Logo
Logo

कर्णाली प्रदेशस्तरीय वाङ्मय संगोष्ठी : यस्तो छ १३ बुँदे साहित्यिक घोषणापत्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० वैशाख । यही २७ र २८ गते सुर्खेतमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सुर्खेती कल्याण समाजसँगको सहकार्यमा कर्णाली प्रदेश स्तरीय वाङ्मय संगोष्ठी आयोजना गरिएको छ ।
संगोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले प्रदेशका भाषा, साहित्य, संस्कृति र कलाको विकासलाई प्राथमिकतामा राखेको बताए । आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाले नेपाली भाषाको मूल थलोका रूपमा रहेको कर्णाली प्रदेश नेपालको अद्वितीय विशेषताले युक्त भएकाले यसलाई पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन बनाउन सकिने धारणा व्यक्त गरे ।
सामाजिक विकास मन्त्री दल रावलले प्राचीन सभ्यता र संस्कृतिको खोजी गर्नेलाई कर्णाली प्रदेशमा पाइला राख्न अनुरोध गरे । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले कर्णाली प्रदेशको सांस्कृतिक उत्थानका निम्ति विशेष योजना ल्याउने वचनबद्धता प्रकट गरेका थिए ।
प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा.हेमनाथ पौडेल, निबन्ध र समालोचना विभाग प्रमुख प्रा.डा. गोपिन्द्र पौडेल, बालसाहित्य र लोकवार्ता विभाग प्रमुख डा. देवी नेपाल, वीरेन्द्र नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल, भाषा आयोगकी सदस्य उषा हमाल, कर्णाली वाङ्मय संगोष्ठीकी अध्यक्ष सीता यरीलगायतले गोष्ठीमा मन्तव्य राखेका थिए ।
सुर्खेती कल्याण समाजका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले कर्णाली प्रदेशको भाषा, साहित्य तथा संस्कृतिको समृद्धिका निमित्त संगोष्ठी आयोजना गरिएको बताए ।
संगोष्ठीमा प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.गिरी, प्रा.जगत्प्रसाद उपाध्याय, विष्णुप्रसाद पराजुली र डा.दीपक गौतमले कर्णाली प्रदेशका साहित्य, धर्म–दर्शन र लोकवार्ताबारे गोष्ठीपत्रहरु प्रस्तुत गर्नुभएको थियो । गोष्ठीपत्रमाथि प्रा.डा. मोतीलाल पराजुली, प्रा.डा.कपिलदेव लामिछाने, प्राज्ञ हरिप्रसाद तिमिल्सिना, प्रा.खोपीराम लम्साल, र डा.मधुसूदन गिरीले टिप्पणी गर्नुभएको थियो । संगोष्ठीले तेह्र बुँदे कर्णाली प्रदेश घोषणापत्र पनि जारी गरेको छ ।

कर्णाली प्रदेश साहित्यिक घोषणापत्र २०७६

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सुर्खेती कल्याण समाजसँगको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा २०७६ वैशाख २७ र २८ गते आयोजित ‘कर्णाली प्रदेश स्तरीय वाङ्मय संगोष्ठी’बाट पारित कर्णाली प्रदेश साहित्यिक घोषणापत्र निम्न अनुसार रहेको छ :

.नेपाली भाषाको उद्गमस्थल तथा साहित्य, कला, पुरातत्त्व र संस्कृतिको भण्डारका रूपमा कर्णाली प्रदेश सुपरिचित छ तर तिनको अध्ययन(अनुसन्धान, संरक्षण, प्रवर्धन र विकासको काम पछि परेको छ । नेपालको वर्तमान संविधानले तिनको विकास गर्ने जिम्मेवारी प्रदेश सरकारलाई पनि प्रदान गरेको छ । अतः प्रदेश सरकारले यथाशीघ्र कार्यदलबाट अध्ययन गराई संघीय सरकार र नेपाल प्रज्ञा(प्रतिष्ठानसँगको समन्वयमा कर्णाली प्रज्ञा(प्रतिष्ठान स्थापना गर्नु पर्दछ भन्ने यस संगोष्ठीको ठहर छ ।

२.कर्णाली प्रदेशमा रहेका कतिपय भाषिक र लोकसाहित्यिक सम्पदा न्मुख लोपोन्मुख अवस्थामा छन् । तिनको शोधखोज गरी प्रकाशनमा ल्याउन अत्यावश्यक छ । संघोष्ठी यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

३. कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको पादुका, धूलेश्वर, शिरस्थान, नाभिस्थान र तल्लो डुंगेश्वर सहितको पञ्चकोसी क्षेत्र र त्यहाँ रहेका देवल, ढुंगेधारा, अभिलेख एवम् माथिल्लो कर्णाली क्षेत्रमा रहेका बोन र बौद्ध धर्मसँग सम्बन्धित देवस्थल, चोर्तेन गुम्बा आदि सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि विकास समिति बनाई योजनाबद्ध कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

४.कर्णाली प्रदेशका सिँजा, काँक्रेविहार, पञ्चकोसी लगायतमा विद्यमान महत्त्वपूर्ण सांस्कृतिक सम्पदालाई युनेस्कोको सूचीमा सूचीकृत गर्न राष्ट्रिय स्तरबाट तथा सम्बन्धित प्रदेश सरकार र स्थानीय सरकारबाट विशेष पहल गरिनु पर्दछ ।

५. रारा, से–फोक्सुन्डो, बुलबुले, स्यार्पु र कुभिन्डे लगायतका तालहरुको महत्त्वपूर्ण पहिचान झल्किने गरी समुचित व्यवस्थापन गर्न संगोष्ठी अपिल गर्दछ ।

६.कर्णाली प्रदेशमा राष्ट्रिय महत्त्वका योजनाहरु लागु गरी यहाँको सांस्कृतिक क्षेत्रबाट राष्ट्रको समृद्धिमा ठोस योगदान पुग्ने वातावरण निर्माण गरिनु पर्दछ ।
७. कर्णाली प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक सम्पदाहरूबारे राष्ट्रिय अन्तर्रा्िष्ट्रय जानकारी बढाउन विद्यालय र विश्वविद्यालयहरुका पाठ्यक्रममा तिनलाई समावेश गर्न विशेष पहल गरिनु पर्दछ ।

८.कर्णाली प्रदेशको सांस्कृतिक विकासका लागि यस क्षेत्रमा सक्रिय प्रतिभाहरुको पहिचान गरी राष्ट्रिय तथा प्रादेशिक स्तरमा सम्मानको विशेष व्यवस्था गरिनु पर्दछ ।

९. कर्णाली प्रदेशको ऐतिहासिक रेसममार्ग पहिल्याई बर्दियादेखि हिल्सासम्म सहज रूपमा आवतजात गर्न सकिने बाटो निर्माण गरिनु पर्दछ । यसबाट मानसरोवर पुग्ने धार्मिक सांस्कृतिक पर्यटकहरुबाट समेत विशेष रूपमा राष्ट्र लाभान्वित हुने छ ।

१०. कर्णाली प्रदेशमा पृथ्वीको सतहमुनि लुप्त रहेका प्राकृतिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका वस्तुहरुको उत्खनन, पहिचान, संरक्षण र सदुपयोग गरिनु पर्दछ ।

११.कर्णाली प्रदेशको विशेषतामा आधारित सङ्ग्रहालय स्थापना गरिनुका साथै यहाँका सयौँ वर्ष पुराना हस्तलिखित सामग्री लगायत ऐतिहासिक र पुरातात्त्विक मूल्यवान् वस्तुहरुको संरक्षणका लागि प्रादेशिक अभिलेखालय स्थापना र सञ्चालन गरिनु पर्दछ ।

१२. कर्णाली प्रदेशको पर्यटन विकास राष्ट्रिय स्तरमा प्राथमिकतामा पर्नु पर्दछ र प्रदेश र स्थानीय तहमा पनि योजनाबद्ध कार्यक्रम कार्यान्वयन गरिनु पर्दछ ।

१३.कर्णाली प्रदेश जडीबुटीका दृष्टिले विशेष चर्चित छ । अतः यस प्रदेशमा आयुर्वे्िदक दृष्टिले महत्त्वपूर्ण प्रतिष्ठान खडा गरी अध्ययन अनुसन्धान गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्