Logo
Logo

नेकपा : घुमिफिरी रुम्जाटार


शम्भु श्रेष्ठ

0
Shares

शम्भु श्रेष्ठ
वैशाख ९ गते, नेपाल कम्युनिष्ट पार्टी घुमिफिरी रुम्जाटार भनेझै ७० वर्ष पछाडि आ–आफ्नो पुच्छर काटेर शिरदेखि तिरसम्म एकतावद्ध भएका छन् । नभए, यी दुई पार्टी एक अर्कालाई सिध्याउने खेलमा कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने बाटोमा लागेका थिए ।

शम्भु श्रेष्ठ

कतिसम्म भने गएको स्थानीय निकायको चुनावमा कम्युनिष्ट पार्टीका उम्मेदवारलाई हराउन आफूलाई क्रान्तिकारी बताउने पार्टी प्रतिक्रियावादीहरुसँग गठबन्धनसम्म गर्न पुगे । त्यो अवस्थालाई समयमै नसच्याएको भए यी दुवै पार्टी इतिहासमा बिलिन हुने थिए । धन्न, बेलैमा बुद्धि पु¥याएको हुँदा आज यो अवस्थामा आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेला भन्ने गर्थे– ‘माओवादी भनेको खहरे हो, एकै क्षण गडगडाउँछ, विनाश निम्त्याउँछ, त्यसपछि आफैँ सुकेर जान्छ ।’ यो भनाइमा सत्यता पनि छ । यदि माओवादी र एमाले समयमै एकता नभएको भए माओवादी आजको अवस्थामा आउने थिएन । स्थानीय निकायको परिणामपछि माओवादी रन्थनिएर एकता प्रक्रियामा आउन बाध्य भएको हो । यी दुई पार्टीबीचको सम्बन्धमा यति कटुता थियो कि, रेणु दाहाललाई कांग्रेसले भरतपुरको मेयरमा जिताए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंलाई एमालेले चितवनबाट जित्न दिने थिएन । अझ पहिलो संविधानसभाको निर्वाचन परिणाम हेर्ने हो भने माओवादीको एक जना फुच्चे केटोले केपी शर्मा ओलीजस्ता स्थापित नेतालाई चुनाव हराएको तीतो इतिहास पनि हामीसँग छ ।
जननेता मदन भण्डारीले भनेझै विगतको इतिहासबाट पाठ सिकेर भविष्यको इतिहास बनाउन केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सफल भएका छन् । यो ऐतिहासिक सफलतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’सँग जोड्न अब दुवै पार्टीका नेता र कार्यकर्ताबीच मनैदेखि सहकार्य गर्नु जरुरी छ । यी दुई पार्टीबीचको एकता सिद्धान्त र विचारले भन्दा पनि तत्कालीन आवश्यकताका आधारमा भएको थियो । अब त्यसलाई नीति, सिद्धान्त र विचारमा ढाल्नु जरुरी छ । कम्युनिष्ट पार्टी भनेको नीति र विधिले चल्ने पार्टी हो । नेताहरुको स्वभाव आ–आफ्नै खालको भए पनि त्यो स्वभावलाई नीति र विधिमा घोल्नु हुँदैन । नीतिभन्दा माथि नेता हुँदैनन् । विधिभन्दा माथि कार्यकर्ता हुँदैनन् भन्ने मान्यतालाई कम्युनिष्ट पार्टीको आन्तरिक जीवन बनाउन सकिएन भने यो एकता कुनै दिन ‘मुर्खको सल्लाह, खरानीको डल्ला’ मा परिणत हुने बेर लाग्दैन । ७० वर्षे कम्युनिष्ट आन्दोलनमा ठूलो कुरामा विवाद गर्ने, सानोतिनो कुरामा पार्टी फुट्ने गरेको इतिहास पनि छ ।
त्यसैले नेकपा चुनावी गठबन्धनदेखि पार्टी एकतासम्म आइपुग्दा ओली र प्रचण्डबीच जे–जस्तो समझदारी भएको थियो, त्यसलाई इमान्दारिताका साथ पालना गर्नुपर्छ । त्यसलाई निरन्तरता दिने कुरामा नेताहरु प्रतिबद्ध हुनुपर्छ । एकले अर्कालाई अविश्वास गर्ने वातावरण बन्न दिनु हुँदैन । नेताका वरपर धुपबत्ती गर्ने हुक्के, बैठकेहरुले आफ्नो स्वार्थ पूरा गर्न नेताहरुको कानमा चिनी हाल्न सक्छन् । त्यसतर्फ दुवै पार्टीका नेताहरु सचेत हुनुपर्ने देखिन्छ । अहिले पनि प्रचण्ड र ओलीबीच फाटो ल्याउने तत्वहरु तिनकै वरपर सक्रिय छन् । पार्टीको एकता महाधिवेशनसम्म तिनीहरुले धेरै चलखेल गर्न सक्छन् । त्यसबाट जोगाउँदै पार्टीलाई एकताको सूत्रमा बाध्ने दायित्व पनि ओली र प्रचण्डकै हो । त्यसका लागि नीति, विधि र प्रक्रिया यी दुई नेताहरुले मिच्नु हुँदैन । ७० वर्षपछि ‘घुमिफिरी रुम्जाटार’ सम्म आएको नेकपा अब कुनै खहरे रहेन । खहरे पनि कोशीमा मिसिएको छ । अन्य, थुपै्र खहरे खोलाहरु आ–आफ्नै तालमा माक्र्स, लेनिन, माओको फोटो झुन्ड्याएर आफूलाई क्रान्तिकारी देखाउन खोज्दैछन् । तिनीहरुलाई पनि नेकपाले कम्युनिष्ट आन्दोलनको वास्तविक धरातलमा ल्याउनु पर्छ ।
कमल थापालाई वार्तामा बोलाइरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’प्रति राज्य असहिष्णु बन्न हुँदैन । शान्ति प्रक्रियाबाट मूलधारमा आएको ‘विप्लव’ के कति कारणले बाहिरियो भन्ने कुराको सैद्धान्तिक बहस चलाउनु पर्छ । राज्य शक्तिको बलले विचार मर्दैन भन्ने कुरा चौध वर्ष जेल बसेका व्यक्ति आज प्रधानमन्त्री भएबाट पनि पुष्टि हुन्छ । अन्त्यमा, नेकपालाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्