काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मागरले आज लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ । पार्टीले विपक्षमा मतदान गर्न नसक्ने अवस्थामा तटस्थ रहन वा बैठकमा अनुपस्थित हुनसमेत ह्विप जारी गरेको हो ।

बागमती प्रदेशसभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले जारी गरेको ह्विप पार्टीका सबै प्रदेशसभा सदस्यलाई पठाइएको बताइएको छ ।
अर्कोतर्फ राप्रपा प्रमुख सचेतकको हैसियतमा डम्बर तामाङले अर्को ह्वीप जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिन निर्देशन दिएका छन् । उनले भदौ ७ गतेको दलको संसदीय दलको बैठकको निर्णय र संसदीय दलका नेताको आदेश तथा राप्रपा संसदीय दलको विधान अनुसार विश्वासको मत दिन ह्वीप जारी गरेका छन् ।सरकारलाई समर्थन दिँदा नै राप्रपामा विवाद भएपछि राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासित गरेको छ ।
त्यस्तै, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ ।
सांसदहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिइएको श्रेष्ठले बताएका छन् । उनीहरूलाई टेलिफोन, सन्देश तथा अन्य माध्यममार्फत स्पष्टीकरणसम्बन्धी सूचना पठाइएको राप्रपाले जनाएको छ ।













