नवलपुरका थारु समुदायले यसरी मनाउँदैछन् ‘जितिया पर्व’ « Drishti News – Nepalese News Portal
Logo

नवलपुरका थारु समुदायले यसरी मनाउँदैछन् ‘जितिया पर्व’


दृष्टि संवाददाता


नवलपुर । थारु महिलाको महान पर्वको रुपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर मनाउँदैछन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला व्रत बस्ने दिनका रुपमा चिनिने पर्व हो, जितिया । जितिया पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराईका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् ।

यस व्रत वा उपवासको क्रममा जितबाहन भगवानको कथा र जहिमा सुन्ने गरिन्छ । थारु महिलाको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र चिरायुको लागि प्रसिद्ध छ ।

आज थारु समुदायका महिला ‘झाम्टा’ नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । आज बिहानै उठेर नुहाइधुवाइ गरी बेलपत्र टिपेर पूजा तथा नाचगान गर्दै दिनभर महिला तथा युवती यो पर्व मनाउने गर्दछन् । जितिया आउनुअघि नै नवलपुरका थारु समुदायमा चहलपहल र रमझम सुरु हुने गर्दथ्यो । तर, यसवर्ष कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण यो पर्वको खासै रौनक र चहलपहल छैन ।

थारु समुदायको बाक्लो बसोबास रहेको जिल्लाको मध्यविन्दु, कावासोती, देवचुली नगरपालिकामा जितियाको विशेष उल्लास हुने गर्दथ्यो । यो वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण थारु समुदायका महिला खुला तरिकाले झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउन सकिरहेका छैनन् । महिला तथा युवती आ–आफ्नो घरमा सुरक्षित रहेर घरपरिवारमा सीमित जितिया मनाइरहेका छन् ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । मङ्गलबार सप्तमीको दिन भएकाले महिला बिहानै खोला, तालतलैया, नदी, पोखरीमा गएर स्नान गरेपछि मात्रै ‘दर’ खाएका थिए । आज बुधबार अष्टमीको दिनमा महिला बिहानै नुहाइघुवाइ गरी सफा र शुद्ध कपडा लगाएर बिहानैदेखि पानी पनि नखाइ निराहर ‘उपवास’ व्रत बसेर झम्टा नाच नाचेर मनाउँछन् ।

महिला नयाँ सांस्कृतिक वेषभूषा लगाइ दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख व्रतालु फेरि खोलामा गई नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै व्रतालु महिला जम्मा भएर कथा सुन्ने प्रचलन छ । रुखको चारैतिर व्रतालु महिला फलफूल, पानी, दूध, दही, जथै भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउछ ।

कथा सकिएपछि सबै जना घर गएर ‘फलाहार’ (व्रत बसेको दिनमा बेलुकी पख कथा सुनिसकेपछि (दही, केरा, चिउरा, फलफूल) खाइने खानेकुरा) गर्छन् । भोलिपल्ट अर्थात् नवमीको दिन बिहानै सबै व्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् ।

खोलाबाट घर आइसकेपछि व्रतालुले दही, चिउरा, केरालगायतका खानेकुरा खान्छन् । तर, खानुभन्दा अगाडि आगोको गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानेकुराको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । सन्तानको दीर्घजीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रेहेको मध्यविन्दु नगरपालिका–३ का वडाध्यक्ष अमरबहादुर महतोले बताउनुभयो । यो पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने उनको भनाइ छ ।

विशेषगरी विवाहित थारू चेलीबेटीले निराहार व्रत बसेर सूर्यलाई जितबाहनबाबाको नामले पूजा अर्चना गर्ने प्रचलन रहेको वडाध्यक्ष महतोको भनाइ छ । विवाह गरेर गएका चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ । विवाहित र अविवाहित दुवै चेलीले यो पर्वमा व्रत लिन सक्ने महतोले बताए । विवाहितले श्रीमान् र आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै निरहार व्रत बस्छन् भने अविवाहित चेलीले जितबाहन जस्तै सुयोग्य पति प्राप्तिका लागि निरहार ब्रत बस्ने चलन छ ।

चौबीस घन्टे लामो व्रतपछि मात्र चेलीहरू पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशिर्वाद दिने विश्वास छ । यस पर्वलाई थारू विवाहित चेलीबेटीलाई माइतमा ल्याई सुख–दुःखका कुरा साट्ने अवसरका रूपमा पनि लिने गरिएको कावासोती नगरपालिका उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारुले बताए ।

वर्षौँसम्म आफन्तसँग भेटघाट गर्ने सङ्गमका रूपमा पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउने गरेको नगरउपप्रमुख थारुको भनाइ छ । जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन नभए पनि थारू समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको थारुले बताए ।

आफ्नो संस्कृति झल्काउने पोशाकमा सजिएर थारु महिलाले यो पर्व मनाउने गरेका छन् । यसरी सामाजिक सद्भाव वृद्धि गर्ने पर्वको रुपमा चिनिने जितिया पर्व नेपाल र नेपालीको पहिचान बोकेको पर्व भएको नगर उपप्रमुख मर्दनिया थारुले बताए ।
मध्यविन्दुमा जितिया पर्वको बिदा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले जितिया पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद पाण्डेले मङ्गलबार सूचना जारी गर्दै आज जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।

पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मध्यविन्दु नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थानमा जितिया पर्वको अवसरमा आज सार्वजनिक बिदा दिने नगर कार्यपालिकाबाट निर्णय भएको हुँदा सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’ जिल्लाको मध्यविन्दु नगरपालिका थारु बाहुल्यता भएको स्थानीय तह भएकाले जितिया पर्वको अवसर पारेर आज बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

तराईको आदिवासीको रुपमा रहेको थारु समुदायले आज धुमधामसँग जितिया पर्व मनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्