
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’मा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।
उक्त उजुरीमा ‘काँग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने’ भन्ने विषय उल्लेख रहेको भन्दै शर्माले उजुरी झुटो हो वा राज्यकै आडमा अपराधका डिजाइनहरू बनिरहेका छन् भन्ने प्रश्न गरेका छन् ।
‘पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक हो,’ उनले लेखेका छन्, ‘इनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा होइन, बिचौलिया इनम र निजको कर्मसँग जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ ।’
षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै गएको उल्लेख गर्दै शर्माले अब पर्दा पूरै च्यातिनुपर्ने बताएका छन् ।
उनले घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको भन्दै त्यसका लागि संसद्ले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् ।



















