
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ ।
विदेशबाट हवाई माध्यममार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ । सरकारले आवश्यकताका आधारमा ती सामग्री बाढी प्रभावित क्षेत्रमा वितरण गर्ने जनाएको छ ।
त्यस्तै स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ । संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाइनेछ ।
राहत सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले सरकारले तोकेका उक्त तीन स्थानमध्ये आफूलाई सहज हुने स्थानमा सामग्री पु¥याउन सक्नेछन् ।
राहत सामग्री बुझाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय आपतकालीन गोदामघरका लागि श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) ९८४१८७९२२२लाई सम्पर्क गर्न सकिनेछ ।
त्यसैगरी, नेपाली सेनाको मैथेली ब्यारेक, बट्टार, नुवाकोटका लागि आविष्कार (नेपाली सेना) ९८५१२३४३२४ लाई सम्पर्क गर्न सकिनेछ । बैरेनी ब्यारेक, धादिङका लागि दिलीप घले ९८५११५४२२६ लाई सम्पर्क र्गन सकिनेछ ।
यसबाहेक आर्थिक सहयोग गर्न चाहने दाताहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा योगदान गर्न सक्नेछन् र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्ने सरकारले जनाएको छ ।















