Logo
Logo
सम्पादकीय

यो नै अन्तिम विपत्ति होइन


315
Shares


भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीको वितण्डा सपना हो कि बिपना हो जस्तो लाग्न थालेको छ । तिब्बतको माथिल्लो भेगमा जलवायु परिवर्तनका कारण हिमताल फुट्दा त्यहाँबाट बगेर आएको पानी पाँच हजार दुई मिटरको उचाइबाट एक हजार दुई सय मिटर तल बेगले बढ्दा भोटेकोशीमा अकल्पनीय बाढी आयो, हेर्दाहेर्दै आँखै अगाडि सयौँको ज्यान गयो, हजारौँ बेपत्ता भए, रसुवा, वेत्रावतीदेखि त्रिशूली बजारसम्मको क्षेत्र पूरै बगरमा परिणत भयो ।

यस घटनालाई वैज्ञानिकहरूले वातावरणमा आएको जलवायु परिवर्तनका कारण निम्तिएको हो कि होइन भनेर अध्ययन अनुसन्धान गरिरहेका छन् । उनीहरूको निष्कर्ष जेसुकै निस्किए पनि विश्वका प्रमुख देशहरूले उत्सर्जन गरेको कार्बनका कारण हामीले त्यसको सजाय भोग्नुपरेको तथ्यलाई नकार्न सकिन्न ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस केही वर्ष अगाडि नेपाल भ्रमणमा आउँदा उनले हिमाली क्षेत्रको भ्रमण गर्दै जलवायु परिवर्तनको असर नेपालका सेता हिमालहरूमा देखिन थालेकोले चिन्ता व्यक्त गर्दै यसतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरेका थिए । उनले त्यतिबेला भनेका थिए– म विश्वको छानोबाट भन्दै छु जलवायु परिवर्तनप्रति सचेत रहनुस्, प्राकृतिक विरुद्धको युद्ध बन्द गर्नोस् ।

हुन पनि विश्वका ठूला देशको औद्योगिक विकासले निम्त्याएको जलवायु परिवर्तनले मानवीय संकट नै निम्त्याएको छ । वर्षैपिच्छे सेता हिमाल काला पत्थरमा परिणत भएको छ । यसलाई समयमै सुधार्न सकिएन भने यसले मानव सभ्यतामाथि नै चुनौती खडा गर्ने भएकोले विश्वका औद्योगिक राष्ट्रहरू गम्भीर बन्नुपर्छ । अन्यथा, हिमाल नै रहेन भने समुद्र कहाँबाट बन्ला ? मानव सभ्यताका लागि यो बडो सोचनीय कुरा छ ।

नेपाल र नेपालका लागि यो घटना नै पहिलो र अन्तिम भने होइन । किनभने हामी हिमालको काखमा छौँ, हाम्रो शीरमा रहेको लामो हिमशृङ्खला दिनप्रतिदिन पग्लिँदै आएको छ र त्यसले ठाउँ ठाउँमा हिमतालको रूप धारण गरेको छ । ती हिमताल वरपरका हिउँ पग्लेर ‘ग्लोसियल कोल्याप्स’ हुने खतरा छ । एक तथ्याङ्कका अनुसार उत्तरी तिब्बत क्षेत्रमा २१ भन्दा बढी हिमतालहरू निर्माण भएका छन् । ती हिमताल फुट्दा होस् अथवा त्यस क्षेत्रमा भूकम्प जाँदा त्यसले नेपालमा बाढीपहिरोको जोखिम जतिबेला पनि निम्त्याउन सक्छ । तर, हामी नेपाली जनता ‘भेडा’जस्ता छौँ, कुनै पनि घटना र दुर्घटनाबाट हामी चेतेका छैनौँ ।

रसुवाको भोटेकोशी त्यही नदी हो, जहाँ गत वर्षको असार २४ गते आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो । त्यस घटनाबाट शिक्षा लिएर त्यतिबेलै सुरक्षाका रणनीति अपनाएको भए यो प्रलयबाट सायद यति धेरै मानवीय र भौतिक क्षति व्यहोर्नुपर्ने थिएन । तर, दुर्भाग्य गत वर्षको घटनाबाट शिक्षा नलिँदा अहिले हामीले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ ।

जलवायु परिवर्तनले निम्त्याएको यस घटनामा अन्तर्राष्ट्रिय जगतले क्षतिपूर्ति दिनुपर्छ । त्यसका लागि नेपालले अन्तर्राष्ट्रिय जगत्सम्म आफ्नो दाबीलाई प्रस्तुत गर्न सक्नुपर्छ । यो घटना बूढी मरीभन्दा पनि काल पल्कियो भनेजस्तै हो । जलवायु परिवर्तनमा हाम्रो केही हात छैन । हामीले त्यसको समाधान पनि दिन सक्दैनौँ । समाधान दिने भनेको सिंगो अन्तर्राष्ट्रिय जगतको चेतनाले हो, त्यो चेत ठूला औद्योगिक देशमा आउनुप¥यो, उनका कारण हामीले भविष्यमा यस्तो दुर्घटना भोग्नु नपरोस् । त्यसमाथि नेपालजस्तो भूकम्पीय जोखिम भएको र हिमालय क्षेत्रको जलवायु परिवर्तनले पार्न सक्ने असरका बारेमा हामीले संरचना निर्माण गर्दा भविष्यका लागि सोचेनौं भने हाम्रा हिमनदी जटिल भूभागमा बनेका हजारौँ मेगावाटका जलविद्युत् आयोजनाहरू ध्वस्त हुन सक्छन् । जसबाट आर्थिक रूपमा हामी टाट पर्न सक्छौँ । भदौ १० गतेको घटना त्यसैको एउटा सूचक हो । सबैले सोचौँ यो विपत्ति नै अन्तिम विपत्ति होइन ।

प्रतिक्रिया दिनुहोस्