काठमाडौं । पूर्वमन्त्री सुदन किराँती ले श्रम संस्कृति पार्टी मा सहभागी हुँदै देशभरका नागरिकलाई पार्टीमा आबद्ध हुन आह्वान गरेका छन् ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै किराँतीले परम्परागत राजनीतिक दलहरूले जटिल भाषाशैली र नारामार्फत जनतालाई भ्रमित बनाएको आरोप लगाए ।
उनले देश र जनताप्रति निस्वार्थ भावनाले काम गर्ने सबै व्यक्ति, समूह र शक्तिका लागि पार्टीको ढोका खुला रहेको बताए। “अब ३ करोड नेपाली नै श्रम संस्कृति पार्टी, श्रम संस्कृति पार्टी नै ३ करोड नेपाली भन्ने सोचका साथ अघि बढ्नुपर्ने समय आएको छ,” उनले भने ।
किराँतीले नयाँ शक्तिको नाममा पनि जनतामा निराशा बढेको टिप्पणी गर्दै अबको राजनीतिक अभियानको केन्द्र पूर्वी नेपाल बन्ने दाबी गरे। उनले माओवादी जनयुद्धको ‘इपिसेन्टर’ रोल्पा–रुकुम र २०७२ सालको भूकम्पको केन्द्र बारपाक रहेको स्मरण गर्दै अबको विचार र शक्तिको उदय पूर्वबाट हुने बताए ।












