काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् ।

सभापति थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्य तथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गर्ने सरकारलाई आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘यसर्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ- अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस् । सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो ।’
२०७३ असोजमा मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी र मानवअधिकार उल्लङ्घनका घटना छानबिन गर्न उक्त आयोग गठन गरिएको थियो ।













