Logo
Logo

२०७५ मा नेपाली फिल्म : ‘गफ’ नगरी खाने को छ ?


एमपी सुब्बा


एमपी सुब्बा

‘फिल्म क्षेत्र गफाडीहरुको हो’ अघिल्लो साता फिल्म कार्यक्रममा एक बरिष्ठ पत्रकारले यसो भनिरहँदा नजिकै बसेका फिल्मकर्मीले तुरुन्तै जवाफ दिए, ‘पत्रकारले चाहिँ गफ नगरी खाएको छ र ?’

ती फिल्मकर्मीलाई ‘गफाडी’ शब्द पाच्य भएन होला सायद । फेरि थपे, ‘फिल्मकर्मीहरुको चाहिँदो–नचाहिँदो गफलाई चर्चा गर्ने पनि तपाइँहरु नै हो ।’ बहस झण्डै कुटाकुटसम्म पुग्यो ।

०७५ मा साम्राज्ञीले आफूलाई सबैभन्दा महँगी अभिनेत्रीको रुपमा प्रस्तुत गरेकी थिइन् । तर, लगातार उनी अभिनीत फिल्म फ्लप भएपछि अहिले मौन भएकी छन् । अर्थात् अहिले आएर उनले आफ्नो भाउको कुरा गर्न छाडेकी छन् । र, फिल्म निर्माताहरुले समेत साम्राज्ञीलाई लिनुअघि सोच्न थालेका छन् । यसको मुख्य कारण स्टार भनिएकाहरुमाथि आँखा चिम्लिएर लगानी गर्दा असुरक्षित हुनु हो । ०७५ मा जो–जो निर्माता डुबे, उनीहरुलाई स्टारले डुबाएभन्दा फरक नपर्ला ।

प्रशंग तितो–सत्य नै थियो । तर, तितोसत्य जो–कोहीलाई पच्दैन यहाँ । नयाँ वर्षको अवसरमा अर्थात अन्तिम चैतमा रिलिज भएको नेपाली फिल्म ‘लभ स्टेशन’ले दुई दिनमै करोड कलेक्शन ग¥यो भन्ने सन्दर्भसँगै आएको थियो त्यो प्रशंग ।

फिल्म क्षेत्रको वास्तविकता पनि त्यही छ, जो ‘गफ’ नगरी फिल्म चलाउनै सक्दैन । यस्तोसम्म ‘गफ’ दिए, फिल्मकर्मीको भनाइलाई आत्मसाथ गर्ने हो भने, ‘२०७५ मा रिलिज भएका प्रत्येक फिल्मले करोडमाथि कमाए ।’

०७५ मा करिब १०० को हारहारी फिल्म रिलिज भए । तर, आधा दर्जन निर्माताले पनि आफ्नो यथार्थ आम्दानी खुलाएनन् । जसले बोले, त्यो ‘गफ’मात्र थियो । आफ्नो लगानी डुबाएरै भएपनि फिल्म पत्रकारलाई उनीहरु भन्थे, ‘मेरो फिल्म रिलिज भएको तीन दिनमै करोड क्लवमा प्रवेश ग¥यो ।’

एउटा निर्माता तथा निर्देशकले नै त्यति भनेपछि फिल्म पत्रकारलाई के नै चाहियो र ? त्यही आधारमा फिल्मी पत्रकारहरु लेख्छन्, ‘फलानाको फिल्मले करोडको व्यापार ग¥यो ।’ फिल्मी पत्रकारसँग आफ्नो फिल्मले दुई करोड कमाएको निर्धक्क भन्ने निर्माताहरु भने फुस्रो अनुहार लिएर फुटपाटको चिया पसलमा गफिरहेको भेटिन्थे । तर, त्यही दृश्यले नेपाली फिल्मको निरीह अवस्थालाई चित्रण गरिरहेको हुन्थ्यो, हुन्छ ।

यदि वास्तविकता नै भन्ने हो भने ०७५ मा अधिकांश निर्माताले आफ्नो फिल्मको पब्लिसिटी खर्चसमेत उठाउन सकेनन् । एउटा फिल्मको लागत कम्तीमा ५० लाख रुपैयाँ हुन्छ ।

पछिल्लो समय नेपाली फिल्महरु करोडमाथिका पनि बन्न थालेका छन् । तर, समग्र नेपाली फिल्मको लगानी ८० देखि ९० लाखसम्म हो । फिल्म निर्माताले प्रचारमै मात्र २५ लाख रुपैयाँसम्म खर्च गर्दै आएका छन् । तर, अधिकांश फिल्मले २०७५ मा १० लाख रुपैयाँ समेत उठाउन सकेन । तर, आफ्नो नयाँ प्रोजेक्टमाथि असर पर्ने डरले ‘फुस्रो ओठ’को हाँसोले फिल्मी पत्रकारलाई करोड कमाएको समाचार ‘भँगेरे अक्षर’मा लेख्न लगाउने गरेका छन् ।

आशा गर्दा निराशा

नेपाली फिल्म क्षेत्रमा केही यस्ता ‘राईजिङ स्टार’ छन् । उनीहरुको भविष्य निर्माता र निर्देशकमा निर्भर छ । तर, तिनै ‘राईजिङ स्टार’हरुलाई ‘स्टार’कै रुपमा लिँदा निर्माताहरु डुब्न पुगे । उनीहरु कथावस्तुभन्दा स्टारको पछि लगानी फसाउन पुगे । ‘जहाँ आशा, त्यहाँ निराशा’ भएपछि बल्ल उनीहरुमा ज्ञान पलाएको छ, ‘फिल्म चल्नलाई विषयवस्तु नै चाहिने रहेछ ।’

०७५ मा अधिकांश निर्माता र निर्देशक अनमोल केसी र प्रदिप खड्काजस्ता स्टारको पछि लागेका थिए । तर, दर्शकले ‘स्टार’लाई नभएर कथावस्तुलाई रोजेपछि ती फिल्मले हावा खाए, जबकि प्रदिपका तीन वटा रोमान्टिक फिल्म ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेसन’ले आफ्नो लगानीसमेत उठाउन सकेन ।

यस्तै, अभिनेता अनमोल केसी नेपाली फिल्मका ‘स्टार’ मानिन्छन् । तर, यिनै स्टारको कुनैपनि फिल्मले ०७५ मा उत्साहजनक व्यापार गरेन । वर्षको अन्त्यतिर रिलिज भएको अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ यति कमजोर बन्यो, जसले अनमोलको स्टारडममा समेत असर प¥यो ।

यस्तै, २०७५ मा चर्चामा आएकी अभिनेत्री हुन् साम्राज्ञीराज्य लक्ष्मी शाह । नयाँ पुस्ताकी यी अभिनेत्रीले मिडियामा चर्चा पाएजस्तो उनको फिल्मले व्यापार गरेन । साम्राज्ञी अभिनीत फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ र ‘कायरा’को व्यापार कमजोर देखियो । ती फिल्मले सोचजस्तो व्यापार नगरेपछि साम्राज्ञीको भाउ समेत घट्यो ।

०७५ मा साम्राज्ञीले आफूलाई सबैभन्दा महँगी अभिनेत्रीको रुपमा प्रस्तुत गरेकी थिइन् । तर, लगातार उनी अभिनीत फिल्म फ्लप भएपछि अहिले मौन भएकी छन् । अर्थात् अहिले आएर उनले आफ्नो भाउको कुरा गर्न छाडेकी छन् । र, फिल्म निर्माताहरुले समेत साम्राज्ञीलाई लिनुअघि सोच्न थालेका छन् । यसको मुख्य कारण स्टार भनिएकाहरुमाथि आँखा चिम्लिएर लगानी गर्दा असुरक्षित हुनु हो । ०७५ मा जो–जो निर्माता डुबे, उनीहरुलाई स्टारले डुबाएभन्दा फरक नपर्ला ।

अहिलेसम्म स्मरण योग्य वर्ष छैन

फिल्मी क्षेत्र उकालो लागेको वर्ष फिल्मकर्मीकै स्मरण छैन । हरेक वर्ष यसै समय ‘वर्ष समीक्षा’ हुन्छ र प्रतिफल सधै ‘निराश’ । यो क्रम करिब ६ दशकदेखि निरन्तर चल्दै आएको छ ।

तर, फिल्म क्षेत्र जति निराश भएपनि नयाँ–नयाँ प्रतिभा र निर्माताहरुको आगमन भइरहेकै हुन्छ । जसले अर्को वर्षका लागि आशा जगाएको हो । तर, आशा आशामै सिमित हुन्छ । गत वर्ष अनमोल केसी, प्रदीप खड्काहरुले नयाँ आशा जगाएका थिए । तर, यसपटक तिनै आशा गरिएकाहरुबाटै निर्माताहरु पुर्पुरोमा हात राख्न बाध्य भएका छन् ।

यस्तै, ०७५ मा पनि केही नयाँ फिल्म मेकर्सहरुको उदय भएको छ । फिल्म ‘बुलबुल’मार्फत निर्माताका रुपमा उदाए विनोद पौडेल । उनले नेपाली फिल्ममा केही नयाँ स्वाद दिने प्रयास गरे । महिला टेम्पो ड्राइभरको कथामाथि फिल्म बनाएर चुनौती मोलेका पौडेलले अन्ततः दर्शकको तारिफ बुटुल्न सफल भए । उनी यस वर्षका लागि आशावादी फिल्मकर्मीमा पर्छन् ।

यस्तै अर्को फिल्म हो, ‘प्रसाद’ । दिनेश राउत निर्देशित ‘प्रसाद’ सम्भवः ०७५ मा सबैभन्दा बढी चर्चा पाउने फिल्म हो । फिल्म पत्रकार सुशील पौडेलको कथामा निर्मित ‘प्रसाद’ले लगानी उठाउन सफल भयो वा भएन, त्यो बाहिर ल्याइएको छैन । तर, यसै फिल्मले रोमान्टिक फिल्म निर्देशन गर्दै आएका राउतले आफ्नो धार परिवर्तन गराए । यो फिल्म दर्शकले पनि रुचाए । फिल्म चल्नलाई स्टार चाहिन्न भन्ने ०७५ का लागि उदाहरण हो ‘प्रसाद’ ।

हाँस्यरसमै अल्झियो

एक समय नेपाली फिल्म क्षेत्र रोनाधोनामा चुर्लुम्म डुबेको थियो । त्यो बेला कमेडी र लभ स्टोरी फिल्म कमैमात्र निर्माण हुन्थे । तर, नयाँ पुस्ता हाबी हुन थालेपछि फिल्म दर्शकको मनोभावमा बन्न थालेका छन् ।

हुन त नेपाली फिल्मका निर्देशक तथा निमार्ताहरुमा ‘दर्शकको मत सर्वेक्षण’ गर्ने चलन छैन । उनीहरु पत्रपत्रिका र अनलाइनहरु आएको समाचारकै आधारमा दर्शकसम्म पुग्ने गरेका छन् । मिडिया फलोअप गर्नेहरु सफल हुँदै आएका छन् ।

नेपाली फिल्मका दर्शक कस्तो फिल्म रुचाउँछन् भन्ने कुरा ‘छक्का पन्जा’ र ‘नाइँ नभन्नु ल’को सफलताले दर्साउछ । दर्शक फिल्म हेरेर हाँस्न चाहन्छन् त्यसपछि रुन । यी दुई फिल्मले यस्तै, सन्देश दिएको छ ।

०७५ मा सफल भएका केही फिल्ममध्ये हाँस्यरसका छन् । यसको उदाहरण हो, ‘छक्कापञ्जा–३’को सफलता । हाँस्य अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले हाँस्यरसका फिल्मले उठेका छन् । ०७५ मा पनि यी जोडी सफल देखिए ।

हुन त ‘चौका दाउ’, ‘पिरिम प¥या छन्’, ‘साली कसको भेनाको’जस्ता अन्य हाँस्य फिल्महरु नबनेका होइनन् । तर, ती हाँस्य विधाका अनुभवी कलाकार दिपक र दीपाले जस्तै सफलता हासिल गर्न भने सकेनन् । ०७५ को अन्त्यतिर अधिकांश हाँस्यरसका फिल्म निर्माण भए । हाल फ्लोरमा रहेका फिल्म पनि त्यस्तै छन्, जसले भर्खरै बुझ्दै कि, दर्शक कमेडी फिल्म रुचाउँछन् । ०७५ ले फिल्मकर्मीलाई सिकाएको सबैभन्दा ठूलो पाठ यही हो ।

प्रतिक्रिया दिनुहोस्