात्त्विक भिन्नता रहने छैन।

प्रतिक्रिया दिनुहोस्