Logo
Logo

मिल्दा दुनियाँ जिते, नमिल्दा दुवैले हारे


सन्ताेष साह


काठमाडौं । नेकपा एमालेको ८ औं महाधिवेशन पवित्र नदी तिनाउको किनार बुटवलमा सम्पन्न भयो । झलनाथ खानाल अध्यक्ष निर्वाचित भए । र, भनियो– ‘एमालेका सबै तिक्ताहरू तिनाउ नदीमा बग्यो !’

पाँच वर्षपछि नवौं महाधिवेशन काठमाडौंको दुर्गन्धित ‘टुकुचा’को छेउ भृकुटी मण्डपमा सम्पन्न भयो । त्यतिखेर थाहा भयो, एमालेको तिक्तता तिनाउमा नबगेर टुकुचा जस्तै दुर्गन्धित भएर फैलिएको रहेछ ! आज सोही विन्दुबाट एमाले विभाजित भयो ।

उर्वर एमाले बनाउने माधवकुमार नेपालले राजनीतिक जीवनको उत्तराद्र्धमा नयाँ दल गठन गर्नुपर्ने परिस्थिति कल्पना पनि गर्न सकिने कुरा थिएन । तर, परिस्थितिले माधवलाई यस्तो ठाउँमा पुर्यायो कि, आफै बनाएको एमाले छोड्नु पर्यो, नयाँ दल गठन गर्नुपर्यो !

नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि ओली पार्टीमा शक्तिशाली भए । ओलीसँग अध्यक्षमा पराजित भए पनि माधव कमजोर थिएनन् । नवौं महाधिवेशनमा माधव समूहको उपस्थिति ४५ प्रतिशत भन्दा धेरै थियो । तर, पार्टीको अध्यक्ष हुँदै दुईपटक प्रधानमन्त्री हुँदा ओली उन्मादले हद नाघ्यो ।

शक्तिको आडम्बरमा ओली माधवहरू केही होइनन् भन्ने पक्षमा पुगे । माधव समूहमाथि बारम्बार प्रहार गर्दै गए । हुँदाहुँदा माधवहरूकै अथक संघर्षमा स्थापित व्यवस्था माथि नै ओलीले प्रहार गर्न थाले । त्यहीबाट एमाले विभाजनको यात्रा प्रारम्भ भएको हो । आज व्यवस्था रक्षाकै लागि माधवहरू आफ्नै घरबाट अलग भए, नयाँ पार्टी बनाए ।

माधव-केपी सम्बन्ध

केपी शर्मा ओली र माधवकुमार नेपालबीचको सम्बन्ध आजको होइन । उनीहरू तीन दशकदेखि सँगै छन् । यो अवधिमा धेरै पटक माधव–केपी सँगै रोए, सँगै हासे । माधव–केपी मिल्दा दुनियाँ जितेका छन्, नमिल्दा हारेका छन् । परिस्थितिले आज, केपी र माधव दुवै हारेका छन् ।

जुन बेला केपी ओली पार्टी सत्ताको किनारामा थिए, त्यो बेला माधव–केपीबीच सौहार्दपूर्ण वातावरण नै थियो । माधवले सहयोद्धाकै रूपमा ओलीलाई सम्मान गरिरहे, ओली सहयोगी भूमिका मै थिए । तर, ओली पार्टी शक्तिमा आएपछि माधव–केपी सम्बन्ध सौहार्द हुन सकेन । पार्टी शक्तिमा आएपछि ओलीले माधव सहयोद्धा भन्ने नै भूले । दुई नेताबीच विश्वासको दूरी बढ्दै गयो । ओलीले विगत बिर्से ।

माधवकै प्रस्तावमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको सरकारमा ओली गृहमन्त्री भए । ०६४ देखि ०६५ सम्म ओली उपप्रधान एवं परराष्ट्रमन्त्री थिए । त्यो समय पनि ओलीलाई माधवकै साथ थियो । दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा एमालेको नेतृत्व गर्दै ओली उपप्रधान एवं परराष्ट्रमन्त्रीका रुपमा सरकारमा सहभागी भए । त्यो जिम्मेवारी र अवसरका सिर्जनाकर्ता माधव नै थिए ।

माधव–केपीको विगत सम्झन लायक छ । छैठौं महाधिवेशनको त्यो क्षण आज पनि एमालेजनको मन मस्तिष्कमा ताजै छ । जुन महाधिवेशनमा माधवले केपीलाई तेस्रो वरीयतामा राखेर ‘कार्यनीतिक दस्तावेज’ पेश गर्ने अवसर दिए । ओलीलाई आफूभन्दा उपल्लो वरीयतामा राखेपछि रिसाएका बामदेव गौतमले फरक दस्तावेज नै पेश गरे । मनमोहन अधिकारी अध्यक्ष र नेपाल महासचिव थिए । मदन भण्डारीको मृत्युपछि नेपाललाई महासचिव बनाउन ओलीको योगदान थियो, माधवले पछि ओलीलाई तेस्रो वरीयता दिएर महासचिव बनाउँदाको गुन तिरेका थिए ।

माधव–केपी एक हुनुमा सीपी मैनालीको पनि भूमिका छ । जो निरन्तर संस्थापनविरुद्ध लागिरहे । संस्थापनविरुद्ध हुने गतिविधिको प्रतिरोधले माधव–केपीलाई एक ठाउँमा ल्यायो । सीपी र केपीको सम्बन्ध पहिलेदेखि नै राम्रो थिएन । ओलीसँगको सम्बन्धले माधव पनि सीपीविरुद्ध खरो रुपमा उत्रे । सीपी कमजोर हुँदै जाँदा ओली बलियो हुँदै गए ।

माधव–केपीबीच सम्बन्ध राम्रो हुँदै जाँदा सीपी र बामदेवहरू कमजोर हुँदै गए । त्यसपछि ओली मुख्य नेतृत्वकै दाबेदार बने । त्यो समय ओलीले माधवले लगाएको गुन बिर्से । वामदेव गौतमसँग गठबन्धन गरेर ओलीले सातौं महाधिवेशनमा महासचिव दावी गरे । ओली महासचिव त भएनन् ।

तर, महाधिवेशनमा हारेका आफू निकटलाई केन्द्रीय समितिमा मनोनित नगरे पार्टी नै विभाजन गर्नेे धम्की दिए । पार्टी विभाजनको चेतावनीपछि महासचिव नेपालले केन्द्रीय सदस्यमा पराजित भएका १४ जनालाई केन्द्रीय सदस्य मनोनित गरे । हारेकाहरूलाई माधवले केन्द्रीय सदस्य मनोनित गरेका थिए । त्यसैको बलमा ओलीले शक्ति सञ्चय गर्दै गए । आज, ओलीका तिनै सारथी माधवमाथि प्रहारमा उत्रिए ।

०५८ को दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रको ‘कू’ पछि माधव गिरफ्तारीमा परे । त्यो समय माधवको पद जोगाउन ओली समूहले भूमिका खेल्यो । पहिलो संविधानसभामा पराजित भएता पनि माधव माओवादीको साथमा प्रधानमन्त्री भए । तर, माओवादी नै माधवको सरकार ढाल्न सडकमा उत्रियो । त्यो समय माधवलाई ओलीको बलियो साथ मिल्यो । जुन समय माधव र झलनाथ खनालबीच सम्बन्ध राम्रो थिएन ।

आठौं महाधिवेशनमा ओलीले झलनाथ खनालविरुद्ध अध्यक्ष पदमा उम्मेद्वारी दिए । त्यहाँ भने माधव–केपीबीच सहकार्य हुन सकेन । माधवले ओलीलाई साथ दिएनन् । त्यहीबाट माधव–केपीको सम्बन्धमा चिसोपना छायो । त्यो चिसोपना नवौं महाधिवेशनसम्म आइपुग्दा बरफ जस्तै जमिसकेको थियो । ओलीसँग माधव पराजित भए । त्यसपछि हालसम्म माधव–केपीबीच सहकार्य हुनै सकेन ।

नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि ओलीकै नेतृत्वमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भयो । नेकपा बनेपछि पनि ओलीले माधवसँग सम्बन्ध सुधार्न चाहेनन् । बरु, माओवादी अध्यक्ष प्रचण्डसँग मिलेर माधवलाई पेलिरहे । अनावश्यक रूपमा माधव–झलनाथबीच तिक्तता पैदा गरेर फाइदा लिन ओली सँधै अग्रसर भए ।

प्रचण्डको बलियो साथ पाएपछि ओली बारम्बार माधवविरुद्ध प्रहारमा लागे । तर, प्रचण्डलाई पनि माधव झै व्यवहार गर्न थालेपछि ओली–प्रचण्डबीचको सम्बन्धमा ब्रेक लाग्यो । त्यसपछि माधव–प्रचण्डबीच नयाँ चरणमा सहकार्य प्रारम्भ भयो । माधव–प्रचण्ड एक ठाउँमा भएपछि ओली अल्पमतमा पर्दै गए । अल्पमतको रनाहामा ओलीले एकपछि अर्को गर्दै गल्तीहरू गर्दै गए । प्रतिगमन रचे, ऐतिहासिक एकतालाई धुलिसात बनाए । बचेको एमालेबाट माधवहरूलाई लखेट्न अनेक कदमहरू चालिरहे । त्यसपछि– ‘नेकपा एमाले समाजवादी’ जन्मियो ।

प्रतिक्रिया दिनुहोस्