Logo
Logo

सधैँ जनता झुक्याउन सकिँदैन


लक्ष्मण देवकोटा


थिग्रिंदै गइरहेको छ नेपालका कम्युनिष्ट पार्टीहरु भित्रका झगडा । झगडामा अघि सरेर चिच्याउनेहरु नै निर्णायक घडीमा पछि हट्दा झगडाका सैद्धान्तिक आवरणहरु च्यातिएर वास्तविकताले चियाइरहेको छ । नेपालका वामपन्थीहरुबाट ठूलै परिवर्तनको आश गरेकाहरुका लागि पार्टी विभाजन दुःखदायी भए पनि वास्तविकता स्वीकार्नु नै उत्तम देखिन्छ ।

तर, वामपन्थी आन्दोलनको इतिहास पढेको जोसुकैले भन्न सक्ने कुरो हो, कम्युनिष्ट आन्दोलनमा मध्यपन्थले अन्तमा पुर्याउने भनेको विसर्जन नै हो । त्यसैले जो जस्तो छ, त्यो त्यही रुपमा प्रस्तुत हुँदा समाजलाई न्याय हुन्छ । हुनुपर्ने पनि त्यही हो । तर, यहाँ त कम्बल ओडेर घ्यू खानेहरुको बहुमत भएर हैरान भयो ।

गाउँतिर पंचायती प्रतिबन्धका बेला फटाहाहरुले गरिब जनताहरुलाई शोषण गर्न बनाएका जाली तमसुक खोसेर कम्युनिष्ट कार्यकर्ताले आगो लगाइदिन्थे । त्यही कार्यकर्ता आज नेतामा बढोत्तरी भएको छ । उसले अहिले जाली तमसुक भेट्यो भने फटाहा र शोषितलाईसँगै राखेर मिलापत्र गराउने प्रयास गर्दछ । होइन, कोही शोषित छ र नक्कली तमसुक बनाइएको छ भने तमसुक च्यात्ने नै हो । उस्तै परे, तिनै कम्युनिष्टहरुले हिजोआज नक्कली तमसुक आफैँले बनाउन पो थाले कि भन्ने पो लागेको छ ।

रुसमा लेनिनको पहिलो क्रान्तिको झमट असफल भएको थियो । मिन्सेविकहरुसँग सम्बन्ध विच्छेद नगरेको भए लेनिनको क्रान्तिको के गति हुन्थ्यो ? भन्न सकिंदैन । अहिले एमाले नामको पूर्व क्रान्तिकारीहरुको अड्डा पुरै पुरानो ब्याज खाएर बस्ने पल्टन भएको छ । त्यो पार्टी होइन, पाटीमा परिणत भएको छ । अहिले टंक कार्की र घनश्याम भुसालहरु होइन, महेश बस्नेत र गोकुल बाँस्कोटाहरु क्रान्तिकारी भएका छन् । उनै नेतृत्वका प्रिय भएका छन् ।

वाद, सिद्धान्तका कुरा काम नलाग्ने हुँदै गएको छ । खड्गप्रसाद ओलीको मुस्कानवाला फोटो पार्टीको पथप्रदर्शक सिद्धान्त भएको छ । कमरेड शब्दलाई ‘बा’ शब्दले विस्थापन गरेको छ । मनमोहन, मदन भण्डारी र पुष्पलालको तस्वीरका कुममा कुम मिलाएर खड्गप्रसाद ओलीको फोटो राखिदिएपछि, गजब देखिने अजबको परिपाटी विकसित भएको छ । हुँदाहुँदा सर्वहाराको नेता दावी गर्ने डोरमणि पौडेलसमेत घर फर्कदा लावालस्करका साथ फर्किन पर्ने वाध्यता आइलागेको छ ।

वैश्य युगको जमाना हो भन्दैमा पार्टीको आत्मा नै हरण गर्ने गरी यसरी लावालस्कर लिएर हिंड्दा निर्वस्त्र महाराजको कथाको पुनरावृत्ति होला भन्ने पनि नेताहरुले बिर्सिएका छन् । ओलीको बालकोट फिर्ती सवारीको नक्कल प्रदेश हुँदै स्थानीय सरकारमा सल्किने खतरा बढ्दै गइरहेको छ ।

कमरेड माधवकुमार नेपाललाई आन्द्रा चुँडिने गरी एमालेका कार्यकर्ताको यौटा पँक्तिले सराप्नु सरापेको छ । राजालाई दाम चढाएकोदेखि लिएर होली वाइन सम्मका प्रचारमा उनीहरु जुटेका छन् । साइबर स्यालहरुको त कुरै भएन, कराउने नै भए । यस्तो लाग्छ कि माधव नेपाल भन्ने मान्छे खड्ग ओलीले भनेझैं ‘देशद्रोही’ हो । एमालेलाई भत्काउने, बिगार्ने र समृद्धिको यात्रामा गुटुटु कुँदिरहेको देशलाई एकाएक ब्रेक लगाइदिएर भीरबाट गुल्ट्याइदिने पनि अरु कोही नभएर माधव नेपाल नै हो ! यदि, माधव नेपाल ‘देशद्रोही’, खराब नै हुन् भने फेरि एकताको निम्ति किन रोइलो गर्नुपर्यो ? ओलीको कार्यकालमा के भएका थिए भन्ने कुरा भनिरहनु पर्दैन ।

पार्टी कसरी चलिरहेको थियो र छ ? सबैले देखेजानेकै कुरा हो । माधव नेपाललाई धारे हात लगाउनुपूर्व एकपटक ओलीकै अनुहार राम्ररी हेर्नपर्ने पो देख्छु म । के साँच्चै ओली खाँटी एमाले हुन् त ? अध्यक्ष त एक प्राविधिक कुरा न हो, तर के उनको विलक्षणको नेतृत्वले मदन भण्डारीले भने जस्तै बहुदलीय जनवादी चरित्र प्रदर्शन गरेको छ त ? सर्वहारा अधिनायकत्वको लेनिनवादी चिन्तनको विकल्पको रुपमा अरुको अस्तित्व पनि स्वीकार्ने न्यूनतम चरित्र हुनुपर्ने एमालेको चरित्र के अध्यक्ष ओलीमा छ ? जेठ २ मा अदालतले फर्काइदिएपछि कम्युनिष्ट पार्टी दुई चिरा भएर आ–आफ्ना माओवादी र एमालेका चुल्हामा फर्किएका बेला आफ्नो सिंगो टीमलाई स्वीकार नगर्ने अधिनायकवादी चरित्र कसको हो ?माधव नेपालको कि ओलीको ? नबुझ्नेले पनि बुझ्न सक्ने कुरालाई सरकार ढाल्ने माधव नेपाल नै हो भनेर सराप्नुको तुक छैन ।


यो वादविवादको घनचक्करमा मध्यपन्थीहरुले प्रचण्डको चुल्होबाट मन्त्री खान आइपुगेका केही थान माओवादीलाई पनि मान्ने, ओलीको मनपरीको विरोध पनि गर्ने दुवै काम एकैपटक कसरी सम्भव हुन्छ र ? दुईपटकसम्म सार्वभौम संसदमाथि बन्चरो चलाउनु गल्ती थियो भनेर त नस्वीकार्ने ओलीले आफूले गरेका फागुन २८ मात्र हैन, कुनै पनि निर्णय गलत थियो भनेर मान्न तयार छँदैछैनन् । भित्री मनले उनलाई जेसुकै लागिरहेको होस्, उनलाई मान्न दिंदै नदिने शक्तिले घुमाइरहेको छ उनलाई । सुन्नुभएन, पार्टी माधव नेपालले फूटाए जस्तो देखिएपनि पार्टीका खास विभाजनकारी प्रचण्ड हुन् भनेर मुलुकमा झगडाको खेतीपाती गरेर बसेका अधिकारकर्मीहरुको आरोप ।

अर्को जमात छ, जसले ओलीलाई ‘बा’ बनाएरै करोडौं सम्पत्ति जोडिसकेको छ । ओलीको नांगो समर्थन गरे बापत हिजोको भूमिगतकालीन चप्पलवाला कार्यकर्ता आज शहरको सम्भ्रान्तवर्गमा परिणत भइसकेको छ । महाराजगन्जमा कौडीको दाममा रुमाल जस्ता घडेरी पाइन्छ र भोलिको चुनावको निम्ति अकूत सम्पत्ति जम्मा गर्ने हैसियतमा पुग्छ भने उ पो किन क्रान्तिकारी भइरहन जरुरी भयो ? दुई चार जना जिल्लावासीलाई नियुक्ति, निर्वाचन क्षेत्रमा बजेट, आफ्नो प्रचार गर्ने संचारगृहको वृत्ति विकास गरिदिएर उसको भविष्यको राजनीति झलिमली हुन्छ भने उसले गर्ने नै त्यही हो ।

किनभने, उसले घोषणा गरिसकेको छ कि राजनीति जोगी हुनलाई गरिने पेशा होइन भनेर । यहाँनेर फेरि मध्यपन्थीहरुमाथि मेरो प्रश्न छ, कसैमाथि भ्रष्टाचारको आरोप लागिसकेपछि त्यो पनि कम्युनिष्ट नेता माथि, केही छानविन हुनुपर्छ कि पर्दैन ? के पार्टीको सुप्रिमोले फलानामाथि लागेको भ्रष्टाचारको आरोप गलत हो भनेर माफी दिएपछि सकिने हो ? त्यसो हो भने किन बनेका हुन्, भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु ? के कम्युनिष्टहरुले हाकाहाकै घुस खान मिल्ने हो ? खान त कसैले पनि नमिल्ने हो, तर यहाँ त हाकाहाकै लूटमा सामेल भएका कम्युनिष्टहरु नै फेरि नेतृत्वमा बसिरहने जस्तो पो देखियो ।

हो तिनै तरमार्नेहरुले फेरि पनि ओली ‘बा’लाई नै जिताउने छन् । उनीहरुका निम्ति पिलो हुने नै त भए माधव नेपालहरु । सकेसम्म माधव नेपालले अर्को पार्टी बनाउन् र एमालेमा नफर्किउन् भनेर धूप त उनीहरुले नै हालेका हुन् । एकताको अभिनय गर्ने ओलीकै भित्री मनसुवा छैन माधव नेपालसँग सहकार्य गर्ने । जे सतहमा देखिएका छन्, एकताका कुरा, ती सब अभिनय हुन् । त्यो पुष्ठि भइसक्यो । जसले अदालतको आदेशलाई लत्याएर निर्वाचन आयोगमा गरेको तिकडमका भरमा अहिलेसम्म सबै काम गर्दै आएको छ, उसले माधव नेपाललाई सहर्ष स्वीकार्ने कुरा असम्भव नै हो । दोस्रो तेस्रो तहका नेताहरुले दबाबकारी भूमिका खेल्लान् भनेको पनि सपना नै भयो, जे भइरहेको छ त्यो त खुलेआम नै छ ।

भौगोलिक बैशिष्ट्यता र चीनको विश्वव्यापी वैश्विक बजारले पश्चिमी चासो नेपालमा परेकै हो । नेपालमा पार्टीहरु बन्ने र टुट्ने कडीमा भारत, चीन जस्ता दुई शक्तिशाली छिमेकीहरुको शक्ति संघर्ष, त्यसमा पश्चिमी चासोलाई पनि सँगै राखेर हेर्नै पर्ने हुन्छ । भूराजनीतिक प्रभावलाई ख्याल गर्दै देशको सार्वभौमिकता, विपन्न जनताहरुको जीवनस्तरमा परिवर्तनको निम्ति आफ्नै सहकर्मीहरुसँगको बलियो समन्वय गर्दै आफूले आर्जन गरेको त्यत्रो शक्ति खिइएर ख्याउटे हुँदा पनि ओलीको दम्भ जस्ताको तस्तै छ । उनी वरपर बसेर विरोधका कुरा गर्ने सबैलाई निकालेर आफ्नै गूटको हाइसन्चोमा रमाउने छाँट ल्याएकाछन् ।

पार्टी फोर्ने ओली हुन्, माधव नेपालले त कतै केही उपाय नलागेर समाजवादी पार्टीको दर्ता गरेका हुन् । कम्युनिष्ट आन्दोलनको वर्गीय चिन्तनबाट धेरै पर हिन्दू राष्ट्रवादी राजनीतिको कित्तामा पुगेर जनआन्दोलनका उपलब्धीमाथि धावा बोल्ने ओली हुन्, माधव नेपाल होइनन् । सहिष्णुताका सबै आयामहरु बिर्सेर सडकछाप गाली गर्ने ओली हुन् नेपाल होइनन् ।

मदन भण्डारीको जबजलाई खुलेआम बजारमा ब्यापारको वस्तु बनाइएको यो घडीमा जनताको बहुदलीय जनवादको वास्तविक मर्मलाई जोगाउन सक्नेहरुको हातबाट एमाले दलालहरुको हातमा पुग्दै गरेको दूर्दान्त दृष्य देखिदै आएको छ । विरोधीहरु सबैलाई बढारेपछि पार्टी कब्जा गर्नेहरुलाई पनि सजिलो हुने नै भयो । इतिहासलाई न्याय दिन पनि पुनर्गठनको जरुरी छ । र फेरि वृहत्त एकताको खाँचो छ ।

चरम निराशालाई अर्को शक्तिले उपयोग गर्ने उत्तिकै सम्भावना रहेको बेला विगतका गल्तीहरुमा माफी माग्दै माधव नेपालहरुले विद्रोहको झण्डालाई अझ तेजतरारका साथ उठाउनुपर्ने देखिएको छ । मुद्दा बलियो भए जनमत फेरि जुट्नेछ । पंचायतको अन्ततिर कसले सोंचेको थियो पन्चायत ढल्छ भनेर ? कसले सोंचेको थियो, राजतन्त्र ढल्छ भनेर ? क्रान्तिका कुरा गरेर प्रतिक्रान्ति गर्नू जनतालाई धोका दिनु हो । ठगिएका जनता जागेपछि फेरि ठगिंदैनन् । मध्यपन्थले कम्युनिष्ट आन्दोलन चल्दैन । सहीलाई सही र गलतलाई गलत भनेरै क्रान्ति अघि बढ्ने हो ।

पुस्ता उमेरका हिसाबले हुने होइन, पुस्ता विचारका हिसाबले हुने हो । बूढै भएपनि गलतलाई गलत भन्न सक्ने नेताले भनेको कुरा नै कालान्तरमा सही हुन्छ । युवा नै भएपनि पश्चगामी विचार राख्ने नेता, कार्यकर्ता फर्कने पछाडि नै हो ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्