Logo
Logo
एमाले बैठक

‘सुरुवात निकै मीठो थियो, अन्त्य भने टर्रो भयो’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताएका छन् ।

छलफलपछि कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले नेपाल समूहसँगको वार्ता कस्तो भयो भनी राखेको जिज्ञासामा वरिष्ठ नेता नेपालले ‘सुरुमा मिठो पछि टर्रो भयो’ भनी प्रतिक्रिया दिए । उनले भने, ‘सुरुवात निकै मीठो थियो । तर, अन्त्य भने टर्रो भयो ।

नेता नेपालले भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्‍याउँ ।’

प्रधानमन्त्री ओलीले भने बैठककाे बिषयमा केही पनि प्रतिक्रिया दिएनन् । उपाअध्यक्ष भीम रावलले भने दुवै पक्षले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको बताए ।

‘हामीलाई जानकारी नभएको कुरालाई हामीले स्वीकार गर्ने अवस्था नै भएन। त्यो कुरा आजको बैठकमा उहाँहरुले स्वीकार गर्ने वातावरण देखेनौँ। त्यसो नभएपछि हामीले मान्ने कुरा आउँदैन’ बैठकपछि उपाध्यक्ष भीम रावलले भने, ‘हामीले सबैकुरा पार्टीको निर्णयअनुसार औपचारिक रुपमा केन्द्रीय कमिटीबाट हुनुपर्छ भनेका हौँ।’

यस्तै सचिव प्रदिप ज्ञवालीले बैठक सकारात्मक भएको भन्दै अब निरन्तर रुपमा छलफल जारी रहने बताए।

‘उहाँहरुले २८ गतेको निर्णयमा मान्नुभएको छैन। हामीले अगाडि बढौँ। त्यो निर्णयलाई थप सुधार गरेर छलफल गरौँ भनेका छौँ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्