
काठमाडौं । सप्तरीमा मृत भेटिएकी २ वर्षीया बालिकालाई उनकै सौतेनी आमाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
शम्भुनाथ नगरपालिका–३ घर भएका मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार घरबाट हराएको दुई घण्टामा मृत भेटिएकी थिइन् । घर पछाडिको झाडीमा भेटिएको शव प्रहरीले पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ ।
हत्यामा संलग्न आरोपमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरीका एसपी रूपक खड्काले जानकारी दिए । मुस्कान मृतक नाबालिकाकी कान्छी आमा हुन् । मोहम्मद इरफानकी जेठी पत्नी र कान्छीको बिचमा विवाद भएको थियो ।
मृतकका बुवा मोहम्मद वैदेशिक रोजगारीका लागी कतारमा छन् । शनिबार दुई पत्नीको बिचमा सौता लाग्न आएको विषयमा विवाद भएको स्थानीयहरूले बताएका छन् । ‘सम्पत्तिको हकदार को हुने ?’ भन्नेबारे पनि दुई जनाको बिचमा विवाद भएको थियो ।
पुख्र्यौली घरमा इरफानका जेठी पत्नी र छोरी बस्दै आएका थिए । कान्छी पत्नी सोही ठाउँ नजिकै डेरा लिएर बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानबाट मुस्कानले हत्या गरेको देखिएको एसपी खड्काले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















