काठमाडौं । एनसेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।

खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन र आपत्कालीन अवस्थामा सञ्चार सेवा अवरुद्ध हुन नदिन कम्पनीले युटेलस्याटको लो अर्थ अर्बिट (एलईओ) स्याटलाइटमा आधारित उपकरणहरू प्रभावित क्षेत्रका महत्त्वपूर्ण स्थानमा जडान गर्न थालेको हो ।
एनसेलले उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा संलग्न सरकारी निकायसँग समन्वय गरी आवश्यक स्थान पहिचान गरेर उपकरण जडान गरिरहेको जनाएको छ । उक्त प्रविधिमार्फत बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपत्कालीन कार्य सञ्चालन भइरहेका स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
हालसम्म नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा स्याटलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा उपकरण जडानको काम भइरहेको कम्पनीले जनाएको छ ।
सामान्य इन्टरनेट तथा मोबाइल सेवा उपलब्ध नभएको अवस्थामा समेत स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालन गर्न सकिन्छ । जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्ने र त्यसपछि आसपासका क्षेत्रमा वाइफाईमार्फत सेवा वितरण गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
यस प्रविधिबाट सन्देश आदानप्रदान, इन्टरनेटमा आधारित कल, आवश्यक सूचना प्राप्त गर्न, ब्राउजिङ तथा राहत र उद्धार कार्यको समन्वय गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठले सडक पूर्वाधार तथा सञ्चार सेवा प्रभावित भएका नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए । यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीयलाई सम्पर्कमा रहन सहयोग पुग्ने उनको भनाइ छ ।
कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई पहिलो दिनदेखि नै दैनिक निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।
एनसेलले स्याटलाइट सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ ।















