काठमाडौं, ९ माघ । नेकपा विभाजनपछि बागमती प्रदेश सरकार पनि संकटमा परेको छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेशसभामा पेश हुँदैछ ।
मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएपछि नै सरकार संकटमा परेको छ ।
गत पुस १० गते प्रचण्ड–माधव समूहका ४५ प्रदेशसभा सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

प्रदेशसभाको बैठक आजका लागि बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने प्रचण्ड–नेपाल समूहको तयारी रहेको छ ।
नेकपा प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मरकट्टेलले मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव आज टेबल हुने जानकारी दिए । यो बाहेक आजको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गर्नेछ । आजको बैठकमा अविश्वासको प्रस्ताव पेश मात्र हुनेछ । मतदानको प्रक्रियामा लैजान अझै केही समय लाग्ने भएको छ ।
बागमती प्रदेशसभामा दलहरुको अवस्थाः
बागमती प्रदेशसभामा १ सय १० जना सांसद रहेका छन् । अविश्वासको प्रस्ताव पारित हुन बहुमत अर्थात ५६ सांसद आवश्यक पर्छ । नेकपाको कूल सांसद ८० रहेको छ ।
नेकपा विभाजित पछि प्रचण्ड–माधव समूहका ४५ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकाले मुख्यमन्त्री पौडेल अल्पमतमा छन् ।
४५ जनामा अझै बढ्न सक्ने नेता शालिकराम जम्मरकट्टेलले जानकारी दिए । तर, ओली समूहका मुख्यमन्त्री पौडेलको पक्षमा ३४ जना सांसद रहेको दाबी छ ।
भौतिक पूर्वाधार मन्त्री रामेश्वर फूयाँलले आफूहरुको पक्षमा अझै बढ्ने दाबी गरे ।
अविश्वासको प्रस्ताव पारित गर्न वा असफल बनाउनका लागि दुबै समूहलाई कांग्रेसको साथ चाहिन्छ ।
कांग्रेससँग २२ सदस्य रहेका छन् । कांग्रेसले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे ६७ हुन आउँछ, जुन प्रस्ताव पारितका लागि सहज हुन्छ ।
तर, कांग्रेसले विपक्षमा मतदान गरे अविश्वासको प्रस्ताव अस्वीकार हुन्छ । कांग्रेस बाहेक साना दलहरु विवेकशील साझासँग ३, राप्रपासँग २, नेपाल मजदूर किसान पार्टीसँग २ र एक स्वतन्त्र सांसद छन् ।
कांग्रेसले के गर्छ ?
बागमती प्रदेशमा पनि अहिले निर्णायक बनेको कांग्रेसले के गर्ने भन्ने निर्णय गर्न सकेको छैन । कांग्रेस ‘पर्ख र हेर’कै अवस्थामा छ ।
केन्द्रमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद कायमै रहँदा कांग्रेस ठोस निर्णयमा पुग्न सकेको छैन ।
बागमती प्रदेशमा मुख्यमन्त्रीकै प्रस्ताव समेत नेकपाका दुबै समूहले गरेकाछन् । अहिलेकै अवस्थामा सरकारमा जान नहुने कांग्रेसभित्र बहस सुरु भएको छ ।
संघदेखि प्रदेशसम्मका बारेमा निर्णय लिन माघ १३ गते सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन् ।
प्रदेशस्तरमा छलफललाई निरन्तरता दिइरहेको कांग्रेस आफैं अन्योलमा हुँदा बागमती प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पनि अन्योलमै छ ।












