Logo
Logo

एमाले-माओवादीलाई महाधिवेशनको चटारो



काठमाडौं । सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन् । दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । दसैं सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन् ।

एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । यसका लागि सबै जिल्ला कमिटीका बैठक बस्ने भएका छन् ।

कात्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका बैठक बसेर ६ गते हुने वडा अधिवेशनमा जिल्लाबाट प्रतिनिधि खटाउन लागिएको छ । मंसिरमा हुने महाधिवेशनअगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गर्दैछ ।

कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहमा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशन तथा नेतृत्व चयन विधिबारे केन्द्रबाट मापदण्ड पठाइने तामाङले बताए । ‘वडा र स्थानीय तहको अधिवेशनका लागि केही मापदण्ड केन्द्रबाट जान्छ, बाँकी जिल्ला कमिटीले विधानअनुसार निर्णय गर्छ’, उनले भने । तामाङका अनुसार एमालेले गाउँ र नगरपछि जिल्ला अधिवेशन पनि गर्नेछ ।

एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सय वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरेको छ । एमालेको विधानअनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकाय हो । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छ ।

वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्य अधिवेशनबाट निर्वाचित हुने तामाङले बताए । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । वडा कमिटीको अधिवेशनबाट विधान अधिवेशनबाट पारित विधान कार्यान्वयमा आउने भएको छ ।

एमालेको महाधिवेशन मंसिरमा बुटवलमा हुने बताइएको छ । बुटवलबाट एमालेले पाँच वर्षका लागि चयन गर्नेछ । महाधिवेशनले नयाँ विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित २२५ केन्द्रीय सदस्य चयन गर्नेछ ।

उता मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारीअनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म तोकिएको छ । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । मंसिर ४ गतेसम्म वडा सम्मेलन गरिसक्नुपर्नेछ ।

गाउँपालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म, प्रदेश सम्मेलन मंसिर २५ सम्म सक्न मातहत कमिटीलाई सर्कुलर गरिएको छ । माओवादी केन्द्रले पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारीका क्रममा माओवादी केन्द्रले देशव्यापी रुपमा संगठन चलायमान बनाउन थालेको हो ।

यो समाचार आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्