विचरा भीम रावलका अनेकौं दुःख ! « Drishti News – Nepalese News Portal
Logo
टिप्पणी

विचरा भीम रावलका अनेकौं दुःख !


दृष्टि संवाददाता


काठमाडौं । ‘खोजी–खोजी दुःख बोकेपछि त्यसले आफैँलाई सताउँछ’ भन्ने कुरा एमाले उपाध्यक्ष भीम रावलको हकमा पुनः चरितार्थ भएको छ ।
माधव नेपाल, झलनाथ खनालहरुले पार्टी विभाजनको बाटो रोजेर ‘कुकर्म’ गरेको भन्दै एमालेमै रहने निर्णयमा पुगेका रावलका लागि अब त्यही एमाले पनि ‘घाँडो’ बनेको छ ।

उनले ०७५ जेठ २ को स्थितिअनुसार स्वतः पाउनुपर्ने सुदूरपश्चिम प्रदेश इञ्चार्ज ०७७ पुस ५ पछि ओली खेमामा लागेका लेखराज भट्टमै कायम रहने ओलीको अडानले अहिले उनलाई विक्षिप्त बनाएको छ । एमालेस्रोतका अनुसार, प्रदेश इञ्चार्ज नै हुनुपर्छ भन्ने दावी लेखराज भट्टको थिएन । तर, पार्टीका प्रदेश अध्यक्ष कर्ण थापासहित ओलीपक्षीय नेताहरुले भीम रावल प्रदेश इञ्चार्ज रहे काम गर्न नसक्ने धम्की दिएपछि ओलीले अन्ततः रावललाई लात मारिदिए ।

त्यसो त माधवकुमार नेपालको साथ छोडेर ओलीतिर लागेका नेताहरुलाई स्वयं ओलीले १० बुँदे र जेठ २ को रटान नलगाउन सार्वजनिक रुपमै धम्क्याइसकेका छन् । पार्टी एकता जेठ २ को शर्तमा नभएर नेकपा एकताकै सिलसिलाका रुपमा अगाडि बढ्ने ओलीको उद्घोष छ ।

जबकी, पार्टी एकताका निम्ति ओली पक्षबाट सुवास नेम्वाङ र माधव पक्षबाट भीम रावल संयोजक रहेको कार्यदलले असार २७ गते राति तयार पारेको १० बुँदे सहमतिले पार्टीका सम्पूर्ण संरचनालाई ०७५ जेठ २ मा कायम राख्दै एकताका बाँकी कामहरु अगाडि बढाइने भनिएको थियो । त्यही जगमा टेकेर एकतामा जानुपर्ने भीम रावलहरुको अडान थियो । तर, अरुका जिम्मेवारी जोगिए, भीम रावल आफैँचाहिँ भड्खालोमा पारिएका छन् ।


एक एमाले केन्द्रीय सदस्यले दृष्टिलाई बताए, ‘अब उनीसँग यो पीडा सहनुको विकल्प छैन ।’ ती केन्द्रीय सदस्यको भनाइअनुसार, उनी सुदूरपश्चिममा ‘दाह्रा–नंग्रा झिकिएको वाघ’ भइसकेका छन् । किनभने, नेकपा (एकीकृत समाजवादी) गठन भएपछि जनप्रतिनिधिहरुलाई सनाखतको मौका दिइँदा उनले आफ्नै बुतामा कसैलाई पनि रोक्न सकेनन् ।

औपचारिक रुपमा पार्टी विभाजन हुनुअघि प्रदेशका १८ सांसद माधव पक्षमा थिए । तर, एकीकृत समाजवादी गठन भएपछि १४ जनाले उक्त पार्टीमा सनाखत गराएका छन् । बाँकी रहेका चार जनाले पनि भीम रावल मानेर हैन, एमाले नै चाहिन्छ भनेर नेकपा (एस) मा सनाखत गराएनन् ।

आइतबार रावलसहित लेखराज भट्ट, कर्ण थापाहरुलाई बालकोट बोलाएर इञ्चार्जबारे ओलीले प्रष्ट कुरा राख्नुअघि कर्ण थापाहरुको समूहले त्यहाँ पुगेर रावलको स्थितिबारे प्रष्ट्याएका थिए । उनीहरुको भनाइ थियो– ‘भीम रावलसँग मान्छे छैनन् । उनका भनेर चिनिएका मान्छे सबै एकीकृत समाजवादीमा लागिसके । बाँकी रहेका झपट रावल सांसद पद माया मारेर भए पनि एकीकृत समाजवादीमै जाने भन्दै छन् ।’

ओलीसँग कर्ण थापाको प्रश्न थियो, ‘हाम्रो आँगनमा भीम रावललाई नाच्न दिने ? न उनका मान्छे छन् । हाम्रा मान्छे अगाडि लगाएर ऊ नेता बन्ने ?’ ती नेताहरुले रावललाई कदापि नस्वीकार्ने भनेका थिए । रावलकै जिल्लाका राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर उनका सबभन्दा विश्वासिला थिए । तिनले पनि उनलाई छाड्नुको अर्थ उनी फौजीबिनाका जर्नेल हुन् भन्ने निचोड ती नेताहरुले व्यक्त गरे ।

आफूसँग रावलबारे कुरा गर्न बालकोट पुगेको टोलीलाई ओलीले सोधे, ‘भएको पद खाइदियो भनेर भीम रावल फर्किए भने के गर्ने ?’ एक स्थानीय नेताले भने, ‘फर्किए फर्किऊन् । त्यहाँ पनि उनको मान्छे कोही छैन । उनीहरुले त भीम रावललाई नेता मान्दैनौँ भनेर समाजवादीमा सनाखत गराएका हुन् । यता यसै पनि कोही छैन ।’

नेकपा (एकीकृत समाजवादी)ले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्ज तोकिसकेको छ । गरिमाले २०५० सालमा अखिलको केन्द्रीय सदस्य हुँदै युवा संघमा काम गरेकी हुन् । ०६४ सालदेखि पार्टी काममा सक्रिय भएकी उनी रावलभन्दा राजनीतिक रुपमा निक्कै जुनियर हुन् ।

प्रश्न उठ्न थालेको छ कि, ‘यदि रावल नेकपा (एस) मा फर्किए भने के गरिमाको इञ्चार्ज पद जान्छ ?’ उक्त पार्टीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘त्यस्तो सम्भव छैन । हिजो माधव नेपाललाई बीच बाटोमा लगेर धोका दिनेहरुले फर्किए पनि प्रायश्चित नगरी कुनै जिम्मेवारी दिइँदैन ।’ स्रोतका अनुसार, देशभरि तोकिएका प्रदेश इञ्चार्जमध्ये गरिमा एक्ली महिला हुन् । त्यसकारण पनि रावल फर्किए पनि गरिमाको इञ्चार्जको जिम्मेवारी फिर्ता हुँदैन ।

इतिहास नै ‘घुर्की’ को
२०३५ सालमा सम्पन्न अनेरास्ववियुको पाँचौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यका रुपमा भीम रावल राजनीतिमा सक्रिय भएका हुन् । उक्त कमिटीका अध्यक्ष टंक कार्की थिए । त्यही राष्ट्रिय सम्मेलनमा विवाद भएपछि लीलामणि पोखरेल अध्यक्ष र बलराम बास्कोटा महासचिव भएर अखिल (छैठौं) स्थापना भयो । रावलले त्यही बेला पनि भनेजस्तो जिम्मेवारी नदिए छैठौंमा जाने घुर्की लगाएका थिए । त्यसैले उनलाई प्रचार, प्रसारको जिम्मेवारीसँगै केही समय ‘विद्यार्थी आवाज’ नामक मुखपत्रको सम्पादन गर्ने काम दिइयो ।

अखिलको केन्द्रीय सदस्य हुनुअघि उनी नेपाल बार एसोसिएसनको एउटा प्रोजेक्टका कर्मचारी थिए । त्यहाँ काम गर्दा प्रहरीले दुःख दिन थालेपछि उनी अखिलमा सक्रिय भएका हुन् । तर, त्यसपछिको राष्ट्रिय सम्मेलन हुँदा उनी दरबारियाहरुको संगतमा पुगिसकेका थिए ।

अखिलमा काम गरिरहँदा राजा वीरेन्द्रका भिनाजु कुमार खड्गविक्रम शाहसँग उनको हिमचिम बढ्यो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एनजीओका रुपमा रहेको नेपाल तथा एसीयाली अध्ययन केन्द्र (सिनास) का अध्यक्ष उनै कुमार खड्गविक्रम थिए । उनीसँगको राम्रो सम्बन्धका कारण रावलले अखिलको काम छाडे, सिनासको कर्मचारीका रुपमा पञ्चायतको तलब बुझ्न थाले ।

त्यही बेला उनीमाथि लाग्ने गरेको आरोप थियो– ‘सिआइडीलाई पार्टीको कुरा, पार्टीलाई सिआइडीको कुरा भन्ने मान्छे हुन् ।’ सिनासको जागिर लामो थिएन । कुमार खड्गविक्रमकै सहयोगमा उनी संयुक्त राष्ट्रसंघको स्वयंसेवी (तलबी) जागिर खान युद्धग्रस्त मुलुक कम्बोडिया पुगे । त्यहाँबाट ०४६ सालको जनआन्दोलनभन्दा केही अघि नेपाल फर्किए ।

जनआन्दोलनपछि उनले पार्टीमा केन्द्रीय जिम्मेवारी माग गरे । तर, त्यसबेला सुदूरपश्चिमको जिम्मेवारीमा रहेका नेताहरुले उनीमाथि विश्वास गर्न नसकिने कुरा महासचिव मदन भण्डारीलाई बताए । काठमाडौंमा नेताको वरिपरि घुम्ने, तर भूगोलमा दुःख गर्न नजाने उनको सुविधाभोगी चरित्रका कारण उनलाई प्रेमसिंह धामी, हिमाञ्चल भट्टराई लगायतका नेताहरुले त्यति रुचाएनन् ।

०४७ सालको अन्तरिम सरकार गठन भएपछि झलनाथ खनाल कृषि मन्त्री बने । मन्त्री भएपछि एक–दुई जना पिए, सहयोगी चाहिने नै भयो । भर्खरै खुला जीवनमा आएको, प्रशासनिक अनुभव भएको कार्यकर्ताको अभाव हुने नै भयो । रावलले विगतमा विभिन्न जागिर पनि खाएको भन्दै आफूलाई स्वकीय सचिव बनाउन माग गरे । त्यसअनुसार, उनी झलनाथको पिए भए ।

त्यसबेला उनीलाई दृष्टिको सम्पादकको जिम्मेवारी दिन महासचिव भण्डारीले आग्रह गरे । तर, तलब थोरै भएकोले उनले त्यो जिम्मेवारी लिन मानेनन् र कमल कोइरालालाई मदनले दृष्टिको सम्पादक तोके ।

उनले काठमाडौंमा नेताहरुलाई घुक्र्याउँदै पार्टीको जिम्मेवारी माग गरेका थिए । तर, महासचिव मदन भण्डारीले जिल्लाबाट अनुमोदित नभई केन्द्रमा कसैलाई जिम्मेवारी नदिने नीति बनाएपछि उनी अछामतिर लागे । त्यहाँबाट २०४९ मा सम्पन्न पाँचौ महाधिवेशनको प्रतिनिधि भएर आए । २०५१ सालको मध्यावधी निर्वाचनमा अछामबाटै चुनाव जिते । त्यसपछि उनी मनमोहन सरकारमा राज्यमन्त्री भए ।

काठमाडौंमा नेताको डेरा धाएर टिकट लिने, नेताकै फेरो समातेर मन्त्रीसम्म हुने कुराले सुदूरपश्चिमका पुराना नेताहरु उनीसँग रुष्ट हुन थाले । अछाममा रावलभन्दा पुराना नेताहरु भीम कडायत, भोजराज जोशी, जगत बोगटी, गोकुल खनालहरु क्रमशः पाखा लागे । नेताहरुलाई कुरा लगाई–लगाई कैलालीका हिमाञ्चल भट्टराईलाई पनि पार्टीमा टिक्न दिएनन् ।

सडक दुर्घटनामा परी ०५३ सालमा एमाले नेता प्रेमसिंह धामीको निधन भएपछि रावललाई खुदो पल्टियो । उनले त्यसपछि आफूभन्दा सिनियर नेतालाई पन्छाउँदै पार्टीमा हावी हुन थाले । ०५४ मा नेपालगञ्जमा आयोजित एमालेको छैठौं महाधिवेशनमा प्रतिनिधि नबनाइएपछि महाधिवेशनको बन्दशत्र हलबाहिर नारा लगाइरहेका सहिदपत्नीहरुलाई गोली ठोक्न आदेश दिने पनि उनै हुन् । त्यही कारण उनलाई एमाले कार्यकर्ताहरुले ‘बन्दुके’ भनेर आरोप लगाए ।

उक्त महाधिवेशनपछि एमाले विभाजित हुँदा उनी एमालेमै रहे, तर पत्नी सञ्जिता रावल मालेमा रहिन् । यसपछि घरभित्रै रडाको सुरु भयो । पतिपत्नीको झगडाका कारण घट्टेकुलोस्थित उनको घरमा रमिता चल्न थाल्यो । दोस्रोपटक पर्यटनमन्त्री बन्दा चेज एयर काण्डका कारण उनी बदनाम भए ।

०६५ मा सम्पन्न एमालेको आठौँ महाधिवेशनमा उनले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पराजित भए । उपाध्यक्ष पराजित भए पनि केन्द्रीय सदस्य भने जितेका थिए । तर, ‘केन्द्रीय सदस्यले पुग्दैन’ भन्दै घुर्की लगाए । केन्द्रीय सदस्यका रुपमा शपथ पनि लिएनन् । ०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा उनले आफूलाई मन्त्री बनाउनुपर्ने माग गरे । माधव नेपालले केन्द्रीय सदस्यको शपथ नलिएका कारण समस्या हुने बताएपछि मन्त्री हुनका लागि केन्द्रीय सदस्यको शपथ लिए ।

पछिल्लो समय केपी ओलीले प्रतिनिधिसभा पुस ५ मा संसद विघटन गरेपछि उनले प्रचण्ड–माधव नेपाललाई साथ दिए । ओलीको प्रतिगमनविरुद्ध चर्को रुपमा सडकमा ओर्लिए । ओलीलाई एक नम्बरको ‘दुश्मन’ ठान्दै राष्ट्रघातीको आरोप लगाए । सर्वोच्च अदालतको फागुन २३ को फैसलाले एमाले व्युँताएपछि उनी माधव नेपाल समूहमै रहेर काम गरिरहेका थिए ।

माधव नेपालले विश्वास गरेर आफ्नो तर्फबाट वार्ता गर्ने कार्यदलको संयोजक पनि उनैले तोके । तर, वार्ता गरेर रातारात १० बुँदे सहमतिका नाममा माधव नेपाललाई जबर्जस्ती लतार्ने उनको प्रयास सफल भएन । धुर्कीस्वरुप फेरि सांसद पदबाट राजीनामा दिए । हुँदाहुँदा घुर्कीकै लागि नेकपा (एकीकृत समाजवादी) स्थापनामा सरिक भएनन् ।

जबकि, माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गर्नुअघि नै भीम रावल र सुरेन्द्र पाण्डे भएर नेकपा (लोकतान्त्रिक) नामक दल निर्वाचन आयोगमा दर्ता गर्न लगाएका थिए । उक्त दलको अध्यक्षमा सुरेन्द्र पाण्डेले चितवनका सुदीप रुवालीलाई अगाडि सारेका थिए । त्यसको विधानचाहिँ भीम रावल आफैँले तयार पारेका थिए ।

भीम रावल र सुरेन्द्र पाण्डेले नेकपा (लोकतान्त्रिक) दर्ता गराउनुअघि नै घनश्याम भुषाल र योगेश भट्टराई मिलेर जीवन राईको अध्यक्षतामा नेकपा (एकीकृत) दर्ता गर्न पठाएका थिए । अन्तिममा माधव नेपाललाई धोका दिँदै विभाजनमा सरिक नहुनेहरुले नै विभाजनका लागि कतिसम्म गरे भन्ने कुरा यो तथ्यले प्रष्ट पारेको छ । त्यसमा पनि भीम रावलमाथि ओलीको अत्याचार सुरु हुँदा अहिले दोस्रो पुस्ताका ती सबै नेता आफूआफैंमा हेराहेर गर्दैछन् । अब ओलीले यिनीहरुलाई एक÷एक गरेर बदला लिँदै यिनको राजनीतिक भविष्य समाप्त पार्नेछन् । त्यो दिन नजिकै छ ।

प्रतिक्रिया दिनुहोस्