Logo
Logo

बिलोमको विश्राम


0
Shares

के लेख्ने ?
किन लेख्ने ?
कति लेख्ने ?
कसका लागि लेख्ने ?
लेख्ने विषयवस्तुसँग जोडिएका केही चुनिएका प्रश्नहरू हुन् यी । सानो होस् वा ठूलो, चलेको होस् वा नचलेको, जो कोही लेखकको जीवनमा पनि बेलाबखत यस्ता प्रश्नहरू आइरहन्छन् ।

आमसञ्चारका महागुरु म्याकवेल भन्छन्, ‘लेख्नु शब्द थुपार्नु मात्र हैन, त्यसलाई आकार दिएर केही कुरा सम्प्रेषण गर्नु हो । त्यसको अर्थ र उपादेयता नाप्ने समयले हो । उसैलाई छोडी दिनुपर्छ ।’

मैले लेख्न थालेको पनि चार दशक पूरा भएछ । सङ्ख्यामा नाप्दा अर्वौ शब्द भएको हुनुपर्छ । ती शब्दले म्याकवेलकै शब्दमा एउटा काल्पनिक थुप्रो मात्र बनाएँ वा अरू केही सम्प्रेषण पनि गरेँ ? त्यसको उत्तर दिने सही पात्र म हैन । केही पाठकले भन्न सक्नु होला । बाँकी समयकै गर्तमा छोडी दिनु ठीक होला ।

म आफूलाई मूलतः आमसञ्चारको विद्यार्थी ठान्छु । त्यसैले मैले साहित्य लेखिनँ, हतारको साहित्य मात्रै लेखेँ । बढीमा त्यसलाई आफ्नो कोण थपेर दृष्टिकोण बनाउने प्रयास गरेँ । पिरामिडमा हेर्दा त्यसको आकार सुल्टिएको हुन्थ्यो । बस्, त्यति भएपछि पुग्थ्यो मलाई ।

आमसञ्चारसँग समाचार नाप्ने एउटा पिरामिड हुन्छ । त्यही कहिले उल्टिन्छ, कहिले सुल्टिन्छ । उल्टाउँदा बन्छ हार्ड समाचार; सुल्ट्याउँदा सफ्ट समाचार ।

मैले आफूलाई सुरुदेखि नै सफ्ट समाचारको कित्तामा राखेँ । पहिला परेर त्यसपछि पढेर आमसञ्चार क्षेत्रमा आएकोले पृष्ठभूमिले होला; मलाई त्यही सजिलो लाग्छ ।

आफ्नो पक्ष बलियो बनाउन मैले पैरवी पनि सफ्ट कित्ताकै गरे । सुरुदेखि नै मैले एउटै कुरा भन्दै आएँ, ‘बिना कोणको के समाचार ? त्यो त सूचनाको थुप्रो भैहाल्यो नि ।’

म व्यावसायिक पत्रकारितामा प्रवेश गरेकै बेला नेपालमा मिडियाको उच्च शिक्षा र कर्पोरेट मिडिया लगभग सँगसँगै प्रवेश गरे । नयाँ छिमलका पत्रकारहरूको बाक्लो उपस्थिति भयो । उनीहरूमा न भाषाको कुशलता थियो न विषयवस्तुको गहन अध्ययन । एउटा बनिबनाउ ढाँचामा सूचना पस्क्यो, पिरामिड उल्टो भइहाल्थ्यो । उनीहरूले आफ्नो सजिलोको लागि त्यसै गरे ।

मान्छेको स्वभाव नै हो कि बनिबनाउ बाटो हिँडेर उही गन्तव्यमा पुग्ने । फरक बाटो हिँडेर फरक गन्तव्यमा पुग्न को चाहन्छ र ? त्यो बेलाको नयाँ छिमल पनि त्यही सजिलो बाटोमा हिँड्यो । उनीहरूको सङ्ख्या बहुमतमा थियो । त्यो बहुमतले त्यही तरिकाको मूलधार बनाइदियो ।

तर, म र मजस्तै साप्ताहिक पत्रिकाबाट आएकाहरू सफट् कित्तामा थियौँ । परेर पत्रकारिता गरेको हाम्रो सङ्ख्या सानो थियो, स्वतः अल्पमतमा प¥यो । अल्पमतमा परेपछि बन्ने हो, वैकल्पिक धार । म त्यही धारमा परेँ ।

अहिले हामी समाचारको पिरामिड मात्र हैन, समग्र मिडियाकै पाराडाइम सिफ्टको संघारमा छौं । एक किसिमको मिडिया संक्रमणको बेला हो यो । यो विन्दुमा उभिएर हेर्दा आफू सुरुदेखि नै सही कित्तामा उभिएको रहेछु भन्ने लाग्छ । व्यक्तिगत रूपमा मैले यसलाई सन्तोषको विषय मान्दा हुन्छ ।

म एउटा कुरामा सुरुदेखि नै ढुक्क थिएँ र छु, त्यो के भने पिरामिड उल्टेर हार्ड बनोस् वा सुल्टेर सफ्ट– हतारको साहित्यमा लेख्ने भनेको सन्दर्भ नै हो । अझ त्यसमा पनि स्तम्भकारलाई त सन्दर्भभन्दा बाहिर जाने छुट नै हुँदैन । म ठान्छु, बिलोम मेरो सिग्नेचर स्तम्भ हो ।

आमसञ्चारले भन्छ, सन्दर्भ स्कलर हैन, भेक्टर हुन्छ । यसका दुई आयाम हुन्छन्, समय र स्थान । तर, म सुरुदेखि नै सन्दर्भ बहुआयामिक हुन्छ भन्ने कुरामा विश्वास राख्दै आएको छु । त्यसका लागि मिडियाको उत्पादन र वितरणको चक्र बुझ्नुपर्ने हुन्छ । त्यसमा पनि न्युनतम कुरा हो, लेखक उत्पादनतिर हुन्छ, पाठक वितरणतिर । यी दुबैले बनाउने हो, मिडिया बजार ।

मिडिया बजार दुबैतिरको पृष्ठभूमी, उमेर, अनुभव, ज्ञान, चाहना, रुचि र आवश्यकताको सापेक्षतामा हुन्छ । त्यो भनेको फेरि पनि मूलतः सन्दर्भ नै हो । जो कहिल्यै निरपेक्ष हुँदैन ।
अहिलेको मिडिया बजार मिडियासेन्ट्रिक छैन, सोसाइटीसेन्ट्रिक छ । यस्तो बेला लेखकले के लेख्नेभन्दा पनि पाठकले के चाहने भन्ने कुरा प्राथमिक हुन्छ । सैद्धान्तिक रूपमा यो भनेको डोमिनेन्ट पाराडाइम हैन, अल्टरनेटिव पाराडाइम हो ।

जतिसुकै पाराडाइम सिफ्टको कुरा गरे पनि लेखकले लेख्ने भनेको फेरि पनि उसको बिटमा निजी भोगाइ नै हो । जसलाई सन्दर्भको सापेक्षतामा लेख्नुपर्ने हुन्छ । खासगरी सोसाइटीसेन्ट्रिक मिडियाको बाध्यता हो यो । जसलाई आमसञ्चारमा अल्टरनेटिव पाराडाइम भनिन्छ ।

अर्को शब्दमा भन्दा भोगाइको अर्को नाम न जीवन हो । भोगाइले नै दिन्छ, जीवनको परिभाषा । उमेरले ६ दशक नापिरहेको यतिबेला मलाई लाग्छ, जीवनको कुनै उम्दा परिभाषा छ भने त्यो भोगाइ नै हो ।

भोगाइ, यो संसारमा जति मान्छे छन्, त्यति नै फरक हुन्छ । त्यसैले जीवनको परिभाषा पनि मान्छेको सङ्ख्या र उसको भोगाइ जति नै हुनुपर्छ ।

म आफ्नै कुरा सम्झन्छु । जतिबेला म नेपालको सुदूरपूर्व ताप्लेजुङ जिल्लाको एक अनकन्टार गाउँ तेल्लोकमा जन्मेँ । गरीवीसँग पौठेजरी खेल्दै हुर्केको बेला एक पेट खान पाउँछु, एक आङ लगाउन पाउँछु र जाडोलाई जितेर राती निदाउन पाउँनु नै जीवन थियो । मेरो बाँच्नुको अर्थ मात्रै हैन, जीवनको परिभाषा पनि यही थियो ।

जब म बढ्दै र पढ्दै गएँ, स्थान र समय पनि बदल्दै गयो । त्योसँगै सन्दर्भ पनि बदलियो । भोगाइमा पनि विविधा आयो । त्यही अनुसार जीवनको परिभाषा पनि बदल्दै गयो । यो सबै परिवर्तन म जन्मेकै देशमा भएको थियो । जतिबेला मेरो जन्मदेश नै मेरो देश पनि थियो । त्यसैले जीवनको क्यानभाषा र त्यसले दिने परिभाषा पनि एउटै थियो ।

म एक दिन नेपाल छोडेर अमेरिकातिर लागे । त्यो पनि सपरिवार । नेपालमा आशा र विश्वास रितिदै गएपछि लिइएको निजी निर्णय थियो त्यो । त्यतिबेला मनको कुनै कुनामा लागिरहेको थियो, यो बसाई सराई पनि हुन सक्छ ।

नभन्दै यो बसाइ सराई नै भयो । यही बीचमा मैले देश परिवर्तन गरेँ, नेपालबाट अमेरिका । राष्ट्रियता परिवर्तन गरेँ, नेपालीबाट अमेरिकी । अहिले मेरो आधिकारिक अवस्था हो, नेपाली–अमेरिकी । यो भनेको मूल नेपाली राष्ट्रियता अमेरिकी ।

अमेरिकी अंगिकृत नागरिकता लिइसकेपछि पनि मूल जोडेरै परिचय बनाउन पाइन्छ अमेरिकामा । शायदै विश्वका अरू कुनै देशमा यस्तो गजबको प्रावधान होला । यही विशिष्टताका लागि पनि अमेरिका सुन्दर छ ।

म बिस्तारै जीवनको पश्चिमतिर ढल्किरहेको छु । यसको अर्थ मैले राम्ररी बुझेको छु । अब मेरो देश अमेरिका नै हो । जुन दिन मैले एक अमेरिकी हुनुमा गौरव गर्दै शपथ लिएको थिए, त्यतिबेला मैले प्रस्टसँग पढेको थिएँ, सपथपत्र ।

त्यसमा लेखिएको थियो, “म यहाँ शपथपूर्वक घोषणा गर्दछु कि, म यसअघि जुन विदेशी राजा, शासक, राज्य वा सार्वभौमसत्ताको नागरिक वा प्रजाहरू थिएँ, तिनीहरूप्रतिको सम्पूर्ण निष्ठा र बफादारितालाई पूर्ण रूपमा त्याग्दछु; म संयुक्त राज्य अमेरिकाको संविधान र कानुनको, सबै विदेशी र स्वदेशी शत्रुहरू विरुद्ध समर्थन र रक्षा गर्नेछु; म अमेरिकाप्रति साँचो विश्वास र निष्ठा राख्नेछु; कानुनद्वारा आवश्यक परेको खण्डमा म संयुक्त राज्य अमेरिकाको तर्फबाट युद्ध लड्नेछु; कानुनद्वारा आवश्यक परेको खण्डमा म संयुक्त राज्य अमेरिकाको सशस्त्र बलमा गैर–सैनिक सेवा गर्नेछु; कानुनद्वारा आवश्यक परेको खण्डमा म नागरिक नेतृत्वअन्तर्गत राष्ट्रिय महत्वका कामहरू गर्नेछु; र म यो दायित्व बिना कुनै मानसिक हिचकिचाहट वा पन्छिने उद्देश्य बिना, स्वतन्त्र रूपमा स्वीकार गर्दछु; ईश्वरले मलाई मद्दत गरून्।“

मैले यो शपथ होस हवासका साथ लिएर मेरो जन्मदेशप्रतिको निष्ठा र बफादारता त्यागेको थिएँ । त्यो पनि बाध्यता वा करकापले हैन, स्वेच्छाले । अमेरिका प्रवेश गरेदेखि स्थायी बासिन्दा हुँदै नागरिकताको शपथ लिने विन्दुसम्म आइपुग्न मैले धेरै चरण पार गर्नुपथ्र्यो, गरेँ ।

दाहिने हात उठाएर लिएको यो सपथप्रति म निष्ठापूर्वक बफादार छु । र, जीवनपर्यन्त रहने छु ।
…….
फेरि सन्दर्भमै फर्कौँ
यो शपथपछि म नितान्त फरक सन्दर्भमा बाँचिरहेको छु । मेरा पाइला पृथ्वीको फरक भूगोलमा टेकिएका छन् । मेरो जन्मदेश मात्र हैन, राष्ट्रियता नै फेरिएको छ । त्यससँगै मेरो निष्ठा र बफाकारिताको केन्द्र पनि फेरिएको छ ।

यसो भनिरहँदा भुल्न नसकिने सत्य के पनि हो भने आज म ग्लोबल भिलेजको युगमा बाँचिरहेको छु । विज्ञान र प्रविधिले संसार एउटा सानो गाउँजस्तै साँघुरो बनाइ दिएको छ । हुनु र जस्तै हुनु फरक हो । गाउँजस्तै भनिए पनि यथार्थमा विश्व एउटै गाउँ हैन । आज पनि अक्षांश र देशान्तरका धर्सासँगै देशका आआफ्ना सीमारेखा छन् । र, तीसँगै जीवन्त छन्, आआफ्ना राष्ट्रियता ।

अनि त्यही राष्ट्रियताले दिने नागरिकताले व्यक्तिको अधिकार मात्र हैन, कर्तव्य र उत्तरदायित्वको लक्ष्मणरेखा पनि कोरिदिएको छ । जसलाई अर्को शब्दमा नागरिक कर्तव्य पनि भन्न सकिन्छ ।

जन्मेको देशप्रति निष्ठा र बफादारिता त्यागेर नयाँ देश रोजेपछि नयाँ देशप्रतिको नागरिक कर्तव्य सिर्जना हुन्छ । त्यो पूरा गर्नु उसको नैसर्गिक कर्तव्य हुन्छ । त्यसमा यता–उताको कुनै छुट नै हुँदैन ।

अमेरिकाको सन्दर्भमा केही समययता एउटा गहन प्रश्न उठ्ने गरेको छ, के हामी सबै त्यो नागरिक कर्तव्य पूरा गरिरहेका छौँ त ? के हामी साँच्चै नै अमेरिकामा जन्मेकै नागरिक सरह यो देशप्रति निष्ठावान् र बफादार छौ ?

खासगरी जन्मले नै अमेरिकी नागरिकले अंगिकृत अमेरिकी नागरिकमाथि यो प्रश्न गर्न थालेका छन् । यसरी प्रश्न सोधिने अंगिकृत अमेरिकी नागरिकमा नेपाली–अमेरिकी नागरिकको सङ्ख्या पनि उल्लेख्य मात्रामा छ ।

प्यू रिसर्चको पछिल्लो अनुसन्धानअनुसार अमेरिकामा अंगिकृत नागरिकता लिने नेपालीको सङ्ख्या १,१५,९५३ पुगेको छ । यो तथ्यांकको आधार सन् २०२० भएको अमेरिकी जनगणनामा रहेको कूल नेपालीको सङ्ख्या २,१९,५०३ मध्ये ७७% (१,६९,०१७)ले अंगिकृत नागरिकता र त्यसयता बर्सेनी ७.९% वृद्धिदर रहेको भन्ने हो ।

यो सङ्ख्या नेपालबाट आएका नेपालीको मात्र हैन, जुनसुकै देशबाट आए पनि नेपाली भाषा बोल्नेको सङ्ख्या हो । यो संख्यामा नेपालीभाषी भुटानी शरणार्थीको पनि उल्लेख्य सङ्ख्या रहेको छ । स्मरणीय रहोस्, अमेरिकाको जनगणना मूल देशको राष्ट्रियता हैन, बोलिने भाषाको आधारमा हुन्छ ।

म पनि एक अंगिकृत अमेरिकी नागरिक हुँ । अमेरिकी राष्ट्रियताको कोणबाट हेर्दा एक नेपाली–अमेरिकी । मेरो यो स्टाटस पनि जन्मले नै अमेरिकी नागरिकले अंगिकृत अमेरिकी नागरिकमाथि उठाउने प्रश्नको घेराबाट बाहिर हुँदैन, छैन ।

यो एक जाजय प्रश्न हो । म विनम्रतापूर्वक यस प्रश्नको सम्मान गर्दै फेरि पनि भन्छु, म एक निष्ठावान्, वफादार अमेरिकी नागरिक हुँ । म जन्मले अमेरिकी हुन सकिन, तर चाहेरै न्याचुराइल्जड भएको अमेरिकी हुँ ।

अमेरिकी नागरिकता लिने क्रममा सपथको पहिलो वाक्य नै थियो ‘म यहाँ शपथपूर्वक घोषणा गर्दछु कि, म यसअघि जुन विदेशी राजा, शासक, राज्य वा सार्वभौमसत्ताको नागरिक वा प्रजाहरू थिएँ, तिनीहरूप्रतिको सम्पूर्ण निष्ठा र बफादारितालाई पूर्ण रूपमा त्याग्दछु ।’

यसको अर्थ सिधा छ, मेरो निष्ठा र वफादारिता अब मेरो जन्मदेश नेपालप्रति हैन, न्याचुरालाइज्ड नागरिकता भएको अमेरिकाप्रति हुनुपर्छ । यतिसम्म कि अमेरिका र नेपालको हितमध्ये एउटा छान्नुपर्दा बिना हिच्किचाहट अमेरिकाकै हित छान्नुपर्छ ।

म आफ्नो जिम्मेवारी लिएर सगौरव भन्न सक्छु, ‘म मेरो महान् देश अमेरिकाको हितभन्दा पर केही पनि देख्दिन ।‘ तर, म अमेरिकामा रहेका तमाम नेपाली–अमेरिकीको जिम्मा लिन सक्दिन । खासगरी ती नेपाली–अमेरिकी जो नेपालको वंशजको नागरिकता राख्न पाउँ भन्दै दोहोरो नागरिकताको लागि रातदिन रोइलो गरिरहेका छन् ।

मलाई अरू पनि धेरै नेपाली–अमेरिकीको वफादारिताप्रति शंका छ, जो रातारात धनी हुन हुण्डीदेखि तल्लो बाटोको मानव तस्करीलगायतका गैरकानूनी धन्दामा लिप्त छन् । उनीहरू यता कमाएर उतै ओसार्न चाहन्छन् । र, सोध्यो भने धेरैको एउटै उत्तर हुन्छ, मर्न त उतै जाने ।

यस्तै सोच र कोणका नेपाली–अमेरिकीका कारण यतिबेला नेपाल र नेपाली–अमेरिकी जनताले अमेरिका र अमेरिकी जनताको विश्वास र सम्मान गुमाइरहेका छन् । निश्चित पनि यो एक खेदको विषय हो ।

म चाहन्छु, अमेरिका र नेपालको सम्बन्ध अरू सौहार्दपूर्ण होस् । यसका लागि अमेरिकामा रहेका तमाम नेपाली–अमेरिकी पनि सम्झिउन्– नागरिकताको शपथ लिँदा गरेको यो वाचा, ‘म यहाँ शपथपूर्वक घोषणा गर्दछु कि, म यसअघि जुन विदेशी राजा, शासक, राज्य वा सार्वभौमसत्ताको नागरिक वा प्रजाहरू थिएँ, तिनीहरूप्रतिको सम्पूर्ण निष्ठा र बफादारितालाई पूर्ण रूपमा त्याग्दछु ।’

यही वाचा शिरोधार्य गर्दै उल्टो/सुल्टो दुबैखाले पिरामिड बनाउने हतारको साहित्य लेखनबाट विश्राम लिएको छु । मेरो लागि यो प्रिय रोजाइ हैन । लेख्ने क्रममा कहिलेकाँही सन्दर्भले केही अपेक्षा गरेको हुन्छ तर त्यही रूपमा प्रस्तुत गर्न सकिन्न । त्यो भनेको लेखनप्रतिको बेइमानी त हो नै, आफ्नो पेशागत दायित्वप्रतिको गैरजिम्मवारीपन पनि हो ।

यही सत्यवोधका साथ ‘बिलोम’बाट विदा मागेँ । आखिर भेट्टिनु/छुट्टिनु त संसारको रीत नै हो, हैन र ?
प्रिय पाठकहरू, तपाईँहरू सबैको जय होस् ।

प्रतिक्रिया दिनुहोस्