Logo
Logo

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवद्र्धन गर्ने साझेदारी


0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ ।

एनसीसीका अध्यक्ष कमलेश अग्रवाल र एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन तथा व्यापार, उद्योग र उद्यमशीलताको विकासमा सहजीकरण गर्न दुवै संस्थाले सहकार्य गर्नेछन्।

एनसीसी अध्यक्ष अग्रवालले समझदारीले गैरआवासीय नेपालीमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहज वातावरण बन्ने अपेक्षा व्यक्त गरे।

’हामी दुवै पक्षबीच भएको समझदारीले नेपालमा स्वदेशी तथा गैरआवासीय नेपाली व्यावसायिक समुदायबीच सहकार्य सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौँ,’ उनले भने, ’यसले ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानका लागि पनि मार्गप्रशस्त गर्नेछ।’

एनआरएनए अध्यक्ष डा. शर्माले नेपालका विभिन्न कानुनी जटिलताका कारण वैदेशिक लगानी भित्र्याउन समस्या भइरहेको बताए।

’दुवैबीच भएको समझदारीपत्रले व्यापार प्रवद्र्धन र देशमा प्रत्यक्ष लगानी भित्र्याउन नीतिगत रूपमा सहज वातावरण बनाउन आवश्यक छ,’ उनले भने।

समझदारीअनुसार एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा विभिन्न व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन्। यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ।

त्यस्तै, निर्यातमुखी उद्योगको प्रवद्र्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालनमा पनि दुवै संस्थाले सहकार्य गर्नेछन्।

क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्ने र एकअर्काबीच अनुभव, विशेषज्ञता तथा उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति भएको छ।

व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख छ।

अध्यक्ष अग्रवालले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता नभएसम्म स्वदेशी तथा विदेशी लगानीकर्तालाई पूर्ण रूपमा आकर्षित गर्न नसकिने बताए।

’आजको समझदारीपत्र केवल कागजमा सीमित हुनु हुँदैन,’ उनले भने, ’यसलाई व्यवहारमा उतार्दै लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस परिणाम दिनुपर्छ।’

एनआरएनए अध्यक्ष शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

उनले एनआरएनए विदेशमा बस्ने नेपालीको मात्र संस्था नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पु¥याउने साझा मञ्चका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्