Logo
Logo

भड्किलो नबनाउँ चाडपर्व



‘दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत् पापी छुट्टै बसौँला ।’

दशैं सुरु भएपछि सानोमा यसो भन्दै हातका औँला भाँचीभाँची गन्न थाल्थ्यौँ । सहरमा जन्मेहुर्कोले सादय औँला भाचेनन् होलान्, गनेन् होलान् । तर, गाउँघरमा जन्मेहुर्केका सबैले ‘दशैं अयो…’ भन्दै उमंगसहित हातका औंला भच्दै गन्ती गर्ने गर्छन् ।

यसपाली दशैंले छपक्कै छोपिसकेको छ । गाउँघरमा दशैंको रौनक छाइसक्यो । पोका पुन्तुरा बोकेर देश–विदेशबाट परदेशीहरू धमाधम गाउँ फर्किँदै छन् । दशैं छेक पारेर निर्मल पवनको सुगन्ध लिन गाउँघर पुगेका छन्, पुग्दैछन् । यता, सहर सुनसान हुँदै गएको छ ।

गाउँको रौनक नबढी, सहर सुनसान नभएसम्म दशैं आएजस्तै नलाग्ने । कोरोना महामारी नियन्त्रणको लागि सरकारले लकडाउन र निषेधाज्ञा गर्दा पनि दशैं आएजस्तै लागेका थियो । तर, त्यो दशैं थिएन ‘दशा’ थियो ।

सहर सुनसान हुन थालेपछि बच्चा बेलाको ‘दशैं आयो…’ मानसपटलमा ताजा बनिदिएको छ । सायद, यतिबेला गाउँका भाइबाहिनीहरूले हातका औँला भाँच्दै भन्दै होलान्– ‘दशैं आयो, खाउँला पिउँला…।’

अहिले बच्चा बेलाको ‘दशैं आयो…’ को सम्झना आएको छ । पहिले त्यसले दशैं मात्रै आउथ्यो । तर, अहिले त्यसले नेपाली समाजको वर्ग छुट्याएर आएको छ ।

कान्छी औँला– दशैं आयो । दशैं प्रायः सबैको फरक–फरक आउँछ । कसैको दशैं उमंगको आउँला, कसैको पीडाको, कसैको सयस्याको अनि कसैको भयको । कसको दशैं कस्तो भन्नेचाहिँ वर्गले नै छुट्याउँछ ।

दशैं आएको सूचना पाउनासाथ साइँली औंलाले खानपिनको कुरा गरिहाल्छ । पक्कै पनि साइँली औंला गाँठिस्ट हुनुपर्छ । दशैं मान्न ऊसँग कुनै कुराको अभाव छैन । दशैं उसका लागि नयाँ लुगा लगाएर मासु, मदिरा र तास–जुवामा रम्ने अवसर हो ।

साइँली औँलाको लागि दशैं अरुलाई देखाउने पर्व हो । नयाँ कपडा, गरगहना, मोटरसाइकल, गाडी किन्ने पर्व हो । साइँली औँलाहरूले गर्दा यो वर्षको दशैंमा नयाँ गाडीको सटेज नै भयो । व्यापारीले उपभोक्ताको माग धान्नै सकेनन् ।

साइँली औँलाहरूले गर्दा दशैं देखासिकीको पर्व बन्दै गएको छ । खर्च गर्ने पर्वको रुपमा परिभाषित हुँदैछ । अरूलाई देखाउनकै लागि भएपनि सबैले तामझामका साथ मनाउन थालेका छन् । छिमेकीको दशैं खसी आफ्नो खसी कुनै हालतमा सानो हुनुहुँदैन ।

समाजमा अर्काथरी माझी औंला जस्ता छन् । उनीहरूलाई बिहान बेलुका छाक टार्नै धौधौ छ । बिहान खाएर साँझ के खाउँ भन्ने अवस्था भएकाहरूको भावना माझी औंलाले बोलिरहेको छ । त्यसैले त माझी औंला अरुभन्दा अग्लो छ । यसले गरीबहरूको संख्याको ग्राफ अग्लो भएको देखाइरहेको छ ।

छिमेकीले ४० किलोको खसी ढाल्यो भने हामीलाई ५० किलोको चाहिन्छ । तर, उसले यति धेरै खर्च गर्ने हैसियत कसरी बनायो भनेर सोच्दैनौं । खोजीनीति गर्दैनौं । उल्टै त्योभन्दा म के कम भन्छौँ । जसले गर्दा पनि अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको छ ।

माझी औँलाहरूको प्रत्येक दशैं ‘दशा’मा परिणत हुँदैछ । साइँली औँलाको तामझामे दशैंको हावाले माझी औँलालाई नछुने कुरै भएन । दशैं मान्नको लागि माझी औँलाहरू ऋण लिँदैछन् । दशैं मानेपछि ऋण तिर्न विदेशिनु पर्ने बाध्यता छ । कयौँ माझी औँलाहरू खाडीमा आफ्नो उमेर र पसिना बेचेर ऋण तिरिरहेका छन् ।

दशैं–तिहार जस्ता पर्वमा हुने गरेका प्रतिस्पर्धा र देखासिकीले समाज विकृति र विसंगतितर्फ धकेलिँदैछ । पर्व सांस्कृतिक परम्परा र रीतिरिवाजभन्दा तडकभडकमै बढी केन्द्रित हुन थालेको छ । आफूलाई पढे–लेखेका भन्ने युवाहरू पनि साइँली औंलाजस्तै बन्दै गएका छन् । वर्षदिनमा गाउँ फर्किँदा आफूलाई वरिष्ठ ठान्छन्, लुवाइखुवाईमा अरुभन्दा कमी हुनु हुँदैन । कमी भयो भने नभएको इज्जत घट्ने सोच्छन् ।

यस्ता सोचले समाजमा चोरी औँलाहरू बढ्दै गएका छन् । चोरी औंलाको संगठन सहरदेखि गाउँगाउँसम्म फैलिसकेको छ । यसले अनावश्यक प्रतिस्पर्धामा आफूलाई मात्र होइन, अरुलाई पनि ‘चोरी ल्याउँला’ भनेर चोर्न उत्प्रेरित गर्छ ।

चाडपर्वको मौका छोपी महँगी, कालाबजारी, कृत्रिम अभाव, गुणस्तरहीन र मिसावटयुक्त खाद्य सामग्रीको बिक्री वितरण गर्ने पनि चोरी औंला नै हुन् । दशैं–तिहार जस्ता चाडपर्वको बेला चोरी औँलाले धेरै सर्वसाधारण जनतालाई ठग्छ ।

साइँली औँलाको सिको गर्नाले चाडपर्व खर्चिलो र महँगो बन्दै गएको छ । जसले गर्दा सामाजिक वितृष्णा समेत बढ्दै गएको छ  । चोरी औँलाले साइँली औंलाका देखासिकी गरेकै कारण अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको छ ।

साइँली औँलाको जस्तो सबैको जथाभावी र असीमित खर्च गर्न हैसियत जो कसैको हुँदैन । सामान्य व्यापार व्यवसाय र जागिरले मात्रै पुग्दैन । मनलाग्दो खर्च असम्भव हुन्छ । त्यसैले चोरी औँलाले अनैतिक र अनियमित तवरले खर्च जुटाउछ । जसरी भएपनि चोरी औँलाले साइँली औँलाको बराबरी हैसियत बनाउँछ ।

छिमेकीले ४० किलोको खसी ढाल्यो भने हामीलाई ५० किलोको खसी चाहिन्छ । तर, उसले यति धेरै खर्च गर्ने हैसियत कसरी बनायो भनेर कहिल्यै सोच्दैनौँ । खोजीनीति कहिल्यै गर्दैनौँ । त्यतातिर हाम्रो ध्यान पनि जाँदैन । जसले गर्दा रीतिरिवाज र सांस्कृतिक परम्पराको महत्व घट्दै गएको छ ।

यो समाजमा बुढी औंलाजस्ता मान्छे पनि छन् । इमानदारिता मरिसकेको छैन । असल मानिसहरू हराइसकेका छैनन् । यी देखासिकी र तामझाम भन्दा अलिक पर छन् । समाजका भ्रष्टहरूको दुनियाँबाट अलग छन् ।

टाढै बसेर साइँली, माझी र चोरी औँलाका तमासा नियालिरहेका छन् । तर, बुढी औँलालाई सधैँ एउटा आरोप लाग्ने गर्छ– बुढी औँला मुकदर्शक बन्यो । विंकृति र विसंगतिको प्रतिरोध गर्न सकेन ।

अब, समाजलाई त गलत बाटोमा हिँड्नबाट रोक्न बुढी औँलाले कदम चाल्नुपर्छ । खबरदारी गर्नुपर्छ । चाडपर्व कम खर्चिला, विकृति–विसंगतियुक्त, सद्भाव र एकता रुपमा मनाउन बुढी औँलाले पहल थाल्नुपर्छ । सबै औँलाहरूलाई सचेत गराउनुपर्छ ।

साइँली, माझी र चोरी औँलाले पनि कुकृत्य र विकृतिका पाटालाई त्याग्नुपर्छ । बुढी औंलाको बाटोमा लाग्नुपर्छ । सबै मिलेर चाडपर्वलाई सुसंस्कृत सभ्यताको पहिचान गर्नुपर्छ । भव्य, सभ्य र रोमाञ्चक बनाउनुपर्छ । अब सबै बुढी औँलाजस्तो बन्ने प्रयास गरौँ । सबै नेपालीको उमंगमय बनोस् दशैं, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्