Logo
Logo

सरकारमा जानेबारे जसपामा दुईधार, सत्ताको ‘मुसा दौड’मा नरहेको बाबुरामको ट्वीट !


दृष्टि संवाददाता


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई साथ दिने वा नदिने भन्नेमा जनता समाजवादी पार्टी (जसपा) भित्र एक मत छैन । पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) समूह ओलीलाई समर्थन गर्ने पक्षमा उभिएको छ भने पूर्वसंघीय समाजवादी पार्टी समर्थन गर्न नहुने पक्षमा उभिएको छ ।

हिजो (बिहीबार) बेलुका प्रधानमन्त्री ओलीसँगको छलफल सकारात्मक बताएको जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले त जसपामा मुसादैडमा नरहेको भन्दै सरकारलाई समर्थन गर्न नसकिने आशयमा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्यूजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ! जसपा त्यो मुसादौडमा छैन है !’

भट्टराईको यो पहिलो पटक आएको प्रतिक्रिया मात्र होइन, उनले यसअघि पनि ओलीले राजीनामा दिंदै मार्गप्रशस्त गर्नुपर्ने भनाइहरु राख्दै आएका छन् । पछिल्लो समय ओलीभन्दा प्रचण्डसँग नजिकिन खोजेका उनी कांग्रेस सहित नेकपा माओवादी केन्द्र र जसपाको सरकार बन्नुपर्ने लाइनमा उभिएको जसपा स्रोत बताउँछ ।

ओलीले प्रतिनिधिसभा विघटनको कदम चालेबाटै मुलुकको राजनीतिक संकट निम्त्याउन खोजेको निष्कर्ष निकालेछन् । उता, अध्यक्ष उपेन्द्र यादव पनि वर्तमान सरकारसँग सहकार्य गर्नेभन्दा पनि ओलीको बहिर्गमन चाहेका छन् । स्रोतका अनुसार आफूलाई अपमानजनकरुपमा ओलीले सरकारबाट हटाएको तुष बाँकी राखेका यादव यही सरकारसँग सहकार्य गर्ने मनस्थितिमा छैनन् ।

भट्टराई जस्तै यादव पनि नयाँ समिकरणमा जानुपर्ने पक्षमा छन् । उनलाई अध्यक्ष महन्थ ठाकुरको सक्रियता समेत मन नपरेको जसपा स्रोत बताउँछ । आफ्ना माग अहिलेकै सरकारबाट पुरा गराउन सकिन्ने अवस्थामा एमालेसँग सत्तासाझेदारी गरेर जान सकिने पूर्वराजपा समूहको निष्कर्ष छ ।

अध्यक्ष ठाकुर सहितका पूर्वराजपाका नेताहरु प्रधानमन्त्री ओली आफ्ना माग पुरा गराउन सकारात्मक रहेकाले वर्तमान सरकारलाई नै समर्थन गर्नुपर्ने अडानमा छन् । हिजोको बैठकमा पनि जसपाले रेशम चौधरी सहित नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता, संविधान संशोधन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने शर्त राखेको छ ।

यसमा प्रधानमन्त्री निकै सकारात्मक रहेको जसपाबाट वार्तामा सहभागीहरुको भनाइ छ । यी माग पुरा गर्न एमाले र जसपा दुबैतर्फबाट गठन भएको कार्यदलले छलफल गरेर टुंगोमा पुर्याउने सहमति बनेको एक नेताले बताए ।

प्रधानमन्त्रीसँगको वार्तामा ठाकुर सहित नेताहरु राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण मात्र पुगेका थिए । भट्टराई समेत जाने भनिएपनि उनी अन्तिममा गएका थिएनन् । भट्टराईको निजी सचिवालयका अनुसार दिनभरको थकानले सामान्य स्वास्थ्य समस्या भएकाले उनी नगएका हुन् । तर, उनको असन्तुष्टि झल्किन छाडेको छैन ।

जसपाको आजै (शुक्रबार) बोलाइएको संसदीय दलको बैठक र चैत ५ गते बोलाइएको कार्यकारिणी समितिको बैठकले सत्ता समिकरणबारे ठोस निष्कर्ष निकाल्ने भएको छ । तर, त्यसका लागि पार्टीभित्रै एकमत बनाउन जसपामा निकै मुस्किल रहेको नेताहरु नै स्वीकार गर्छन ।

प्रतिक्रिया दिनुहोस्