Logo
Logo
टीकापुर घटनाको ६ वर्ष

थरुहट मोर्चाले मनायो टीकापुर विद्रोह दिवस


हिक्मत बम


धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ । टीकापुर घटनाको ६ वर्ष पूरा भएको अवसरमा मोर्चाले सोमबार जिल्लाको बलियामा टीकापुर विरोध दिवससँगै प्रदर्शन गरेको हो ।

भदौ ७ र ८ गतेलाई कालो दिनको रूपमा मनाउँदै आएको मोर्चाले भल्का चोकदेखि बलिया चोकसम्म विरोध प्रदर्शन गरेको हो ।

टीकापुर मुद्दा खारेज गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित निलम्बित सांसदसहित राजबन्दीलाई विना शर्त रिहा गरिनुपर्ने, राज्यको हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन गरेको हो ।

कोण सभामा मोर्चाका नेताहरूले अधिकारको लडाइँ जारी रहेको बताएका हुन् । संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालक र सात प्रहरीको ज्यान जाने गरी टीकापुर घटना भएको थियो ।

त्यसको भोलिपल्ट भदौ ८ गते कर्फ्यू जारी गरिएको अवस्थामा थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफएमलगायत संरचनामाथि आगजनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्