‘कलामा मनोरञ्जनसँगै चेतना पनि हुनुपर्छ’ « Drishti News – Nepalese News Portal
Logo
कला

‘कलामा मनोरञ्जनसँगै चेतना पनि हुनुपर्छ’


एमपी सुब्बा


सबैमा एउटै सोच र मान्यता हुँदैन । कतिपय कलाकार कामको संख्या बढाउन तल्लीन भइरहेका हुन्छन् । यस्ता थोरै कलाकार छन्, जो गुणास्तर हेरेमात्र काम गर्छन् । यस्तै रंगमञ्चकी एक कलाकार हुन्, अनु थापा । जो आफूलाई चित्त नबुझे काम गर्दिनन् । उनी कलामा चेतना र मनोरञ्जन दुवै हुनुपर्छ भन्ने मान्यता राख्छिन् । २०१६ मा ‘नेशनल एक्टिङ कम्पिटिशन’ जितेसँगै औपचारिक कलायात्रा प्रारम्भ गरेकी अनु भन्छिन्, ‘काम गर्नुमात्र ठूलो कुरा होइन, आफूले गरेका कामबाट समाजमा छाप छोड्न सक्नुपर्छ । आमा–बाबुको इच्छाअनुसार उच्च शिक्षा पढ्न गुल्मीबाट काठमाडौं छिरेकी अनुले कला क्षेत्रसँगै छिन् । ‘युथ फाउण्डेशन नेपाल’ नामक गैरसरकारी संस्थामार्फत सामाजिक कार्यमा समेत सक्रिय अनु थापासँग एमपी सुब्बाको जम्काभेट :

कलाकारिता सुरु गर्नुभएको कति भयो ?

सन् २०१६ देखि कलाकारिता गर्दै आएकी छु । यस हिसाबले पाँच वर्ष भयो । नेशनल एक्टिङ कम्पिटिशनमा विजेता भएपछि औपचारिक रुपमा रंगमञ्चबाट कलाकारिता सुरु गरेकी हुँ ।

सुरुमा काठमाडौं केका लागि आउनुभएको थियो ?

मेरो बुबा पहिलेदेखि काठमाडौं बस्नुहुन्थ्यो । आमा–बाबुको इच्छा भनेको मलाई पढाएर ठूलो मान्छे बनाउनु थियो । कलाकारिता गर्छु भनेर सोचेकै थिइनँ ।

सोच्दै नसोची कसरी यो क्षेत्रमा लाग्नुभयो ?

कलेज पढ्दै गर्दा कलेजबाट सोशल वर्कका लागि नाटकहरु हुन्थ्यो । त्यो बेला ‘हातेमालो’ भन्ने नाटक टिमसँग मिलेर काम गरेकी थिएँ । त्यो टिमसँग वर्कशप भयो । सुरुमा अभिनय गर्नु मलाई डर लाग्थ्यो किनकि, मलाई अभिनय गर्न सक्दिनँ जस्तो लाग्थ्यो । त्यही बेला ‘नेशनल एक्टिङ कम्पिटिशन’ भएको थियो । हामी ५४ जना प्रतिस्पर्धी थियौँ । मैले कम्पिटिशन जिते पनि । कम्पिटिशन जितेपछि मलाई कलाकारिता मोह बढ्दै गयो ।

एक्टिङ कम्पिटिशन जितेपछि कलाकारिता सुरु गर्नुभएको हो ?

हो, तर त्यतिखेर मेरो पढाइ पनि भएकाले अभिनयलाई प्राथमिकता दिइनँ । त्यो बेलादेखि नै अभिनयलाई प्राथमिकता दिएको भए अहिलेसम्म फिल्महरु गरिसक्थेँ होला ।

कलाकारितामा कसरी प्रभावित हुनुभयो ?

एक्टिङ कम्पिटिसनका दौरान दयाहाङ राई, ऋचा शर्मा, अनुप बराल सर निर्णायकको भूमिकामा हुनुहुन्थ्यो। उहाँहरूको सल्लाह सुझावले अभिनयबारे धेरै ज्ञान प्राप्त भयो। अभिनय सोच्दा जति सजिलो लाग्न सक्छ, वास्तबमा त्यति सजिलो भने छैन रहेछ । जति बुझ्दै गएँ त्यति आकर्षित लाग्दै जान थाल्यो।

तपाइँले अभिनय गर्नुभएको पहिलो फिल्म कुन हो ?

मैले सुरु गरेको पहिलो सिनेमा ‘एक वर्ष’ अर्थात ‘A year’ हो। त्यो शर्ट फिल्म थियो । यसै फिल्मबाट मैले क्यामेरा फेसिङमा पहिलो अनुभव गरेकी हुँ । त्यसलगत्तै अर्को फिल्म ‘चिनी कम रंग कडा’मा काम गरेँ ।

त्यो कस्तो फिल्म हो ?

रहर र सपनाको कथा हो, चिनी कम रंग कडा’ । उक्त फिल्ममा चार जना पात्र छन् । सबैको आ–आफ्नै कथा र विशेषता छ । मैलेचाहिँ चिया बेच्ने ललिताको भूमिका निर्वाह गरेकी छु । फिल्मको सार भनेको ‘जो जहाँ भएपनि जीवन कसरी चलाइन्छ’ भन्ने हो । उक्त फिल्मको निर्देशक विवेक घिमिरे र कथा गणेशदेव पाण्डेको हो । कथाकार गणेशदेवको अहिले चिया पसल छ ।

म्युजिक भिडियोहरु पनि गर्नुभएको छ ?

एकदमै थोरै गरेकी छु । केही समयअघि ‘मुना’ बोलको गीतको भिडियो गरेकी थिएँ । भर्खरै ‘सरला’ भिडियो गरेकी छु । ‘मुना’मा वैदेशिक रोजगारीमा जाने परिवारको पीडा समेटिएको छ । जुन धेरै नेपालीले भोग्दै आएका छन् । सरला’ म्युजिक भिडियोको कुरा गर्नुपर्दा , यो एक सामान्य गाउँघरको कथा मात्र नभई, अस्तित्व स्वीकार्यताको कथा पनि हो ।

तपाइँलाई मनपर्ने नेपाली फिल्म भन्नुपर्दा ?

‘सेतो सूर्य’ हेरेकी थिएँ । त्यो फिल्म निकै राम्रो लाग्यो । अनि, दिया मास्केको ‘साँघुरो’ पनि राम्रो लाग्यो । अरु मलाई मनपर्ने फिल्ममा ‘कालोपोथी’, ‘सुनगाभा’ र ‘कागवेनी’ हुन् ।

तपाइँको रोजाइमा किन फरक विषयवस्तु मात्र ?

कलाकारिता मेरो प्यासन हो । तर, काम गर्दा फरक होस् भन्ने मेरो चाहना हो । खाशगरी म वास्तविकता कथा र चेतना जगाउने फिल्महरु गर्न रुचाउँछु । त्यसो त अरु कलाकार पनि त्यस्तै उद्देश्य होला । कसैको बाध्यता हुनसक्छ । बाँच्नका लागि पैसा चाहिन्छ । पैसाकै लागि अफर आएका सबै फिल्ममा काम गर्नुपर्ने बाध्यता धेरैलाई छ ।

तपाइँ नाम कि पैसाका लागि कलाकारिता गर्नुहुन्छ ?

म दुवैका लागि काम गर्छु । काम गरेपछि पारिश्रमिक लिनु आफ्नो महत्व बढाउनु पनि हो । राम्रो काम गरेपछि नाम पनि कमाइन्छ ।

आफूलाई कसरी चिनाउनुहुन्छ ?

रंगकर्मी वा मोडल भनौँ भने त्यो स्थानमा पुगेकी छैन । यहाँ धेरै राम्रा रंगकर्मी र मोडलहरु छन् । म त अझै सिक्दैमात्र छु । त्यसैले म सिकारु कलाकार हुँ ।

कलाकारिताबाहेक के गर्नुहुन्छ ?

शोसल वर्क गर्छु । कलेज पढ्दैखेरी साथीहरुसँग ‘युथ फाउण्डेशन नेपाल’ संस्था दर्ता गरेर सामाजिक कार्यतिर हात हालेकी हुँ । यो संस्थाले दुर्गम क्षेत्रका बालबालिकाका लागि काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्