
काठमाडौँ । रोहित शर्मा फेरि इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली मुम्बई इन्डियन्सको कप्तान बनेका छन् । फ्रेन्चाइजीले शुक्रबार रोहितलाई पुनः कप्तान बनाउने घोषणा गरेको हो ।
रोहितले आईपीएल २०२७ मा टोलीको नेतृत्व गर्नेछन् । उनले हार्दिक पाण्ड्याको स्थान लिनेछन् ।
रोहितले यसअघि ११ सिजन मुम्बईको कप्तानी गरिसकेका छन् । उनको नेतृत्वमा मुम्बईले पाँच पटक आईपीएलको उपाधि जितेको थियो । तर, २०२४ को सिजनअघि रोहितलाई हटाएर हार्दिकलाई कप्तान बनाइएको थियो ।
न्युजिल्यान्ड भ्रमणमा जानुअघि फ्रेन्चाइजीले रोहितसँग कप्तानीबारे छलफल गरेको थियो । छलफलका क्रममा रोहितले तिलक वर्मालाई कप्तान बनाउन सुझाव दिएका थिए । तर, फ्रेन्चाइजीको पटकपटकको आग्रहपछि उनी आफैँ कप्तानी सम्हाल्न तयार भएका हुन् ।
हार्दिकको नेतृत्वमा तीन सिजनमा एक पटक मात्रै प्लेअफमा
फ्रेन्चाइजीले २७ नोभेम्बर २०२३ मा गुजरात टाइटन्सबाट ट्रेड गरेर हार्दिक पाण्ड्यालाई टोलीमा भित्र्याएको थियो । त्यसपछि उनलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।
तर, हार्दिकको नेतृत्वमा पनि मुम्बईको प्रदर्शनमा सुधार आउन सकेन । ड्रेसिङ रुममा असमझदारी र खेलाडीबीच गुटबन्दी भएको चर्चा पनि चलेको थियो । यद्यपि, यस विषयमा टोली वा व्यवस्थापनले कुनै प्रतिक्रिया दिएको थिएन ।
हार्दिकको कप्तानीमा मुम्बईले पछिल्ला तीन सिजनमा एक पटक मात्रै प्लेअफमा स्थान बनाउन सक्यो । उनको नेतृत्वमा टोलीले खेलेका ३९ खेलमध्ये १५ खेलमा मात्रै जित निकालेको थियो ।
मुम्बईले पञ्जाब किंग्ससँग खेलाडी साटफेर गर्दै भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोलीमा भित्र्याएको छ । उनी १८ करोड रुपैयाँ पारिश्रमिकमा मुम्बईसँग जोडिनेछन् ।
यता, हार्दिक पाण्ड्या पञ्जाब किंग्समा गएका छन् । उनको नयाँ पारिश्रमिक १८ करोड रुपैयाँ निर्धारण गरिएको छ । यसअघि उनले १६ करोड ३५ लाख रुपैयाँ पाउँदै आएका थिए ।
आईपीएल २०२७ को खेलाडी लिलामीअघि मुम्बई इन्डियन्सले आफ्नो सम्पूर्ण प्रशिक्षक टोलीमा फेरबदल गरेको छ ।
महेला जयवर्धनेको स्थानमा वेस्ट इन्डिजका पूर्वक्रिकेटर किरोन पोलार्डलाई मुख्य प्रशिक्षक बनाइएको छ । त्यस्तै, भारतीय टोलीका पूर्वक्रिकेटर रोबिन उथप्पा ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् ।
न्युजिल्यान्डका पूर्वतीव्र गतिका बलर मिचेल म्याक्लेनेघनलाई बलिङ प्रशिक्षक, टी. दिलीपलाई फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णीलाई विकासात्मक बलिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।



















