केहि दिनमा सत्ताच्युत हुँदै गरेका भीम आचार्यको रामकहानी « Drishti News – Nepalese News Portal
Logo
टिप्पणी

केहि दिनमा सत्ताच्युत हुँदै गरेका भीम आचार्यको रामकहानी


दृष्टि संवाददाता


काठमाडौं । कुकुरको स्वभाव नै हड्डी पाएपछि लुछाचुडी गर्ने हुन्छ, हड्डीमा मासु छ कि छैन भनेर हेर्ने फुर्सदसमेत हुँदैन । हड्डी पाएपछि चुसिहाल्ने दायाँबायाँ नहेर्ने कुकुरको स्वभावसँग नेकपा (एमाले) का सचिव भीम आचार्यको स्वभाव ठ्याक्कै मिल्छ भनिन्छ । उनले केपी शर्मा ओलीले फ्याँकेको ‘मुख्यमन्त्री’को हड्डीलाई यसरी चुसिरहेका छन् कि, चुसेर निस्किनुपर्ने स्वाद सकिएको थाहा पाएर पनि हड्डी भने मुखमै च्यापेर राखेका छन् भनेर स्वयं एमालेजनहरु भन्दैछन् ।

भीम आचार्यले मुख्यमन्त्रीको हड्डी चपाई रहेको प्रदेश १ मा यही असोज २२ गते शुक्रबार प्रदेशसभाको बैठक बस्दैछ । उक्त बैठकअघि उनले विश्वासको मतका लागि प्रस्ताव राखेनन् भने नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दैछन् ।

भदौ ९ गते सत्तारुढ नेकपा (एमाले) विभाजित भई प्रदेश निर्वाचन कार्यालयमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएको थियो । प्रदेशसभामा एमालेबाट निर्वाचित १० सांसदले एकीकृत समाजवादीमा भदौ २५ गते सनाखत गराएका छन् । उक्त मितिबाट गणना गर्दा भीम आचार्यले ३० दिनभित्र, अर्थात् असोज २३ गतेभित्र विश्वासको मत लिनुपर्छ । तर, संसद छल्दै उनी मुख्यमन्त्री पदासिन छन् । संविधानको धारा १८८ (२) बमोजिम उनले ३० दिनभित्र विश्वासको मत नलिएका कारण कानुनतः मुख्यमन्त्री पदको वैधानिकतामा प्रश्न उठिसकेको छ । तर, त्यही नामको ‘हड्डी’ चुस्न भने छाडेका छैनन् ।

प्रदेश नं. १ को ९२ सदस्यीय प्रदेशसभामा एमाले ४१, कांग्रेस २१, माओवादी केन्द्र १५, एकिकृत समाजवादी १०, जनता समाजवादी ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको एक–एक सांसद छन् । भीम आचार्यविरुद्धको मोर्चाबन्दीमा एमालेका ४१ बाहेक सबै (जम्मा ५१) एक ठाउँमा छन् ।

पुस ५ को संसद विघटनपछि तत्कालीन नेकपाको प्रचण्ड–माधव समूहमा सक्रिय भएका भीम आचार्य माधव नेपाललाई अन्तिममा साथ छोड्ने १० भाइमध्ये एक हुन् । उनले मुख्यमन्त्री बन्ने लोभमा माधव नेपालको साथ छाडेका थिए ।

आफ्नो पद, पूर्वाग्रह र कुण्ठाका कारण राजनीतिमा घिसिपिटी गर्दै अगाडि बढेका भीम आचार्यको विगतदेखि वर्तमानसम्म लोभ र पापले भरिएको छ । त्यस्तो लोभ र पाप देखाउन अहिले पनि पछि परेका छैनन् । उनले केपी ओलीको कृपाले एक महिने मुख्यमन्त्री त पाए । तर, मुख्यमन्त्री बन्नेबित्तिकै केपीलाई नै धोका दिएका छन् ।

संखुवासभाका प्रदेश सांसद तुलसी न्यौपानेलाई मन्त्री बनाउन बालकोटको आदेश थियो । तर, उनले न्यौपाने बनाएनन् । फलस्वरुप उनलाई केपी पक्षकै एमाले सांसदहरुले विश्वासको मत बदर गराएर मुख्यमन्त्रीबाट गलहत्याउने भएका छन् ।

तुलसी न्यौपानेलाई भीम आचार्यले मन्त्री नबनाउनुको कारणको खोजी गर्दा भीम आचार्यले माधव नेपाललाई अन्तिममा धोका दिएकै प्रसंगसँग मिल्दोजुल्दो छ । तुलसी न्यौपाने सुरुदेखि नै माधव नेपाल समूहमा थिए ।

प्रदेश १ मा माधव समूहको नेतृत्व भीम आचार्यले नै गर्थे । त्यसैले तुलसी न्यौपाने भीम आचार्यका खास मान्छे मानिन्थे । तर, उनले गत वर्षको असारतिरै भीम आचार्यको साथ छाडे । आफूलाई सुरुमै धोका दिएको कारण भीम आचार्यले तुलसी न्यौपानेलाई अहिले मन्त्री बनाएनन् ।

रमाइलो कुरा त के छ भने, जसरी आफूलाई धोका दिएका कारण भीम आचार्यले तुलसी न्यौपानेलाई मन्त्री बनाएनन्, त्यसरी नै माधव नेपाललाई धोका दिएका कारण अब भीम आचार्य एक महिने मुख्यमन्त्रीबाट मुक्त हुने भएका छन् । त्यहाँ नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राई मुख्यमन्त्रीमा प्रस्तावित छन् ।

सुनसरी सदरमुकाम इनरुवास्थित मधेसका बासिन्दा भीम आचार्यलाई त्यहाँका छरछिमेकले ‘पापी’को संज्ञा दिएका छन् । किनभने, जुन दिन उनी मुख्यमन्त्री बन्दै थिए, त्यही दिन उनका भाइ राम आचार्यको निधन भयो । सहोदर भाइको चिता जलिसकेको थिएन । तर, उनलाई मुख्यमन्त्री पद खाने हतारो चल्यो । जातले उनी उपाध्याय बाहुन हुन् । सामाजिक, धार्मिक प्रचलनअनुसार, एकाघरको सदस्यको निधन भएको कम्तीमा १३ दिनसम्म कुनै पनि शुभकार्य गर्नुहुँदैन । तर, भाइको शव जलिरहँदा भीम आचार्यचाहिँ मुख्यमन्त्रीको शपथ लिँदै माला, खादा र अविर लगाएर खुशीयाली मनाइरहेका थिए । एकजना गाउँले भन्छन्, ‘पितृको पापले यसलाई सराप्छ ।’

भीम आचार्यको लोभ र पापको श्रृंखला
धनकुटाको ताङ्खुवामा जन्मिएर सुनसरी बसाइँ सरेका उनी ०४७ सालअघि सुनसरीमा परिचित थिएनन् । किनभने, धनकुटाबाट सुनसरी बसाइँ सरेलगत्तै उनी उच्च शिक्षाका लागि काठमाडौं गए । त्यहाँ पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसमा भर्ना भएर अखिलको राजनीति गरे । एक कार्यकाल अखिलको महासचिव भए । तर, महिला र पैसाका मामिलामा कमजोर भएका कारण उनले अखिल राजनीतिलाई धेरै अगाडि बढाउन सकेनन् । क्याम्पस पढ्दा ‘भ’ बाटै नाम शुरु हुने सुर्खेतकी एकजना महिलासँग उनको प्रेम सम्बन्धका कारण उनी पार्टीमा निकै आलोचित भए ।
०४६ को जनआन्दोलनअघि नै जेलबाट छुटेका उनले जनआन्दोलनका क्रममा उपत्यका परिचालन कमिटीमा बसेर काम गरे । तर, जनआन्दोलनपछि उनलाई काठमाडौं बस्न दिइएन ।

अखिलमा काम गर्ने क्रममा पार्टीका तत्कालिन महासचिव झलनाथ खनालसँग राम्रो सम्बन्ध बनाएका थिए । पहिला पनि महिलाका कारण संगठनमा बद्नाम भएको र फेरि पनि त्यस्तो काम गर्ने खतराका कारण ०४७ सालमा झलनाथले नै आफ्नी भतिजी निरा खनालसँग विवाह गराइदिए । र, पार्टीको काम गर्न सुनसरी पठाएका थिए । सुनसरीमा उनीभन्दा पुराना र त्यागी नेताको कमी थिएन । तर, केन्द्रले पठाएको नेता भनेर उनलाई लामो समय पार्टी काम गर्न समस्या भयो ।

आर्थिक मामिलामा भीम आचार्य सबभन्दा बढी बदनाम व्यक्ति हुन् । ०७० को निर्वाचनमा जितेपछि उनी सुशील कोइराला सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । झलनाथ खनालको कोटामा मन्त्री बनेका उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ठेकेदारहरुसँग ठूलै रकम माग गरेको कुरा झलनाथले थाहा पाएपछि उनी मन्त्रीबाट बर्खास्त हुन पुगे ।

आर्थिक मामिलामा उनी बद्नाम भएको अर्को चर्चित प्रसंग छ, मोरङको मिक्लाजुङ (साविकको मधुमल्ला) गाउँपालिकामा टिकट विक्रिको । पार्टीको प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहँदा भीम आचार्यले रुपनारायण श्रेष्ठ र विनोद ढकाललाई परिचालन गरी स्थानीय एमाले नेता भेषराज काफ्लेसँग पैसा मागेका थिए । भेषराजले आफूसँग रकम मागेको र रकम दिन नसक्दा अरुबाटै रकम लिएर टिकट बिक्री भएको भन्दै पार्टीमा उजुरी गरे । उनीसँग भीम आचार्यले शुरुमा २१ लाख मागेका थिए । उनले रकम नदिएपछि अर्का आकांक्षीसँग २५ लाख मागे । तिनले पनि रकम नदिएपछि १५ लाख रुपैयाँमा टिकट दिन खोजियो । तेस्रो व्यक्तिले पनि रकम नदिएपछि हालका अध्यक्ष देवीप्रसाद आचार्यलाई टिकट दिइएको थियो । यस्तो अन्यायमा परेपछि भेषराजले पार्टी नै परित्याग गरे ।

त्यही चुनावमा मोरङको सुन्दर हरैँचा नगरपालिकाको मेयरको टिकटका लागि पार्टी जिल्ला कमिटी सदस्य कमला मास्केसँग भीम आचार्य र विनोद ढकालले पैसा मागेका थिए । उनले पैसा नदिएपछि केदार गुरागाइँलाई चुनावमा उठाइयो । फलस्वरुप कमला कांग्रेसमा प्रवेश गरिन्, केदारले चुनाव हारे ।

भीम आचार्यले अहिले मुख्यमन्त्री खानका लागि ओलीले फ्याँकेको हड्डीमा लोभ त गरे, तर उनका लागि सुनसरीमै एमाले भएर टिक्ने अवस्था भने छैन । किनभने, उनले ०७४ को संसदीय निर्वाचनमा आफ्ना विरोधीलाई छानी–छानी सिध्याएका थिए । ती व्यक्तिहरु अहिले एमालेको केपी समूहका खास मान्छे छन् । तर, भीम आचार्यलाई उक्त समूहको पाहुना भन्ने गरिन्छ । उनले सुनसरीको क्षेत्र नं. २ बाट टिकट पाउने निश्चित भएका रेवती भण्डारीको टिकट खोसे । उनलाई उम्मेदवार नबनाउनका लागि त्यो क्षेत्र माओवादीलाई छाडियो । तर, माओवादीले उक्त क्षेत्रमा उम्मेदवार माग गरेकै थिएन । रेवतीलाई रोक्नका लागि जबरजस्ती क्षेत्र नै माओवादीलाई दिएर उनले रेवतीको राजनीति सिध्याउने प्रयास गरे ।

अहिले रेवती पार्टीको जिल्ला अध्यक्ष छन् । जबकी, ०७५ जेठ २ को जिल्ला अध्यक्ष रमेश वस्नेत माधव समूहबाट भीम आचार्यको साथ लागेर एमालेमा रहेका छन् । तर, उनको अध्यक्ष पद कायम भएन । रेवतीले भीम आचार्यका मान्छेलाई केही पनि नछोड्ने बताउँदै आएका छन् । भीम आचार्यसँगै एमालेमा रहेका केन्द्रीय सदस्य तथा जेठ २ को स्थितिका जिल्ला इञ्चार्ज धर्म निरौला पनि पीडित छन् । किनभने, केपी पक्षले गत चैतमा भगवती चौधरीलाई जिल्ला इञ्चार्ज बनाइसकेको छ । तर, माधव समूहको साथ छाडे पनि धर्म निरौलाको जिल्ला इञ्चार्ज फिर्ता भएन ।

भीम आचार्यले प्रदेश सरकारका निवर्तमान मन्त्री जगदिस कुसियतलाई सिध्याउनका लागि यस्तै अत्याचार गरे । तर, अहिले जगदिस ओलीका खास मान्छे छन् । अब जगदिस र रेवती मिलेर भीम आचार्यलाई सिध्याउने तागत बोकेर बसेका छन् ।

०७४ को निर्वाचनमा जगदिसको टिकट निश्चित भएको क्षेत्र नं. ४ मा राप्रपा पृष्ठभूमिका रमेश श्रेष्ठलाई टिकट दिइयो । त्यहाँबाट नेपाली कांग्रेसका नेता तथा हालका कानुनमन्त्री ज्ञानेन्द्र कार्की चुनाव उठ्ने भएपछि कार्कीसँगको साँठगाँठमा भीम आचार्यले कमजोर उम्मेदवार उठाए । आफ्नो मुख्यमन्त्री सुरक्षित गर्नका लागि उनले जगदिसले पाइसकेको टिकट खोसेर प्रदेशसभामा पठाए । तर, आफू मुख्यमन्त्री हुन सकेनन् । अन्ततः शेरधन मुख्यमन्त्री बनाइए । उनले सिध्याउन खोजेका जगदिशले प्रदेशको मन्त्री पाए ।

अहिले एक महिने मुख्यमन्त्रीका खानका लागि एमाले बने पनि भीम आचार्य र दश भाइलाई छिटोभन्दा छिटो एमालेबाट धपाउने मोर्चाबन्दी बालकोटमा बनिसकेको छ । भीम आचार्यलाई लखेट्न रेवती भण्डारी, जगदिस कुसियत, खेम पोखरेलहरु सक्रिय भएर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्