Logo
Logo

जोखिममा नेपाली श्रमिकको जीवन


0
Shares


संसारको नक्सामा रहेको एउटा यस्तो देश, जहाँ लाखौँ नेपाली श्रमिकहरूले श्रम गरेर आफ्नो जीवन धानिरहेका छन् । त्यसमा पनि घरायसी आर्थिक अवस्था नाजुक रहेका नेपाली श्रमिकहरूको बाहुल्यता उल्लेख्य रहेको छ । अन्य देशको तुलनामा कम लगानीमा नेपालबाट तोकिएका मापदण्ड पूरा गरेर श्रमको लागि झट्ट पुग्न सकिने मुलुकमध्ये एउटा गन्तव्य साउदी अरेबिया हो । मध्यपूर्वमा अवस्थित त्यही देशको ताजा प्रसंगबारे यहाँ उल्लेख गर्न खोजिएको छ । उसो त म आफैँ पनि साउदी अरबमै श्रम बेचिरहेको नेपाली हुँ ।

यहाँको तातो हावा, लामो कामको समय, परिवारबाट टाढा बस्नुपर्ने बाध्यता र प्रत्येक महिनाको कमाइबाट घरका आवश्यकता पूरा गर्नुपर्ने जिम्मेवारी के हो भन्ने कुरा किताबमा पढेर मात्रै बुझिँदैन । यहाँ पसिना बगाउने श्रमिकको जीवन केवल तलबको अङ्कमा सीमित छैन । उसले कमाएको पैसाभित्र आमाको औषधि, छोरा–छोरीको पढाइ खर्च र घरको ऋण सबै अल्झिएको हुन्छ । हरेक नेपाली कुनै दिन सबै काम पूरा गरेर आफ्नै माटोमा फर्किने सपना हुन्छ । कम खर्चमा वैदेशिक रोजगारीमा जानका लागि सामान्य सीप भएका मानिसले समेत काम पाउन सक्ने र परिवारको आर्थिक अवस्था सुधार्ने आशा गर्न सकिने देशका रूपमा साउदी अरबलाई नेपालीले रोज्दै आएका छन् ।

तर आज त्यही साउदी अरबको आकाशमा उडिरहेका ड्रोन, आकाशबाट खसिरहेका क्षेप्यास्त्रका अवशेष र तेलका महत्त्वपूर्ण प्रतिष्ठान तथा विमानस्थललाई निशाना बनाइएका समाचारले लाखौँ नेपाली श्रमिकको मनभित्र अनिश्चितताको कालो बादल मडारिन थालेको छ ।

नेपाली श्रमिकको विदेश यात्रा वास्तवमा विमान चढेको दिनबाट मात्र होइन, पासपोर्ट बनाउने सोच पलाएको दिनदेखि नै सुरु हुन्छ । घरमा आम्दानीको बाटो नहुँदा, खेतबारीले वर्षभरि खान नपुग्दा, साहुको ऋण बढ्दै जाँदा र परिवारको भविष्य अन्धकार देखिँदा उ विदेश जान बाध्य हुन्छ । गाउँघरमा कसैले विदेश गएर घर बनाएको देख्छ, कसैले ऋण तिरेको सुन्छ, कसैले छोराछोरीलाई राम्रो विद्यालयमा पढाएको देख्छ । अनि उसलाई पनि लाग्छ कि एकपटक विदेश पुग्न सके जीवनका अप्ठ्याराहरू मेटिन सक्छन् ।

यस्तै आशाको ढोका समातेर ऊ पासपोर्ट बनाउन सरकारी कार्यालय धाउँछ, कागजात मिलाउँछ र आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको ठान्छ । परन्तु त्यहीँबाटै उसको आर्थिक र मानसिक शोषणको वास्तविक सुरुवात हुन्छ । विदेशमा राम्रो काम, आकर्षक तलब, निःशुल्क आवास, खानाको सुविधा र नियमित रोजगारी लगायतका सपना देखाएर दलालहरू उसको नजिक पुग्छन् ।

कतिपयले वास्तविकताभन्दा ठूलो तलबको आश्वासन दिन्छन्, कतिपयले कामको प्रकृति लुकाउँछन्, कतिपयले कम्पनी र करारको वास्तविक अवस्था बताउँदैनन् । विदेश पुगेपछि सबै कुरा बदलिन्छ भन्ने आश्वासन दिँदै उनीहरू श्रमिकको विश्वास जित्छन् ।

आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याउने आशामा रहेको गरिब मानिसले त्यस्ता आश्वासनलाई सजिलै पत्याउँछन् । किनकि, उससँग धेरै विकल्प हुँदैनन् । उसलाई शङ्का लागे पनि जोखिम लिनुपर्ने बाध्यता हुन्छ, प्रश्न उठाउन खोजे पनि अवसर गुम्ने डर हुन्छ । यही विवशताको फाइदा उठाएर कसैले उसको सपना बेच्छ, कसैले उसको विश्वास बेच्छ र कसैले उसको जीवनका वर्षहरू नै आफ्नो व्यापारको वस्तु बनाइदिन्छ ।

जसोतसो विभिन्न सपनाको भारी बोकेर झन्डै चारलाख नेपाली कामदार कार्यरत रहेको साउदी अरेबिया विगत दुईवर्ष अघिसम्म लगभग शान्ति भूमि जस्तै थियो । यद्यपि, पश्चिमा राष्ट्रहरूको मनमुटाब, शक्ति प्रदर्शन र आपसी द्वन्द्व पछि अचेल रण मैदान जस्तै बनिरहेको छ । जहाँ हिजोआज दैनिक मिसाइलहरू खस्छन्, हतियारधारी ड्रोनहरू उड्छन्, विमानस्थलहरू निशानामा पर्छन् र तेलका प्रशोधन केन्द्रहरूमा आक्रमणको खतरा मडारिरहन्छ ।

समाचारका पर्दामा साउदी अरेबियाको सैन्य शक्ति, प्रतिरक्षा प्रणाली र युद्धको रणनीतिबारे चर्चा चलिरहेकै छन् । तर त्यही देशका गल्ली, सडक, श्रमिक शिविर, पेट्रोल पम्प, निर्माणस्थल र औद्योगिक प्रतिष्ठानमा पसिना बगाइरहेका लाखौँ आप्रवासी श्रमिकको मनभित्र कस्तो भूकम्प गइरहेको होला ? भन्ने प्रश्नले समाचारका शीर्षकमा त्यति ठाउँ पाइरहेको देखिँदैन । यो केवल एउटा देशको सुरक्षा चुनौती होइन, लाखौँ नेपाली परिवारको जीवन, जीविका र भविष्यसँग गाँसिएको गम्भीर मानवीय प्रश्न पनि हो ।

यमनमा सक्रिय हुथी विद्रोहीहरूले साउदी अरबका विमानस्थल, तेलसम्बन्धी प्रतिष्ठान र महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाउँदै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र पारेपछि त्यहाँ कार्यरत नेपाली श्रमिकको चिन्ता स्वाभाविक रूपमा बढेको छ । गत अक्टोबर २१ मा साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परि एक नेपाली श्रमिक र एक फिलिपिनि नागरिकको ज्यान गयो । साउदी प्रतिरक्षा प्रणालीले ड्रोन रोके पनि त्यसका अवशेष खस्दा ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी भएको विवरण सार्वजनिक भएको छ ।

त्यसै दिन दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा कयौँ नेपालीसहित अन्य मानिसहरू समेत घाइते भएको खबर पनि बाहिर आएको छ । यी घटना केवल समाचारका केही पङ्क्ति होइनन्, यिनले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि युद्धको जोखिम कति नजिक आइपुगेको छ भन्ने कठोर वास्तविकता उजागर गरेका छन् ।

युद्धको राजनीति गर्नेहरूका आफ्नै स्वार्थ हुन्छन् । उनीहरूका रणनीतिक लक्ष्य हुन्छन्, सामरिक हिसाबकिताब हुन्छन् र शक्तिको प्रतिस्पर्धामा आफूलाई बलियो देखाउने महत्त्वाकांक्षा हुन्छ । तर युद्धको मैदानमा आफ्नो स्वार्थको झन्डा गाड्नेहरूले प्रायः एउटा साधारण प्रश्न बिर्सन्छन् कि उनीहरूको निशानामा परेको संरचनाको आसपास काम गरिरहेका निर्दोष मानिसको दोष के हो ? तेलको प्रशोधन केन्द्रमा काम गर्ने नेपाली श्रमिकले कुन अपराध गरेको हुन्छ ? विमानस्थलमा ड्युटी गरिरहेको कुनै कामदारले कुन युद्धको पक्ष लिएको हुन्छ ? पेट्रोल पम्पमा उभिएर ग्राहकको गाडीमा इन्धन भरिदिने मानिसको शत्रु को हुन्छ ?

यी प्रश्नको उत्तर युद्धको भाषामा भेटिँदैन, किनकि युद्धको भाषाले प्रायः शक्तिको हिसाब बुझ्छ, श्रमको मूल्य बुझ्दैन र मानिसको आँसुको हिसाब राख्दैन । युद्ध र प्रतिशोधको यो चक्रमा नागरिक जीवनलाई निशाना बनाउनु कुनै पनि तर्कले उचित ठहरिन सक्दैन । कुनै राजनीतिक वा सैन्य विवाद छ भन्दैमा सर्वसाधारणको ज्यान जोखिममा पार्ने अधिकार कसैलाई हुँदैन ।

एउटा गम्भीर विषय के हो भने नेपालमा जब रेमिट्यान्स बढ्छ, त्यसलाई राज्यद्वारा अर्थतन्त्रको सकारात्मक सूचकका रूपमा प्रस्तुत गरिन्छ । जब विदेशबाट आउने पैसा घट्छ, त्यसबारे आर्थिक चिन्ता व्यक्त गरिन्छ । तर त्यो पैसा कसरी कमाइन्छ ? श्रमिकले कस्तो काम गर्छ ? उसको कार्यस्थल कति सुरक्षित छ ? उसले समयमै तलब पाउँछ कि पाउँदैन? बिरामी हुँदा उपचार पाउँछ कि पाउँदैन ? र युद्धको जोखिम बढ्दा उसको सुरक्षाको व्यवस्था के हुन्छ ? भन्ने प्रश्नले सामान्य चासो समेत पाएको देखिँदैन । रेमिट्यान्सलाई आर्थिक उपलब्धिका रूपमा गणना गर्ने राज्यले त्यसको स्रोत बनेका श्रमिकको सुरक्षालाई पनि राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ ।

तत्कालका लागि अरू गर्न नसके पनि नेपाल सरकारले युद्धका कारण उडान र आवागमन प्रभावित भएका श्रमिकका लागि उद्धार र राहतको स्पष्ट योजना बनाउनुपर्छ । कयौँ मानिसहरूको घर फर्किने समय र टिकट निश्चित भइसकेर पटकपटक स्थगित भइरहेको छ । कसैको परिवारमा गम्भीर बिरामी हुन सक्छ, कसैको करार अवधि सकिएको हुन सक्छ र कसैलाई आपत्कालीन कारणले स्वदेश फर्किनुपर्ने हुन सक्छ । विमानस्थलमा आक्रमणको जोखिम वा उडान अवरोध हुँदा उनीहरूलाई वैकल्पिक यात्राबारे सुरक्षित र आधिकारिक यात्राको पहल गर्न राजदूतावासले पहल गर्नुपर्ने हो ।

यद्यपि, दूतावासले महिनौँ देखि टिकट हातमा समाएर घर फर्किन प्रतीक्षा गरिरहेका आफ्ना नागरिकहरूकै नाममा विज्ञप्ति जारी गरेर झारा टारेको नाटक मञ्चन गरिरहेको छ । हाम्रो कमाइको हिसाब राख्ने सरकारले हाम्रो सुरक्षाको हिसाब पनि राखोस् भन्ने यहाँ कार्यरत नेपाली श्रमिकहरूको धारणा हो । हाम्रो रेमिट्यान्सले देशको अर्थतन्त्र धानिन्छ भने हाम्रो जीवन जोगाउने जिम्मेवारी पनि राज्यले धान्न सक्नुपर्छ भन्ने साउदी अरेबियामा पसिना बगाइरहेका आम नेपाली श्रमिकहरू को सार्वजनिक अपिल हो ।
लमही दाङ, हालः साउदी अरेबिया

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000