
टाइम म्यागेजिनले विश्वका शक्तिशाली व्यक्तिहरूको सूचीमा प्रधानमन्त्री बालेन साहको नाम समावेश गरेपछि नेपालमा मात्र होइन, विश्वभर उनको चर्चा चुलिएको छ । नेपालको राजनीतिमा अलग धारबाट उदाएका बालेनको असली रूप के हो भन्ने कुरा कसैलाई थाहा छैन ।
सार्वजनिक रूपमा प्रायः कालो चश्मा, कालो टोपी, कालै टिसर्ट त्यसमाथि कालै कोर्ट पाइन्टमा देखिने उनको पहिरनलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको भए पनि कालो पहिरन पछाडिको रहस्य के हो त्यो पनि कसैले अनुमान गर्न सकिरहेका छैनन् ।
निर्वाचनका बेलामा पनि उनले खासै मन छुने भाषण गरेनन् । निर्वाचन प्रचारको क्रममा हात हल्लाएर अभिवादन टक्र्याउने उनको मौन स्वभाव दुईतिहाइ मत दिएर जिताउनेहरूले पनि बुझ्न सकेका छैनन् । उनको यस्तो ‘हाउभाउ’लाई कतिपयले कम बोल्ने, धेरै काम गर्ने व्यक्तिको रूपमा बुझ्ने गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पनि प्रायः उनी एकान्त नै हुन्छन् । कहिलेकाहीँ आफ्ना सल्लाहकारहरूसँग व्यस्त देखिने उनले सल्लाहकारहरूसँग कस्तो सल्लाह माग्छन्, सल्लाहकारहरूले कस्तो सल्लाह दिन्छन् भन्ने कुरा पनि बाहिर आउँदैन ।
अति ‘गोप्य’ अति ‘मौन’ र अति ‘रहस्यमय’ स्वभाव नै उनका लागि शासन सत्ताको शक्ति बनेको छ । त्यही शक्तिका आधारमा उनले देशमा विगतदेखि थुप्रिएका विकृति, विसंगतिको फोहोरको डंगुर सफा गर्ने काममा हात हालेका छन् । भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीहरूमाथि कारबाही उनको प्राथमिकतामा परेको छ । निजामती सेवाका कर्मचारीहरूमा वर्षौँदेखिको चाकरी, चाप्लुसीको मानसिकता तोड्दै नयाँ सोच र परम्पराको थालनी गरेका छन् ।
सेवाग्राहीहरूको हितलाई ध्यानमा राखेर सार्वजनिक सेवाका कार्यालय र कर्मचारीहरूलाई चुस्त दुरुस्त राख्ने प्रयत्न गरेका छन् । जुन कुराले आम सेवाग्राहीहरूमा देश परिवर्तन भएको अनुभूति दिलाएका छन् । देशका धरोहर भनेकै सचेत नागरिक हुन्, नागरिकमा सरकारप्रतिको विश्वास जगाउन सके मात्र पाँच वर्षभित्र कालो चश्माभित्रको सपना पूरा हुनसक्छ ।
यति हुँदाहुँदै पनि बालेन जुन बेला प्रधानमन्त्री भएका छन्, त्यो बेला नेपाल भूराजनीतिको भुमरीमा फसेको छ । जेनजी विद्रोह र त्यसपछिका परिणाम भूराजनीतिकै बाछिटा हो । यसलाई उनले कसरी व्यवस्थापन गर्छन् भन्ने कुराले उनको सरकारको आयु निर्धारण गर्नेछन् ।
त्यसो त बिपी कोइराला ०१५ साल र केपी शर्मा ओली ०७४ सालमा दुईतिहाइकै प्रधानमन्त्री थिए । त्यतिबेलाको भूराजनीतिक अवस्था बेग्लै थियो । तर पनि भूराजनीतिक सन्तुलन मिलाउन नसक्दा कांग्रेस र नेकपाको दुईतिहाइको सरकार भंग भएको यथार्थ पनि छ । बाहिरबाट हेर्दा पार्टीभित्रको अन्तद्र्वन्द्वका कारण दुईतिहाइको सरकार ढलेजस्तो देखिए पनि त्यसको वास्तविकता कारण बाह्य थियो ।
अहिले पनि रास्वपाभित्र रवि लामिछाने र बालेन साहबीचको सहकार्य कति लामो समयसम्म अगाडि बढ्ला भन्ने अनुमान गरिएको छ । यदि, पार्टी र सरकारले भूराजनीतिक अवस्थालाई ख्याल गरेर सन्तुलन कायम गर्न सके यो सरकार पाँचै वर्ष टिक्न पनि सक्छ । अन्यथा, बालेन र रविमध्ये एउटाको इगोको कारण बीचमै सरकार भंग पनि हुनसक्छ ।
नेपालको राजनीतिलाई जसरी बालेनले कालो चश्माभित्रबाट हेरिरहेका छन्, त्यसैगरी हाम्रा दुई छिमेकीले पनि कालो चश्माबाटै नेपालको भूराजनीतिलाई नियालिरहेका छन् । राजनीतिक स्थिरता, आर्थिक समृद्धि केवल दुईतिहाइको अंक गणितले निर्धारण गर्दैन, त्यसका लागि विश्वमा उदीयमान शक्ति हाम्रा दुई छिमेकीको मन र विश्वास जित्नु बालेनका लागि अवसर र चुनौती हो । यो चुनौतीको सामना गर्न सके भने पक्कै पनि दुईतिहाइ खेर जाने छैन । अन्यथा, कतिबेला बहिर्गमन हुने हो भन्ने परिस्थितिको आकलन स्वयं कालो चश्माभित्रका बालेनले पनि गर्न सक्दैनन् ।











